Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस–एमाले संवादको ढोका खुल्यो, गुन्डुमा ओली र गगनबीच के भयो?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ताले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ। मंगलबार साँझ ओलीलाई भेट्न थापा भक्तपुरको गुन्डुस्थित निवास पुगेका थिए। करिब एक घण्टा लामो छलफलपछि उनी राति साढे ८ बजेतिर बाहिरिएका थिए।

थापा निकट स्रोतका अनुसार भेटवार्ताको मुख्य विषय मधेश प्रदेश सरकारको राजनीतिक संकट थियो। कांग्रेस नेता कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकार अल्पमतमा परेपछि त्यसलाई जोगाउने विषयमा ओलीसँग छलफल गर्न थापा गुन्डु पुगेका हुन्।

गत ३० असोजमा १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै आफ्ना चार मन्त्रीलाई सामूहिक राजीनामा गराएको थियो। एमालेको समर्थन फिर्तासँगै मुख्यमन्त्री यादवको पद संकटमा परेको छ।

मधेश प्रदेशसभामा २३ सांसद रहेको एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीको पक्षमा कांग्रेसका २२ र नेकपाका १५ सांसद मात्रै रहेका छन्। यता २७ सांसद रहेको जसपा नेपाल र १२ सांसद रहेको जनमत पार्टी विपक्षमा छन्। मुख्यमन्त्री यादवले आगामी ३० कात्तिकभित्र विश्वासको मत लिनुपर्ने अवस्था छ।

कांग्रेस नेताहरूका अनुसार सरकार जोगाउने सम्भावित विकल्पबारे छलफल गर्न थापा ओलीलाई भेट्न पुगेका हुन्। तर भेटवार्ता मधेश प्रदेश सरकारमा मात्रै सीमित नरहेको कांग्रेस नेताहरूको भनाइ छ।

कांग्रेस सहमहामन्त्री रामहरि खतिवडाले मधेश सरकारका साथै राष्ट्रिय राजनीतिका अन्य विषयमा पनि छलफल भएको बताएका छन्। उनका अनुसार विपक्षी दलहरू तथा पूर्वन्यायाधीशहरूसँग समेत समसामयिक राजनीतिक विषयमा संवाद भइरहेको छ।

प्रमुख प्रतिपक्षी दलका सभापतिले अर्को प्रमुख दलका नेतासँग संवाद गर्नु सामान्य राजनीतिक अभ्यास भए पनि यसपटकको भेटलाई विशेष चासोका साथ हेरिएको छ। विशेष महाधिवेशनबाट गगन थापा कांग्रेस सभापति निर्वाचित भएपछि ओलीसँग भएको यो तेस्रो भेट हो। तर यसअघिका भेटमा अन्य नेताहरू पनि सहभागी रहेकामा यसपटक भने दुई नेताबीच एक्लाएक्लै कुराकानी भएको गुन्डु स्रोतको दाबी छ।

सरकारको कार्यशैलीविरुद्ध प्रतिवाद गर्ने घोषणापछि भेट

ओली र थापाबीच भेटवार्ता हुनुअघि राजनीतिक वातावरणसमेत तनावपूर्ण थियो। तीन दिनअघि अर्थात् १५ कात्तिकमा कांग्रेसले पत्रकार सम्मेलन गर्दै सरकारको स्वेच्छाचारिता र मनोमानीविरुद्ध सशक्त प्रतिवाद गर्ने घोषणा गरेको थियो।

त्यही साँझ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमा चेतावनीपूर्ण अभिव्यक्ति दिएका थिए। उनले लेखेका थिए, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको भोलिपल्ट कांग्रेस सभापति थापाले पनि सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका थिए। उनले लेखेका थिए, ‘अहिले ठीक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’

यस्तो पृष्ठभूमिमा ओली र थापाबीच भएको भेटलाई राजनीतिक समीकरण र विपक्षी दलहरूबीचको सम्भावित सहकार्यसँग जोडेर हेरिएको छ।

एमाले सचिव महेश बस्नेतले भेटवार्तालाई राष्ट्रिय राजनीतिमा नयाँ मोडका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार गगन थापाले यसअघि लिँदै आएको राजनीतिक अडानमा परिवर्तन आउने गरी कुराकानी अघि बढेको छ।

गुन्डु स्रोतका अनुसार भेटवार्ताको पहल कांग्रेस सभापति थापाकै सचिवालयबाट भएको थियो। भेटपछि राष्ट्रिय राजनीतिमा दुई दलबीच संवादको ढोका खुलेको एमाले पक्षको बुझाइ छ।

विपक्षी दलबीच साझा धारणा बनाउने प्रयास

थापा गुन्डुबाट बाहिरिएपछि एमाले सचिव बस्नेतले सामाजिक सञ्जालमार्फत भेटवार्ताबारे सकारात्मक प्रतिक्रिया दिएका थिए। उनले व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हित, लोकतान्त्रिक व्यवस्था र संस्थागत स्थायित्वका विषयमा साझा दृष्टिकोण बनाउने प्रयास सुरु भएको बताएका थिए।

बस्नेतले गत भदौ २३ र २४ गतेका घटनापछि एमाले र अध्यक्ष ओलीप्रति कांग्रेससहित विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रको दृष्टिकोणमा परिवर्तन आउन थालेको दाबीसमेत गरेका छन्। उनका अनुसार कांग्रेस, नेकपा तथा उद्योगी, व्यवसायी, कर्मचारी र शिक्षकसमेत साझा चिन्ताका विषयमा संवाद र सहकार्यको बाटोमा अघि बढ्न थालेका छन्।

तर कांग्रेस सहमहामन्त्री खतिवडाले भेटवार्तालाई अन्य राजनीतिक अर्थमा व्याख्या गर्न आवश्यक नरहेको बताएका छन्। उनका अनुसार पत्रकारमाथि धरपकड, न्यायालयमाथि आक्रमण र कर्मचारीमा त्रासको वातावरण सिर्जना भएको विषयमा सरकारलाई खबरदारी गर्न विपक्षी दलहरूबीच संवाद भइरहेको हो।

कांग्रेसले संसदीय मोर्चामा समेत विपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने प्रयास गर्दै आएको छ। कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेको अग्रसरतामा विपक्षी दलहरूको बैठकसमेत हुँदै आएको छ।

यद्यपि, प्रमुख प्रतिपक्षी दलको सभापतिको हैसियतमा थापाले यसअघि विपक्षी दलका प्रमुख नेताहरूसँग सामूहिक छलफल गरेका थिएनन्। जेनजी आन्दोलनका घटनालाई हेर्ने दृष्टिकोणमा मतभिन्नता रहेकाले प्रमुख दलका नेताहरूबीच साझा संवाद सहज हुन नसकेको एक नेताको भनाइ छ।

एमाले स्रोतका अनुसार ओली र थापाबीचको भेटलाई संवादको सुरुवातका रूपमा लिइएको छ। केही दिनभित्रै पुनः भेटवार्ता गर्ने विषयमा समेत कुराकानी भएको स्रोतको दाबी छ।

यसले मधेश प्रदेश सरकारको भविष्यसँगै कांग्रेस र एमालेबीच राष्ट्रिय राजनीतिमा सहकार्यको सम्भावना कति अघि बढ्छ भन्ने चासो थप बढाएको छ।