Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । महिला हिंसा र बलात्कारका घटना एकपछि अर्को बाहिर आउन थालेका छन् । समाज विकसित हुँदै जाँदा पीडितहरुको साहस बढेका कारण पीडामा बस्नु भन्दा बाहिर ल्याए न्याय पाइन्छ भन्ने आशा जागेको छ । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । भैरहवा घर भएका पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगिता सकिएपछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौँको एभरेस्ट होटेलमा आफूलाई पाण्डेले बलात्कार गरेको पीडित युवतीको आरोप छ । टिकटक युजर आइडीबाट बुधवार साँझ पीडित युवतीले आफू मोडल एजेन्सी सञ्चालक मनोज पाण्डेबाट बलात्कृत भएको आरोप लगाएर भिडियो पोष्ट गरिन् । सो भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनलाई पक्राउ गर्न तीव्र दबाब बढेको थियो । सङ्घीय संसद्मा पनि यसबारे आवाज उठेपछि शनिवार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई स्वयम्भूबाट पक्रेर अनुसन्धान सुरु गरेको छ ।
मोडल एजेन्सी सञ्चालक पाण्डेले भने बलात्कारको आरोप अस्वीकार गरेका छन् । पक्राउ परेपछि प्रहरीसँग उनले भनेका छन्–‘मलाई आरोप लगाएर भिडियो सार्वजनिक भएपछि प्रहरीमा हाजिर हुन खोजेको थिएँ, मैले केही पनि गरेको होइन ।’ युवतीले उनलाई आफूमाथि बलात्कार गरेको आरोप लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि पाण्डे बिहीबार पोखराबाट काठमाडौँ आएको प्रहरीको भनाइ छ । पाण्डे काठमाडौँ छाडेर भाग्ने तयारीमा रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले बताएका छन् । भाग्ने तयारी गरिरहेको बेला उनलाई स्वयम्भूबाट पक्राउ गरेको प्रहरीको दाबी छ । बानेश्वरमा मोबाइल र गाडी छाडेर उनी स्वयम्भू स्थित दिदीको घरमा लुकेर बसेका थिए । प्रहरीले दिदीको घरमा निगरानी गरेको थाहा पाएपछि उनी त्यहाँबाट पनि अन्यत्र भाग्दै गर्दा पक्राउ परेका हुन् । अहिले उनलाई काठमाडौँको एउटा प्रहरी वृत्तको हिरासतमा राखिएको छ । उनलाई थुनामा राखिएको वृत्तको नाम उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको छैन । पीडित युवतीले शनिवार सामाजिक सञ्जालमार्फत मनोज पाण्डे र अर्का एक जना ‘आदित्य’ले आफूलाई बलात्कार गरेको भन्दै अरू व्यक्तिहरूलाई लाञ्छना नलगाउन आग्रह गरेकी छिन् । ‘आदित्य’बारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । आइतबार सार्वजनिक बिदा भएको हुनाले सोमबार अदालतबाट पाण्डेलाई थुनामा राख्न अनुमति लिनुपर्छ । बलात्कारको हदम्याद नाघेको हुनाले कुन मुद्दामा म्याद लिने भन्नेबारे प्रहरीले महान्यायाधिवक्ताको कार्यालयसँग छलफल गरिरहेको छ ।
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल