Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोना प्रभावित ९४ प्रतिशत मानिस बाँच्न सफल

काठमाडौं । कोरोना भाइरसको महामारीले संसार आक्रान्त छ । प्रियजन गुमाउँदा लाखौं मानिसका खुशी खोसिएका छन् । मानव प्राण गुमेपछि फेरी त्यस्तै जीवन परिपुरणवापत पाउँने सम्भावना छैन् । यो शास्वत सत्यलाई विज्ञानले समेत चुनौती दिन नसकेको तथ्य हो । गुमेको प्राण फेरी भर्न नसके पनि सिकिस्त अवस्थाका बिरामीलाई भने चिकित्सा विज्ञानले ठीकठाक गरिरहेको छ । गत डिसेम्बरको अन्तिमबाट चीनको वुहानबाट फैलिएको कोरोनाभाइरसको संक्रमण ९५ भन्दा बढि मुलुकमा पुगिरहँदा ३४ सय भन्दा बढिको मृत्यु भएको छ ।
मृतक मध्ये ८८ प्रतिशत चिनियाँ नागरिक छन् । विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबारसम्म मृत्यु भएका ३४ सय ९४ जनामध्ये ३ हजार ७० जना चिनियाँ नागरिक हुन् । कोरोना भाइरसबाट ज्यान गुमाएका अरु १२ प्रतिशत मानिस १७ देशका छन् । चीन बाहिर ४ सय ४१ जनाको मृत्यु भएको हो ।
संसारभर १ लाख भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएर अस्पतालका शैयामा थलिदा आफन्तमा छटपटी ब्याप्त छ । कोरोनाको संक्रमणबाट ज्यान गुमाउँने मानिसहरुको समाचार क्षणक्षणमा डढेलोझैं फैलिरहँदा मानिसहरु त्रस्त छन् ।
तर संक्रमण फैलिएको साढे २ महिनामा मानिसहरु कोरोनाभाइरसका कारण मरेका मात्रै छैनन् उपचारपछि हजारौं ठीकठाक भएर घर पनि फर्किएका छन् । विश्वस्वास्थ्य संगठन ९डब्लूएचओ ० अनुसार संक्रमित भएकामध्ये मृत्यु हुनेको दर ६ प्रतिशत छ भने उपचारपछि ठीक हुने ९४ प्रतिशत छन् । कोरोनाबाट संक्रमित भएका १ लाख २ हजार ४८ जना मानिसमध्ये ५७ हजार ६ सय ९ जना मानिस उपचारपछि घर फर्किएका छन् । ४० हजार ९ सय ४५ जना उपचारारत छन् । यीमध्ये ८४ प्रतिशत अर्थात ३४ हजार ५ सय ४४ जनाको अवस्था सामान्य रहेपनि १६ प्रतिशत अर्थात ६ हजार ४ सय १ जनाको अवस्था भने नाजुक छ ।
संक्रमण अरु मानिसहरुमा नफैलियोस् भनेर सामान्य विरामी भन्दा फरक तवरले आइसोलेसन अर्थात छुट्टै राखेर उपचार भइरहेको छ ।
कोरोनाले हायलकायलको अवस्थामा पुगेको चीनमा ८० हजार ६ सय ५१ जनामा कोरोनाभाइरसको संक्रमण देखिए पनि ५५ हजार ४ सय २ जना मानिस निको भएर घर फर्किएका छन् । २१ हजार १ सय ७९ जनाको चीनका विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । यसमध्ये ५ हजार ७ सय ३७ जना सिकिस्त अवस्थामा छन् । ३ हजार ७० जनाको भने मृत्यु भएको छ। सिकिस्त अवस्थामा रहेका ५ हजार ७ सय भन्दा बढि मानिसको संख्याले मृत्यु हुनेको संख्या बढ्न सक्ने अड्कलबाजी गरिएका छन् । एक सातादेखि भने चीनमा कोरोनाबाट संक्रमित हुनेको दर घट्दै गएको छ ।
चीनपछि सबै भन्दा बढि कोरोनाको संक्रमण दक्षिण कोरियामा फैलिएको छ । त्यहाँ मृत्यु हुनेको संख्या ४३ मात्रै भए पनि संक्रमित हुनेको संख्या ६ हजार ६ सय छ । ६ हजार ४ सय १५ जनाको उपचार जारी रहँदा १ सय ३५ जना निको भएका छन् । ५२ जना सिकिस्त छन् । इरानमा ४ हजार ७ सय ४७ जनामा संक्रमण देखिएकोमा ९ सय १३ जना उपचारपछि घर फर्किएका छन् । १ सय २४ जनाको मृत्यु भएको छ । उपचारारत ३ हजार ७ सय १० जनाको अवस्था सामान्य नै रहेको इरानी स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
इटालीमा ४ हजार ६ सय ३६ जनामा संक्रमण देखिएकोमा हाल ३९ सय १६ जनाको उपचार चलिरहेको छ । ५ सय २३ जना निको भएर घर फर्किएका छन् भने १ सय ९८ जनाको मृत्यु भएको छ । यस्तै सिंगापुरमा कोरोनाको संक्रमण देखिएका १ सय ३० जनामध्ये ८२ जना निको भएका छन् । ४८ जनाको उपचार भइरहेको छ । सिंगापुरमा कोरोनाको संक्रमणबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन । यद्यपी उपचारारतमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ ।
भियतनाममा १७ जनामा संक्रमण देखिएकोमा १६ जना निको भएका छन् १ जनाको उपचार भइरहेको डब्लूएचओले जनाएको छ । डब्लूएचओका अनुसार विश्वभर कोरोनाभाइरसको संक्रमणबाट उपचारारत ४० हजार ९ सय ४५ मध्ये ६ हजार ४ सय १ जनाको अवस्था गम्भीर रहे पनि बाँकीको अवस्था सामान्य हुँदै गएको छ ।


सम्बन्धित समाचार