Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाका कारण कतारमा गयाे १८ नेपालीको ज्यान

दोहा । विश्व महामारी कोरोनाले विश्वभर छरिएर बसेका नेपालीले विदेशी भूमिमा ज्यान गुमाउनु परेको छ । कतारमा कोरोना भाइरसको संक्रमणले १८ जना नेपालीको मृत्यु भएको छ । कतारमा कोरोनाले मृत्यु भएका १९२ जनामध्ये १८ जना नेपाली रहेको कतारस्थित नेपाली दूतावासले जनाएको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे नखुलाइएकाले कति नेपाली संक्रमित छन् भन्नेबारे केही खुलाइएको छैन । यसैबीच कतारमा कोरोना संक्रमितको संख्या घट्दै जान थालेको छ । विगत केहि दिनको तुलनामा कोरोना संक्रमितको संख्या न्यून रहेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा पछिल्लो २४ घण्टामा ३ हजार ७६७ जनाको कोरोना परीक्षण गरिएकोमा २७७ जनालाई कोरोना पुष्टी भएको छ । योसंगै कतारमा संक्रमितको संख्या १ लाख १४ हजार ८०९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामै २४७ जना संक्रमितलाई निको भएका छन् । योसंगै कतारमा उपचारपछि निको हुनेको संख्या १ लाख ११ हजार ५०५ पुगेको छ । कतारको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ५ लाख ४६ हजार २८५ जनाको परीक्षण गरिएको छ । संक्रमितको संख्या घटे पनि सावधानिको उपायहरु अपनाउन तथा अनिवार्य रुपमा माक्सको प्रयोग गर्न स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन् । बाहिर हिँडडुल गर्दा अनिवार्य रुपमा एथेराज एप प्रयोग गर्न पनि आग्रह गरिएको छ । संक्रमितको संख्या घट्दै गएपछि कतारले सेप्टेम्बरबाट कोरोना भाइरसको जोखिमपछि लगाइएका सबै खाले प्रतिबन्ध हटाउने तयारी गरेको छ ।