Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कहाँ–कहाँ पाइन्छ नयाँ नोट

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले काठमाडौँसँगै देशका विभिन्न स्थानबाट नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । दशैँमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै असोज १० देखि १७ गतेसम्म ५, १०, २०, ५० र १०० दरका नोट सटही गर्न लागिएको नेपाल राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभागले जनाएको छ । उपत्यकाभित्र विभिन्न बैङ्कसँग मिलेर नयाँ नोट सटहीको व्यवस्था मिलाएको बैङ्कले उपत्यकाबाहिर भने आफ्ना कार्यालयबाट मात्रै त्यस्तो सुविधा उपलब्ध गराएको छ ।
राष्ट्र बैङ्कले अघिल्ला वर्षहरूमा थापाथलीस्थित कार्यालयबाट रकम वितरण गर्ने गरेको थियो । तर यस पटक राष्ट्र बैङ्कले रकम वितरण गर्ने सूचीमा थापाथली कार्यालय छैन । थापाथलीस्थित कार्यालयको भवन पुनर्निर्माणको काम जारी रहेकाले यस वर्ष थापाथलीबाट नयाँ नोट नबाँड्ने राष्ट्र बैङ्कले जनाएको छ । उसले मुद्रा व्यवस्थापन विभाग, बालुवाटारबाट नयाँ नोट वितरणको चाँजोपाँजो मिलाइएको जनाएको छ ।

उपत्यकाभित्र राष्ट्र बैङ्कका अतिरिक्त नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क र कृषि विकास बैङ्क लिमिटेडका शाखाबाट पनि सेवाग्राहीले नयाँ नोट सटहीको सुविधा लिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कका अनुसार नेपाल बैङ्क लिमिटेडका उपत्यकास्थित सातवटा शाखाबाट नयाँ नोट वितरण गरिने व्यवस्था मिलाइएको छ । न्यूरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको हो । त्यस्तै, राष्ट्रिय वाणिज्य बैङ्कको सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानो थिमि, विशाल बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा कार्यालयले पनि असोज १० देखि १७ गतेसम्म सेवाग्राहीलाई नयाँ नोट उपलब्ध गराउने छन् । राष्ट्र बैङ्कका अनुसार कृषि विकास बैङ्कले काठमाडौँ उपत्यकाका छवटा शाखाबाट नयाँ नोट बाँड्दै छ । गौशाला, गट्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट रकम वितरण हुने भएकाले ती स्थानबाट नोट सटही गर्न राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभागले सुझाएको छ । राष्ट्र बैङ्कले यसका अतिरिक्त अन्य बैङ्क तथा वित्तीय संस्थालाई पनि नयाँ नोट उपलब्ध गराउँदै छ । राष्ट्र बैङ्कका अनुसार आफ्ना खाता भएका वित्तीय संस्थाबाट पनि सेवाग्राहीले नयाँ नोट साट्न सक्ने छन् ।

राष्ट्र बैङ्कले काठमाडौँ उपत्यकासँगै अन्य जिल्लामा पनि नयाँ नोट सटहीको व्यवस्था मिलाएको छ । यद्यपि उपत्यकाको तुलनामा बाहिर निकै कम स्थानबाट रकम सटही गर्ने सुविधा छ । राष्ट्र बैङ्कका अनुसार उसका विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयबाट उपत्यकामा जस्तै असोज १० देखि १७ गतेसम्म नयाँ नोट वितरण हुनेछ । उपत्यकाभित्र अन्य बैङ्कमार्फत् नयाँ नोट सटहीको व्यवस्था मिलाएको राष्ट्र बैङ्कले उपत्यकाबाहिर भने अन्य बैङ्कबाट नयाँ नोट सटही गर्ने व्यवस्था मिलाएको छैन ।

अघिल्ला वर्षहरूमा राष्ट्र बैङ्कले सहकारी संस्थालाई पनि नयाँ नोट उपलब्ध गराउँथ्यो । कार्यालयको चिठी लगेर सहकारी संस्थाहरूले नयाँ नोट साट्थे र आफ्ना सेवाग्राहीलाई उपलब्ध गराउँथे । तर यस पटक सहकारी संस्थाहरूलाई राष्ट्र बैङ्कले सीधै नयाँ नोट वितरण नगर्ने प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । निरौलाका अनुसार राष्ट्र बैङ्कले राष्ट्रिय सहकारी बैङ्कलाई नयाँ नोट दिने छ र सहकारी संस्थाहरूले राष्ट्रिय सहकारी बैङ्कमा गएर नयाँ नोट लिन पाउने छन् । धेरै भीडभाड भएको र झन्झटिलो भएकाले यस वर्ष सीधै सहकारी संस्थाहरूलाई रकम वितरण नगरिने निरौलाले बताए ।


सम्बन्धित समाचार

आज कहाँ कहाँ पर्छ पानी ?

२०८१ आश्विन १३

ताजा नेपाल