Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुन्ती र रेखा बालकोटमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापा हल बाँधेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । राप्रपा महाधिवेशनमा एक–अर्काका प्रतिस्पर्धी रहेका यी दुई नेतृहरूबिच अहिले पुरानो तुष छैन । पहिले कमल थापासँग निकट रहे पनि शाही उनको पार्टीमा नगई राप्रपा मै बसेर लिङ्देनलाई सहयोग गरिरहेकी छन् । ओली निवासमा कुन्ती र रेखाले करिब डेढ घण्टा बिताएका थिए । आखिर कुराकानीको विषयवस्तु चाहिँ के थियो ? ‘त्यस्तो उल्लेख्य विषय केही थिएन,’ कुन्तीले टकटकिँदै भनिन्, ‘नितान्त अनौपचारिक र व्यक्तिगत सम्बन्धका हिसाबले भेटेका हौँ । यसलाई समाचार नबनाउँदा पनि हुन्छ ।’ कुन्तीले विगतमा ओली सरकारको क्याबिनेटमा मन्त्री भएर काम गरिसकेकी थिइन् । त्यस बेला ओलीप्रति उनमा राम्रो छाप परेको थियो । यता, रेखाले त पछिल्लो समय ओलीको सञ्चारमाध्यम मै खुलेर प्रशंसा गरेकी छन् । ओलीलाई अडान लिन सक्ने राष्ट्रवादी नेता भन्दै रेखाले दिएको अन्तरवार्ता एमाले कार्यकर्ताहरूका लागि गतिलो खुराक बनेको छ ।
खैर, बुधवारको भेटघाटमा महिलासँग सम्बन्धित मुद्दाहरूमा छलफल भएको कुन्तीले बताइन् । खासगरि प्रत्यक्ष चुनावमा महिलाहरूको प्रतिनिधित्व कसरी बढाउन सकिन्छ भन्ने विषयमा विमर्श भएको थियो । साथै, चुनावी तालमेलको प्रसंग पनि निस्कने नै भयो ।
के राप्रपाले एमालेसँग चुनावी तालमेलको प्रयास गर्न लागेको हो ? भन्ने प्रश्नमा शाहीले भनिन्, ‘यो विषयमा टुंगोमा पुगिसकेका छैनौँ । पार्टीभित्र छलफल गरेर निर्णय लिन्छौँ ।’