Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौ । सत्ता, शक्ति र पहुँचका भारमा राजनीति गर्दा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको वरपर घेरेर आफ्नो स्वार्थ पूरा गर्दै आइरहेको गिरोह अहिले स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वरपर मात्रै होइन मन्त्रीकै गाडीमा सवार हुन थालेका छन् । मन्त्रीको यो चाल देखेपछि टोखा ५ का काँग्रेसी, नेता तथा कार्यकर्ता तर्कन थालेका छन् । राजनीति र प्रतिष्ठाले धानेको इज्जत बचाउनका लागि पनि युवा नेता प्रदीप पौडेलहरू सतर्क हुन जरुरी छ । उनलाई त्यो क्षेत्रमा निर्वाचित हुने अवसर दिलाउने काम तत्कालिन गठबन्धनले गरेको थियो । तर, उनका विरुद्ध डा. प्रकाशशरण महत हात धोएर लागेका थिए । जनताले साथ दिएपछि महतहरूको केही लागेन । त्यहाँ ईश्वर पोखरेलले विगतमा देखाएको दम्ब र अहंकारले पनि राम्रै काम गरेको थियो । चुनाव अघिसम्म प्यारो भएको माओवादी चुनाव जितेको भोलिपल्ट ईश्वरका लागि शत्रु भए । उनै ईश्वर पार्टी एकता विरोधी अभियान चलाउँदै प्रचण्डलाई नेता मानिँदैन भनेर गरेको घोषणाको फल तत्कालिन समयको गठबन्धनले प्राप्त गर्दा तनहुँका युवा प्रदीप पौडेलले काठमाडौं ५ बाट निर्वाचित हुने मौका पाएका हुन् । टोखा ५ मा श्री समाजकै सम्पत्तिमा स्थानीय तह टोखा ५ को कार्यालय छ । त्यो कार्यालयले समाजलाई त्यहाँबाट खेद्नका लागि वडाका छुद्र चरित्रका व्यक्ति र प्रवृत्तिहरूलाई सघाउँछ । श्री समाज वरपर झण्डै २२ रोपनी जग्गा सार्वजनिक रहेको छ । सो जग्गामा भाडा लगाएर खाने माफियाहरूलाई ३५ दिने सूचना जारी गर्ने टोखा नगरपालिकाको तत्कालिन नेतृत्व अहिले पनि निर्वाचित भएको छ । त्यो नेतृत्वको वरपर घुमेर सार्वजनिक जग्गा कब्जा गर्ने माफियाहरूले यतिखेर स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई घेरिरहेका छन् । सामुदायिक संस्थाहरूले देउसीभैलो खेलेर निर्माण गरेको श्री समाजमाथि दोहन गर्ने र स्थानीय सरकारको औचित्यमाथि प्रश्न उब्जाउने काम तिनै जनप्रतिनिधिहरूले गरिरहेका छन् । जो आफूलाई एमालेका स्वच्छ, इमान्दार र कर्मठ भन्छन् तिनै भूमाफियाहरूको निगाहमा चलेका त छैनन् ? शंका बढेर गएको छ ।
स्थानीय सरकारले जनताको सरोकारमा निर्माण गरेका संरचनाहरूलाई संरक्षण गर्ने हो । सरकार हो भन्दैमा जनताको साझा सम्पत्ति कब्जा गरेर जनताकै बीचमा नांगिने काम गर्नु हुँदैन । यसतर्फ नगर प्रमुख प्रकाश अधिकारी र उपप्रमुख मुरारी तामाङले ध्यान देलान् ? प्रश्न यतिखेर उठिरहेको छ । टोखा नगरपालिकाका धेरै वडाहरूले सार्वजनिक सम्पत्तिमा आफ्ना भवन बनाएका छन् । वडा नंं ५ का लागि भवन निर्माण गर्न सार्वजनिक सम्पत्ति जुटाउन सकिन्छ । गृह मन्त्रालयले धापासीका लागि २२ दरबन्दी भएको प्रहरी चौकी स्वीकृत गरेको वर्षौं भयो त्यसतर्फ जनप्रतिनिधि चासो राख्दैनन् । स्थानीय तहमा सडक, ढल, विजुली, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता विषयमा स्थानीय सरकारले चासो देओस् भन्ने चाहना जनताको हुन्छ । तर यस पटक वडा नं. ५ को निर्वाचित जनप्रतिनिधि टोली अघिल्लो कार्यकालमा भएका विकास पूर्वाधारका कामहरूको मर्मत सम्भार समेत गर्न सकिरहेको छैन । बिउबिजन आफ्ना नजिककालाई बाँड्ने विगतको प्रवृत्ति अहिले पनि छ । तर, वडा कार्यालय सँगै रहेको २२ रोपनी सार्वजनिक जग्गा कब्जा गरेर भाडामा लगाउनेहरू हिजो जो थिए आज तिनै छन् उनीहरूलाई आफ्नो स्वार्थ विरुद्ध बोल्ने नेता मन पर्दैन । त्यही कारण एमाले उपाध्यक्ष ईश्वर पोखरेलले कल्किनारायण मन्दिर मर्मत, जिर्णोद्धार कार्यक्रमको शुरुवात गर्दा सार्वजनिक जमिन हामी कोही साथी भाईले कब्जा गरेका छौं भने पनि फिर्ता गरौं भनेका थिए । उनको त्यो बोलीले त्यही जमिनबाट भाडा उठाएर खाने रामजी प्रधान र मेघनाथहरूलाई चोट प¥यो र उनीहरू रातारात ईश्वर पोखरेलबाट तर्केर प्रदीप पौडेलको शरणमा पुगे । अहिले तिनीहरू नै उनै प्रदीपको गाडीमा आउजाउ गर्न थालेका छन् । भूमाफियाहरू मन्त्रीको गाडीमा देखेपछि स्थानीय कार्यकर्ताहरूले मन्त्रीलाई सतर्क गराएका छन् । विगतमा प्रकाशन भएको ३५ दिने सार्वजनिक सूचना अहिले मेटिएको छ । टोखा नगरपालिकाले सार्वजनिक जग्गाको संरक्षणका लागि आफ्ना वडा कार्यालयहरूलाई सक्रिय बनाउन जरुरी छ । आफूलाई जनपक्षीय भन्ने नेकपा एमालेका कार्यकर्ताहरूले जनताको चासो र सरोकारका विषयहरूलाई बढी ध्यान दिनु पर्ने अवस्था छ । किनकि त्यो वडामा नेपाली काँग्रेस कमजोर छैन । काँग्रेसका कार्यकर्ताहरूका बीचमा एकले अर्कोलाई खुट्टा तान्ने प्रवृत्ति चर्को छ । त्यही प्रवृत्तिको शिकार हुँदै दुई पटकसम्म वडाको नेतृत्व लिने पहल गरेको टोली पराजित भयो । अहिले एमालेका कार्यकर्ताहरू हिजोको अवस्थामा देखिँदैनन् । हिजो जगन्नाथ ढकाल जनताले फोन गर्नासाथ जहाँ समस्या छ त्यहाँ उपस्थित हुन्थे । अहिलेका अध्यक्ष नेपाल सरकारको कर्मचारीभन्दा फरक छैनन् । जसले निर्वाचनको बेलामा ईश्वर पोखरेललाई कुत बुझाए उनीहरूले टिकट पाए, जसले बुझाएनन् काम राम्रो गरेका थिए तिनले पाएनन् । यसको नमूना जगन्नाथ ढकाल र उनको टिम हो । काँग्रेसको तर्फबाट मेयर पदमा उम्मेदवार बनेकी रजनी थापालाई काँग्रेसकै वडा नं. ४ र ७ का महिला कार्यकर्ताहरूले मत नदिँदा झिनो मतले पराजित हुनु परेको यथार्थता त्यहीं छ । थापा राजनीति भन्दा एनजीओमा केन्द्रीत भएकाले जनतासँग जोडिन नचाहेको स्थिति छ । उनलाई संसदको चुनावको समयमा काँग्रेसका कार्यकर्ताहरूले क्षेत्र नं. ५ मा भन्दा मकवानपुरमा बढी सक्रिय भएको देखे । किनकि उनलाई टिकट दिने क्षेत्रीय सभापति ईन्द्र बानिया प्रदेशको उम्मेदवार थिए । वर्तमान सरकार निर्माण भएको तीन महिना पुग्दा नपुग्दै देशले ९४ अर्ब ५४ करोड ऋण बोकेको छ । गणतन्त्र, संघीयता भनेको नेता पाल्ने, सांसद र जनप्रतिनिधिहरूलाई सामाजिक सेवामा भन्दा कर्मचारीकै स्वाभावमा परिचालन गर्ने हो भन्ने चिनाउने काम अहिले भएको छ । नेतृत्वको लुटाहा स्वाभावका कारण राजश्व नतिरेका जनता धेरै छन् । त्यही कारण राजश्व वृद्धि गर्नका लागि जनतालाई अनेक उपहार देखाउने काम स्थानीय सरकारहरूले गर्न थालेका छन् । जनताले सरकारप्रति आक्रोश प्रकट गरेपछि स्थानीय सरकारले उठाउने राजश्व कम हुँदै गयो । त्यही कारण अहिले टोखा नगरपालिकाले ७० प्रतिशत अनुदान आफूले दिएर ०८२ सालसम्मको राजश्व उठाउने अभियान चलाएको छ । त्यही क्षेत्रमा काँग्रेसका युवा नेता प्रदीप पौडेल सांसद बनेर मन्त्रीसम्म हुँदा सरकारको तहबाट सार्वजनिक सरोकारको विषयलाई गम्भीरतापूर्वक लिँदै भूमाफियाले कब्जा गरेका सार्वजनिक जमिन स्थानीय सरकारको नाममा ल्याउनका लागि पहल गर्लान् कि नगर्लान् ? किनकि वडा नं. ५ को वीरेन्द्र बाटिकादेखि श्री समाज प्रवेश गर्ने सडकसम्म झण्डै २२ रोपनी जमिन भाडामा लगाएर मस्ती गरिरहेका माफियाहरू तिनै मन्त्रीको गाडीमा आउजाउ गरिरहेका छन् । त्यही बसुन्धारामा काठमाडौं महानगरपालिका वडा नं. ३ का हर्ताकर्ताहरू सार्वजनिक जमिन कब्जा गर्ने र स्वास्थ्य भवनमा रजाई गर्ने गरिरहेका छन् । त्यो सम्पत्ति टोखा ५ को भए पनि कामनपा ३ का हर्ताकर्ताले परिचालन गर्नु भनेको स्थानीय एकले अर्कामाथि तहमाथिको हस्तक्षेप हो । त्यसतर्फ वडा नंं. ५ कति सचेत हुन्छ त्यसैमा भर पर्दछ ।
२०८१ पुष ३
ताजा नेपाल
२०८१ पुष ३
ताजा नेपाल
२०८१ पुष ३
ताजा नेपाल