Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रसमा जिल्ला न प्रदेश, सबै देउवा

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि अख्तियारप्राप्त निकायले वितरण गरेको टिकटमाथि केन्द्रबाट हस्तक्षेप गरेको छ। सम्बन्धित प्रदेश कार्यसमिति र जिल्लाले पालिकामा वितरण गरेको टिकटमा केन्द्रबाटै हस्तक्षेप भएको हो। केन्द्रले विभिन्न प्रदेश कार्यसमितिले चार नगरपालिका प्रमुख र जिल्ला कार्यसमितिले एक गाउँपालिका अध्यक्ष–उपाध्यक्षका लागि वितरण गरेको टिकट खारेज गरेको हो। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले झापाको मेचीनगर, गोरखा नगरपालिका, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र कैलालीको लम्कीचुहा नगरपालिकाको टिकट वितरणमा हस्तक्षेप गरेका छन्।
उनले प्रदेश १ कार्यसमितिले मेचीनगर प्रमुखका लागि जिल्ला उपसभापति केशवराज पाण्डेबाट टिकट खोसेर इन्द्रबहादुर बुढाथोकीलाई दिएका छन्। उनले मेचीनगर नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाउँदै बुढाथोकी नै आधिकारिक उम्मेदवार भएको जनाएका छन्। यसअघि प्रदेश कार्यसमितिले मेचीनगर प्रमुखमा उपसभापति पाण्डेलाई उठाउने निर्णय गरेको थियो। बुढाथोकी महामन्त्री विश्वप्रकाश शर्मानिकट र पाण्डे नेता कृष्ण सिटौलानिकट मानिन्छन्। मेचीनगरको उपप्रमुख सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रलाई परेको छ।
गोरखा नगरपालिका प्रमुखको टिकटमा विवाद भएपछि सभापति देउवाले हस्तक्षेप गरेका छन्। गण्डकी प्रदेश संसदीय समितिले गोरखा नगरपालिका प्रमुखको टिकट विश्वदेव श्रेष्ठलाई दिएको थियो। तर, उम्मेदवारी दर्ताको समय घर्किनै लाग्दा देउवाले खोसेर वर्तमान मेयर राजनराज पन्तलाई दिए। सोमबार बिहान टिकट पाएपछि श्रेष्ठ पोखराबाट गोरखा पुगेका थिए। उम्मेदवारी दर्ताका लागि गोरखा पुगेका श्रेष्ठलाई बसपार्कनजिकै कांग्रेसकै कार्यकर्ताले कुटपिट गरेका थिए।
उनले टिकट लिएको विरोधमा असन्तुष्ट पक्षले गोरखा कांग्रेसको पार्टी कार्यालय र नगर कार्यसमितिको कार्यालयमा तालाबन्दी गर्दै प्रदर्शन गरे। टिकटको विषयलाई लिएर झण्डै तीन घण्टा तनाव भएपछि केन्द्रले हस्तक्षेप गरेको हो। यस्तै प्रदेश १ कार्यसमितिले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा दिएको टिकटमा पनि केन्द्रीय कार्य समितिले हस्तक्षेप गरेको छ। उक्त नगरपालिका प्रमुखको आधिकारिक उम्मेदवार तीर्थराज भट्टराई भएको ब्यहोरासहितको पत्र सोमबार साँझ सभापति देउवाले पठाएका थिए।
त्यसअघि यसअघि सोमबार दिउँसो प्रदेश कार्यसमितिले दिएको टिकट लिएर धर्मराज पोख्रेल हेलिकोप्टरमा दिक्तेल पुगेका थिए। उनलाई हेलिकोप्टरबाट झर्नासाथ कार्यकर्ताहरूले हातपात गरेका थिए। पोखरेलले बोकेको झोलासमेत कार्यकर्ताले खोसेका थिए। प्रहरीले उनलाई सुरक्षा दिएर पार्टी कार्यालय लगेको थियो। पार्टी कार्यालयबाट मानवअधिकार आयोगको टोली र प्रहरीले सुरक्षा दिएर पोख्रेललाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लगेको थियो।
बाहिर कार्यकर्ताको विरोधकाबीच उनले उम्मेदवारी दर्ता गराएका थिए। तर, पोखरेलले उम्मेदवारी दर्ता गराइसकेपछि केन्द्रबाट भट्टराई नै आधिकारिक उम्मेदवार भएको भन्दै पत्र पठाएको थियो। देउवाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख पदमा तीर्थराज भट्टराई नेपाली कांग्रेस पार्टीको आधिकारिक उम्मेदवार भएको प्रमाणित गरिन्छ। यसर्थ, त्यहीअनुसार कांग्रेसको उम्मेदवार कायम गरिदिनु हुन अनुरोध गर्दछु।’
केन्द्रले पत्र पठाएसँगै भट्टराई नै आधिकारिक उम्मेदवार हुने प्रदेशका कांग्रेस महामन्त्री भूपेन्द्र राईले बताए। ‘प्रदेशको निर्णयमा केन्द्रले हस्तक्षेप गर्यो। केन्द्रीय सभापतिले आधिकारिक रुपमा पत्र पठाइसकेपछि केन्द्रको निर्णय नै मान्नुपर्छ,’ उनले भने। उता कैलालीको लम्कीचुहा नगरपालिकाका लागि सुदूरपश्चिम प्रदेश कार्यसमितिले भक्तबहादुर थापालाई प्रमुखको टिकट दिएको थियो। तर, केन्द्रले सुशीला शाहीलाई टिकट दिएर पठाएको छ। प्रदेश कार्यसमिति र सभापति देउवाले फरक–फरक व्यक्तिलाई टिकट दिएपछि लम्कीचुहा नगरपालिका प्रमुखका लागि कांग्रेसबाट दुवैजनाले उम्मेदवारी दर्ता गरेका छन्। लम्कीचुहाका निर्वाचन अधिकृत हीरालाल चौधरीले एउटै पार्टीबाट दुईजनाले उम्मेदवारी दर्ता गरेको पुष्टि गरेका छन्।
यस्तै कांग्रेस केन्द्रीय कार्यालयले जिल्ला कार्यसमिति कास्कीले रुपा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि दिएको टिकटमा हस्तक्षेप गरेर उम्मेदवार परिवर्तन गरेको छ। जिल्लाले टिकट दिएका उम्मेदवारको विरोध गर्दै कार्यकर्ताले अवरोध गरेपछि केन्द्रीय कार्यालयले नाम परिवर्तन गरेको हो। केन्द्रीय कार्यालय सानेपाका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कांग्रेस कास्कीलाई पत्र पठाउँदै उम्मेदवार परिवर्तन गरिएको जानकारी दिएका थिए।
पत्रमा जिल्लाले गरेको निर्णय पुनरावलोकन गर्दै अध्यक्षमा गिमाया गुरुङ र उपाध्यक्षमा नारायणकुमार श्रेष्ठलाई टिकट दिइएको उल्लेख छ। यसअघि जिल्ला कार्यसमितिले रुपा गाउँपालिकाको अध्यक्षमा आनन्द सुवेदी र उपाध्यक्षमा अप्सरा श्रेष्ठलाई उम्मेदवारको टिकट दिएको थियो। कार्यकर्ताले विरोध गरेपछि कास्की सभापति किशोरदत्त बरालले पार्टीलाई उम्मेदवार परिवर्तन गरिदिन आग्रह गरेका थिए। उनले सभापति देउवालाई लेखेको पत्रमा नयाँ उम्मेदवारहरूको नाम खुलाएका थिए।