Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेसमा देउवापक्ष कमजोर भएकै हो ?

काठमाडौँ । पार्टीभित्र निकै शक्तिशाली मानिएका सभापति शेरबहादुर देउवा पक्ष कमजोर देखिँदै गएको छ । कांग्रेसमा महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नतिजाले पार्टी नेतृत्वका लागि संस्थापन र इतर दुवै पक्षलाई ढुक्क हुने स्थिति बन्न सकेको छैन । अघिल्लो महाधिवेशनको तुलनामा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षको स्थिति केही सुदृढ देखिए पनि संस्थापनइतर पक्ष एक भएर मैदानमा आए कडा टक्कर पर्ने देखिएको छ । संस्थापनइतर पक्षले सोचेजस्तो परिणाम ल्याउन सकेको छैन । देशभरबाट बुधबारसम्म आएका नतिजाले इतर पक्षमा एकमात्रै उम्मेदवार अघि सार्नुपर्ने दबाब बढेको छ । संस्थापन पक्षबाट सभापति देउवा र उपसभापति विमलेन्द्र निधि सभापतिका प्रत्याशी छन् । निधिको प्रभाव क्षेत्र मानिएको प्रदेश २ मा क्षेत्रीय अधिवेशन नै सुरु नभएकाले महाधिवेशन प्रतिनिधि चयन हुन सकेको छैन । प्रदेश २ का ८ जिल्लाबाट मात्रै ८ सय प्रतिनिधि चयन हुन्छन् । ३३ जिल्लाबाट चयन भएका १ हजार ३ सय ३२ महाधिवेशन प्रतिनिधिमा देउवा र पौडेल पक्ष बराबरी हैसियतमा देखिएका छन् । जिल्लाबाट कान्तिपुर संवाददाताहरूले पठाएको रिपोर्टअनुसार १ हजार ३ सय ३२ महाधिवेशन प्रतिनिधिमा ६ सय ५७ संस्थापन प्यानलबाट र ६ सय ६० पौडेल प्यानलबाट निर्वाचित भएका छन् । अन्य १५ जनामा निधि, सिटौला र कतिपय नखुलेका छन् ।
क्षेत्रीय अधिवेशनबाट करिब ४ हजार २ सय मतदाता चयन हुन्छन् । केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाका समेत गर्दा झन्डै ४ हजार ५ सय हाराहारीमा महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । जिल्ला कार्यसमिति सभापतिमा पनि संस्थापन र इतर पक्षबीच बराबरी स्थितिमा छन् । कांग्रेस नेता अर्जुननरसिंह केसीले प्रारम्भिक नतिजाले संस्थापनइतर पक्षलाई साझा उम्मेदवार बनाउन ठूलो दबाब दिएको स्विकार्छन् । ‘एक हुन सकिएन भने आत्महत्याको बाटो रोज्नु हो, आत्महत्याको बाटो रोज्न हुन्न भन्नेमा सबै हुनुहुन्छ भन्ने मैले विश्वास लिएको छु, केसीले भने, एक भएर अघि बढ्यौं भने हाम्रो स्थिति अझै बलियै छ । सुधारवादी पक्षमा नतिजा आउँछ भन्ने विश्वास छ । देउवानिकट एक नेताका अनुसार अघिल्लो महाधिवेशनमा गुमेका क्षेत्र र जिल्लामा समेत यसपटक सुधार भएको तर्क गर्दै आफ्नो स्थिति सुदृढ भएको दाबी गरेको छ । ‘संस्थापनइतर पक्षमा दुई जना उम्मेदवार भएको अवस्थामा पहिलो चरणमै नतिजा आउन सक्ने देखिएको छ, देउवानिकट एक नेताले भने, अब हाम्रो मुख्य चासो प्रदेश २ मा हो । त्यहाँ निधिजीको पक्षमा कति प्रतिनिधि आउँछन्, त्यसपछि प्रस्ट तस्बिर आउँछ । महाधिवेशन प्रतिनिधिमा ठूलो संख्यामा युवा चुनिएका छन् । विभिन्न क्षेत्रका व्यवसायीको प्रवेश पनि यसपटक उल्लेख्य भएको छ ।