Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गायनमा फरक परिचय बनाएकी सरिता

हेलो भन्दा बोलिनी हाई भनी
मायाँ लगाम् हो भन्दा ता नाई भनी
नगर दोमन, हाँसी हाँसी लाईदेउन पिरती
नाई नाईन नभन् ….
गत महिना रिलिज भएको यो नयाँ लोक भाकाको काठे गीत गायिका सरिता भारतीको हो । यो गीतमा सरितासँगै अर्का गायक नमराज ढुंगानाको स्वर रहेको छ । गीत जति मिठो छ, यसको भिडियो पनि त्यत्तिकै राम्रो बनेको छ । यो भिडियोमा गायिका सरिता आफैंले नायक गजित बिष्टको जोडी बनेर मोडलिङ पनि गरेकी छन् । नमराजकै अफिसियल च्यानलबाट भिडियो सार्वजनिक गरिएको छ । त्यसो त गत असारमा सरिताकै स्वरमा अर्को गीत बजाईदेउन बाजा…को भिडियो बजारमा आयो । यो गीतलाई पनि सरिताले त्यत्तिकै कर्णप्रिय रूपमा गाएकी छन् । यो गीतमा पनि सरिता आफैंले अर्का अभिनेता यशराज गराचको नायिका बनेर मोडलिङ गरेकी छन् । पछिल्लो समय गायिका सरिताको स्वरमा एकपछि अर्को नयाँ गीतहरू बजारमा आईरहेका छन् । उनी स्टेज कार्यक्रममा पनि त्यत्तिकै व्यस्त बन्ने गरेकी छन् । दशैं अघि पनि विभिन्न मेला महोत्सबमा आफ्नो स्टेज प्रस्तुति दिईसकेकी यी गायिका तिहारको अबसरमा पनि स्टेज कार्यक्रमको प्रस्तुतिको लागि प्रस्ताव आईरहेको बताउँछिन् ।
गोरखाको मिरकोटमा जन्मिएकी सरिताले स्कुले जीवनबाटै गायन यात्रा सुरु गरेकी थिईन् । स्कुल अध्ययनकै क्रममा जिल्ला स्तरीय प्रतियोगितामा गायनबाट पुरस्कारसमेत जितेपछि उनलाई गायनमा लाग्न गुरुहरूले नै सुझाब दिएका थिए । त्यसपछि उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आएकी उनले सुरुका दुई वर्ष विभिन्न स्टेज कार्यक्रममा अन्य कलाकारका गीत गाईन् । त्यतिबेला रेडियो राजधानीमा लोक दोहोरी कार्यक्रम सञ्चालनसंगै उनले आफुलाई गायिकाको रूपमा परिचित तुल्याई सकेकी थिईन् । सो क्रममा उनलाई आफ्नो गीत गाउन श्रोता दर्शकहरूले अनुरोध गरे । दर्शकहरूको सोही अनुरोधले प्रेरित भएर २०७५ सालमा सरिताले आफ्नो स्वरमा पहिलो गीत मेरो जवानी..रेकर्ड गरेकी थिईन् । सुरुमा उनले यो गीतको अडियो सार्वजनिक गरिन् । रेडियो र एफएममा यो गीत श्रोताले मन पराएपछि उनले यसको भिडियो दर्शकमाझ ल्याईन् । यही गीतबाट उनले व्यबसायिक गायनलाई अघि बढाएकी हुन् । पहिलो गीत दर्शकमाझ आएको यो सात वर्षमा उनले आफ्नो स्वरमा दुई दर्जन गीतहरू श्रोतामाझ ल्याईसकेकी छन् । मेरो जवानी…, कोरोनाले देशै रोयो…, लुडो र तास…, पहिलो भेटमै…, रातो सारी लरक्कै…, यसपालीको दशैं…, हे गाजली…, अँधेरीमा थिएँ म…, असारै मास (झरी), चिया पकाउ…, तिम्रो मायाँले न हो…, मेरो मायाँ भनी…, जिस्केर मस्केर…जस्ता थुप्रै चर्चित गीतहरू दर्शकमाझ बजारमा ल्याईसकेकी छन् ।
यतिबेला गायिका सरिता तीन वटा गीतको रेकर्डिङमा छन् । जसमध्य संगीतकार दीपक शर्माको संगीतमा दुई वटा गीत र अर्का गायक तथा संगीतकार ओम सुनारको संगीत तथा युगल स्वरमा एउटा गीत रेकर्डको तयारीमा रहेको सरिताले बताईन् । जस मध्य एउटा गीत लोक दोहोरी भाकाको रहेको र बाँकी दुई गीत लोकपप शैलीको भएको पनि उनले जानकारी गराईन् । त्यसो त गायिका सरिता भारतीले आफ्नै सबैजसो गीतमा मोडलिङ गरेकी छन् । आफ्नै गीतमा मोडलिङ गर्नु उनको अर्को विशेषता हो । उनी गायनमा जसरी लोकप्रिय छन् । उनको गीतहरूको भिडियोलाई आफ्नो मोडलिङले अझ लोकप्रिय बनाउन मद्धत गरेको छ,‘मेरो पहिलो गीतको भिडियोमा बिनु शाक्य सहित अन्य मोडलले अभिनय गरेका थिए भने त्यसमा म सानो भूमिकामा थिएँ । तर दर्शक श्रोताले मेरो सानो क्लिप हेरेर आफ्नो भिडियोमा आफैं मोडलिङ गर्न सुझाब दिएपछि त्यसपछिका आफ्ना सबैजसो गीतको भिडियोमा मैले नै मोडलिङ गरेकी हुँ ।’ सरिताले भनिन् । चलचित्र, आधुनिक, पप, लोक दोहोरी तथा पर्व (पूर्वेली, काँठे, पश्चिमेली, देउडा, तीज, दशैं) जस्ता विभिन्न प्रकारका गीतहरू उनले गाउँदै आएकी छन् । तथापि आफुलाई लोकपप तथा लोक गायिकाको रूपमा उनले चिनाउँदै आएकी छन् । गायनमा निरन्तर लागिरहेकी सरिताले हालसम्म देश बिदेशमा गरेर दर्जनौं स्टेज कार्यक्रममा आफ्नो गायन प्रस्तुति दिईसकेकी छन्, ‘गायक गायिकाहरूको राम्रो कमाईको मुख्य श्रोत स्टेज कार्यक्रम पनि हो । त्यसैले मैले मेला महोत्सबदेखि विभिन्न कार्यक्रमको स्टेज शोमा आफ्ना गीतसंगीत प्रस्तुत गर्दै आएकी छु ।’ सरिताले भनिन् । गायनसँगै उनले तीन वर्ष अघि आफ्नै लेखनमा नेपालका चर्चित डेढ दर्जन अग्रज गायिकाहरूको गायनमा संघर्ष र सफलताको कथा समेटेर नयाँ पुस्तक ‘नारी स्वरका कथा’ पाठकमाझ ल्यार्ईन् । शिखा बुक्सले प्रकाशन गरेको यो गीतिपुस्तक ल्याउनुको कारण पनि नेपाली गायनमा महिलाहरूलाई प्रेरित गर्नु नै आफ्नो उदेश्य रहेको यी गायिकाले बताईन् । गायनबाटै सगरमाथा अवार्डमा उत्कृष्ट नव गायिका, छायाँछबि तिज म्युजिक अवार्ड सर्वोत्कृष्ट लोक तीजगीत गायिका, सुन्दरादेबी अवार्ड अवार्डमा सर्वोत्कृष्ट चाडवर्प गीत गायिकासहित राष्ट्रिय स्तरको आधा दर्जन अवार्ड हाँसिल गरिसकेकी छन् । गायनबाटै उनी थुप्रै पटक सम्मानित पनि भईसकेकी छन् ।