Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गर्भवतीको मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा आगजनी

सर्लाही । उपचारका क्रममा नौ महिनाकी गर्भवती युवतीको मृत्यु भएपछि उनका आफन्त र स्थानीयले सर्लाहीको बरहथवास्थित नगर अस्पतालमा तोडफोड र आगजनी गरेका छन्। घटनामा अस्पतालको इमर्जेन्सी कक्षमा ठूलो क्षति पुगेको छ। प्रहरीले आगजनी तथा तोडफोडमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार राति बरहथवा नगरपालिका–५ हातीडण्डा पानीटंकी टोलका रुपेश रामकी करिब २१ वर्षीया श्रीमती सीमा रामदेवीको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा तोडफोड र आगजनी भएको हो।

नौ महिनाकी गर्भवती सीमा बिरामी भएपछि उनका आफन्तले आइतबार उपचारका लागि बरहथवा नगर अस्पताल पुर्‍याएका थिए। अस्पतालमा उपचारका क्रममा उनको अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि वीरगन्ज रेफर गरिएको थियो।

तर वीरगन्ज लैजाने क्रममा चन्द्रनिगाहपुर अस्पतालमा चिकित्सकले परीक्षण गर्दा उनको मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जनाएको छ।

चिकित्सकको लापरबाहीका कारण गर्भवतीको मृत्यु भएको आरोप लगाउँदै आफन्त र स्थानीयले नगर अस्पतालमा पेट्रोल छर्केर आगजनी गर्नुका साथै तोडफोड गरेका थिए। आगजनीबाट अस्पतालको इमर्जेन्सी कक्षमा ठूलो क्षति पुगेको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी निरीक्षक किरण लामाको कमान्डमा ३० जना प्रहरी घटनास्थल पुगेका थिए। त्यस्तै, जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक जीवन श्रेष्ठको कमान्डमा १८ जना र सशस्त्र प्रहरी बल सुरक्षा बेस सुन्दरपुर चौहर्वाबाट प्रहरी निरीक्षक डबलबहादुर एडीको कमान्डमा नौ जनाको टोली परिचालन गरिएको थियो।

प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मृतक सीमाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।

आगजनीमा संलग्न रहेको आरोपमा चार जना पक्राउ

अस्पतालमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ का ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गजुरा नगरपालिका–९ सिमराका ४२ वर्षीय भुसेनी महरा र उनका २० वर्षीय छोरा राजन राम रहेका छन्।

प्रहरीका अनुसार अस्पतालमा पेट्रोल छर्केर आगो लगाउने र तोडफोड गर्ने कार्यमा सोही अस्पतालमा करारमा कार्यरत ३० वर्षीय धिरज महरा र ४२ वर्षीय सुरेश महरा पनि संलग्न रहेको खुलेको छ। उनीहरू भने घटनापछि फरार छन्।

आगजनी तथा तोडफोडबाट अस्पतालमा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।