Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी बनाउने नेपाल–भारत सहमति

काठमाडौं । नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएको छ। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको सहमतिअनुसार हाल एकतर्फी रूपमा सञ्चालन हुँदै आएको ‘बी३४५’ हवाई रुटलाई दुवैतर्फी बनाइने भएको हो।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा दुवै देशका नेताहरूले नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित छलफललाई सकारात्मक रूपमा लिँदै हवाई सम्पर्क विस्तार र द्विपक्षीय आर्थिक गतिविधि प्रवर्द्धनमा जोड दिएका छन्।

संयुक्त वक्तव्यअनुसार उक्त हवाई रुटलाई दुईतर्फी सञ्चालनमा ल्याउन आवश्यक प्राविधिक परामर्श गरिनेछ। प्राविधिक अध्ययन र छलफलका आधारमा यसको सञ्चालन मोडालिटीलाई अन्तिम रूप दिइनेछ। त्यस्तै, दुई देशबीच छलफलमा रहेका नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावलाई पनि प्राविधिक परामर्शमार्फत अघि बढाउने समझदारी बनेको छ।

यस सहमतिले विशेषगरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान तथा हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपालले लामो समयदेखि जनकपुर र भैरहवाबाट हवाई प्रवेश विन्दु उपलब्ध गराउन तथा पश्चिमतर्फबाट काठमाडौं प्रवेश गर्ने अन्तर्राष्ट्रिय उडानका लागि महेन्द्रनगरको हवाई रुट खुला गर्न भारतसँग आग्रह गर्दै आएको छ। विशेषगरी महेन्द्रनगरको रुट उपलब्ध गराउन नेपालले करिब १२ वर्षदेखि पहल गर्दै आए पनि यसपटकको प्रधानमन्त्रीको राजकीय भ्रमणमा समेत उक्त विषय टुंगोमा पुग्न सकेन।

भारतले भने हवाई रुटसम्बन्धी विषयलाई एकमुष्ट प्याकेजमा टुंग्याउनुपर्ने प्रस्ताव गर्दै आएको छ। नेपालले महेन्द्रनगरको हवाई रुट पाउने अवस्थामा भारतले पनि नेपालको पूर्वी सीमासँग नजिक रहेका पश्चिम बंगालको दार्जिलिङस्थित बागडोगरा विमानस्थल र बिहारको रक्सौलस्थित विमानस्थलमा उडानका लागि नेपाली आकाश प्रयोग गर्न पाउनुपर्ने प्रस्ताव भारतको छ।

तर, नेपालले हवाई रुटको विषयलाई प्याकेजमा राखेर छलफल गर्न तयार नभएको सन्देश भारतलाई दिएपछि दुवै पक्ष थप प्राविधिक अध्ययन र परामर्शबाट विषय टुंग्याउने समझदारीमा पुगेका हुन्।

बागडोगरा विमानस्थलबाट व्यावसायिक उडान सञ्चालन गर्न नेपाली आकाश प्रयोग गर्न दिन सकिने भए पनि त्यहाँबाट हुने सैन्य उडानका लागि भने नेपालले अनुमति दिन नसकिने स्पष्ट पारेको छ।

हवाई रुटसम्बन्धी लामो समयदेखिको विवाद र बाँकी प्रस्तावलाई प्राविधिक तहबाट टुंग्याउने सहमतिले आगामी दिनमा नेपाल–भारत नागरिक उड्डयन सहकार्यलाई थप अघि बढाउने अपेक्षा गरिएको छ।