Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गठबन्धनमा भाँडभैलो शुरु प्रचण्ड र माधव बिच्किए

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले आफूले जितेको प्रतिनिधि सभा र प्रदेश सभाको सिट कुनै हालतमा नछाड्ने अडान लिएका छन् । सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि पटक पटक भएको बैठकमा मापदण्डको पहिलो प्राथमिकतामा जितेको सिटमा गठबन्धनको सम्बन्धित दलले नै पाउने र बाँकीमा बाँडफाँट हुनुपर्ने अडान राख्दै आएका छन् । नेपाली काँग्रेसले स्थानीय निकायको मत परिणामलाई पनि आधार मान्नुपर्नेमा जोड दिएको छ । जस अनुसार माओवादी, एस र जसपाले २०७४ मा जितेको सिटमा कमजोर अवस्था भए छाड्नुपर्ने शर्त छन् । तर, प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव तीनैजना यसमा असहमत छन् । माओवादीले २०७४ मा जितेको ३६ सिटमा नछाड्ने अडान लिइरहेको छ । प्रचण्ड त्यसमा टसमस नहुने भएका छन् । विगतमा जितेको सिटमा थप अन्य सिटहरु लिने गरी प्रचण्डले प्रस्ताव राखेको बुझिएको छ । नेकपा एसले सोमनाथ पाण्डेले जितेको पाल्पा २ र बाँकी १२ बहालवाला सांसद भएको क्षेत्र नछाड्ने अडान कसिरहेको छ । तनहुँमा रामचन्द्र पौडेललाई छाडेर किसान श्रेष्ठलाई कुनै अर्को क्षेत्रमा लानेमा माधव नेपाल लचिलो भएका छन् । बाँकी क्षेत्रहरु कुनै हालतमा नछाड्ने भएका छन् ।
जसपाले २०७४ मा जितेर बहालवाला सांसद रहेका ९ जनाको चुनावी क्षेत्र नछाड्ने अडान लिएको छ । उपेन्द्र यादवले थप १० क्षेत्र समेत मागेको बुझिएको छ । बाबुराम भट्टराई र महिन्द्र राय यादवले पनि आ आफ्नो क्षेत्रमा गठबन्धनबाट साझा उम्मेदवार बन्न प्रचण्डसँग कुरा मिलाइसकेका छन् । बाबुरामले छोरी मानुषीका लागि काठमाडौंको कुनै एक क्षेत्र सुनिश्चित गर्न खोजेका छन् । जनमोर्चा नेपालले प्यूठान नछाड्ने भएको छ । उक्त क्षेत्रमा बामदेवको दाबी भएपनि जनमोर्चा टसमस भएको छैन । काँग्रेसले आफूहरुबाट बहालवाला सांसद रहेको क्षेत्र पनि दाबी गरेको भन्दै प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव असन्तुष्ट भएका छन् । उनीहरुले कुनै हालतमा पछि नहट्ने गरी अडान लिएका छन् ।