Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कहाँसम्म पुग्ला माधवको यात्रा ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीले न त सरकार छाडेर प्रतिपक्षमा झुण्डमा मिसिने हैसियत राख्छ नत सरकारलाई नै पूर्ण रुपमा समर्थन गर्न सकेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ता समीकरणलाई लिएर दोहोरो चरित्र देखाएका छन् । उनले केन्द्र र मधेश सरकारबारे आफूलाई यता न उताको अवस्थामा उभ्याएका हुन् । एमालेबाटै चोइटिएर तीन वर्षअघि बनेको एकीकृत समाजवादीको नेतृत्व गरिरहेका नेपाल सत्ता समीकरणमा रहेर प्रमुख प्रतिपक्षी गठबन्धनको बैठकमा पनि पुगिरहेका छन् । उनी एमालेको नेतृत्वमा हुँदा जुन नीतिले पार्टी सञ्चालन गर्थे, अहिले पनि त्यही ढुलमुले नीति एकीकृत समाजवादीमा पनि दोहोर्‍याइरहेका छन् । अर्थात् उनी केन्द्रमा एमाले–माओवादी गठबन्धनमा छन् भने गृह प्रदेशसमेत रहेको मधेशमा भने विपरीत ध्रुवमा । केन्द्रका सत्ता सहयात्री एमाले र माओवादी दुवै मधेश सरकारबाट बाहिरिएको एक महिना हुन लाग्दा माधव नेपालले भने आफ्नो दलका मन्त्रीलाई निरन्तरता दिइरहेका छन् । यही ढुलमुले प्रवृत्ति र अनिर्णय बन्दी बनेको अवस्थालाई लिएर पार्टी बैठकमै नेताहरूले उनीमाथि प्रश्न र आलोचना गरेका थिए । गत जेठ १४ गते बसेको एकीकृत समाजवादी सचिवालयको बैठकमा अध्यक्ष नेपालको भूमिकालाई लिएर उपाध्यक्ष प्रमेश हमालले कडा प्रश्न गरेका थिए । उनले पार्टीको पक्षमा माहोल बनिरहेका बेला माधव नेपालले जथाभावी बोलेर कुरो बिग्रिएको भन्दै आलोचना गरेका थिए । बैठकमा प्रश्न उठे जस्तै एकीकृत समाजवादी अहिले संघीय सत्ता समीकरण र विपक्षी मोर्चामा रहेका दुवै खेमाहरुको फरक–फरक डुंगामा एकसाथ सवार छ । केन्द्रमा उनी नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार र मधेस प्रदेशमा प्रतिपक्षमा रहेको जनता समाजवादी पार्टी जसपा नेपाल नेतृत्वको सरकारमा सहभागी छन् । उनले दुवै तहका सरकार छोड्न सकेका छैनन् । त्यहीकारण केन्द्रमा सत्ता गठबन्धनतिरका उनी प्रतिपक्षी दलहरुको बैठकमा पनि पुगिरहेका छन् । कांग्रेसले डाकेको प्रतिपक्षीको बैठकमा भाग लिन बूढानीलकण्ठ पुग्ने उनी सिंहदरबार छिरेर सत्तारुढ नेताहरुसँग पनि संवाद गरिरहन्छन् । केन्द्रमा सत्ता समीकरणमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट उनी जेठ १६ गते कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगे । त्यो पनि प्रतिपक्षी दलको बैठकमा भाग लिन । देउवाले प्रतिपक्षी दलहरूको बैठक राखेर नेपाललाई पनि निम्तो दिएका थिए । अध्यक्ष नेपाल प्रतिपक्षी दलको मोर्चामै मिसिएर बूढानीलकण्ठ बैठकमा सहभागी भए । प्रतिपक्षीसँग बाक्लो संवादमा रहेका अध्यक्ष नेपालले केन्द्र सरकारमा सांसदहरु भानुभक्त जोशी र धनबहादुर बुढालाई क्रमशः संघीय मामिला तथा सामान्य प्रशासन र सहरी विकास मन्त्रालय सम्हाल्न पठाएका छन् । संघीय सत्ता गठबन्धनमै रहेको जसपा नेपाल विभाजन भएर अर्को पार्टी बनेपछि अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएर प्रतिपक्षमा बसेका छन् । उनले मन्त्रीबाट राजीनामा दिएपछि नेकपा माओवादी केन्द्र र नेकपा एमालेले जसपा नेपालका सरोजकुमार यादव नेतृत्वको मधेश प्रदेश सरकारबाट समर्थन पनि फिर्ता लिइसकेका छन् । गत वैशाख ३० गते सरकार छोडेसँगै जसपा नेपालबाट मुख्यमन्त्री रहेका यादव नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । संघीय सत्ता समीकरणका मुख्य दुई दल एमाले र माओवादी मधेश प्रदेश सरकार छाडेर प्रतिपक्षमा बस्दा नेपाल नेतृत्वको एकीकृत समाजवादीले छोड्न चाहिरहेको छैन । उसले मधेशमा सरकार नछाडेर केन्द्रमा सत्ता र प्रतिपक्ष दुवैसँग बार्गेनिङ गरिरहेको छ । मधेशसमा एकीकृत समाजवादीबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुङ्गेली अझै पनि मन्त्रीको भूमिकामा छिन् ।