Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पटक–पटक भाषण गर्दा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई सम्झँदै भावुक बन्छन् र आदर्शवादी नेताको रूपमा स्वर्गीय कोइरालाको बारेमा चर्चा गर्न पछि पर्दैनन् । उनै प्रधानमन्त्री प्रचण्डले तत्कालीन प्रधानमन्त्री कोइरालाले २०५० सालमा घटाएको धमिजा काण्डभन्दा चार सय ८० गुणा ठूलो भ्रष्टाचार गरेका छन्, एनसेल नामक टेलिकम्युनिकेसन कम्पनीको बिक्री काण्ड मच्चाएर । अहिलेको एनसेल काण्ड हेर्दा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारमा गिरिजाप्रसादलाई सयौँ गुणाले पछि पारेका छन् । बहुदलीय व्यवस्थामा सर्वाधिक भ्रष्टाचार शासन उनै कोइरालाको पालामा भएको भनेर आलोचना हुने गर्छ ।
तत्कालीन शाही नेपाल वायु सेवा निगम एसियाकै चर्चित हवाई कम्पनी रहेको बेला २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादले आफ्नी छोरी सुजाता कोइरालाको प्रभावमा परेर एउटा निर्णय गरे जसले निगमलाई तहसनहस पारिदिए । जुन अहिलेसम्म पनि राम्रोसँग उठ्न सकेको छैन । त्यतिबेला शाही नेपाल वायु सेवा निगमका दुई बोइङ ७५७ अत्याधुनिक जहाज हङकङ, लण्डन, फ्याङ्कफर्ट, जापानको नरिता, फ्रान्सको पेरिसदेखि दुबईसम्म उड्थ्यो ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादले युरोप एयर प्रमोसन यूएपीलाई दिइएको जीएसए जनरल सेल्स एजेन्ट खोसियो र सुजाताका साथी भारतीयमूलका बेलायती व्यापारी दिनेश धमिजाले संस्थापना गरेको एक पाउन्डको एफआरई ९फार० नामक कम्पनीलाई दिने निर्णय गरियो । सो काण्डमा नेपाल एयरलाइन्सलाई ३९ करोड ५५ लाख रुपैयाँ घाटा हुन पुग्यो । धमिजा अनुभवी थिएनन् । उनले सबैभन्दा पहिले नेपाल एयरलाइन्सको जीएसए पाएर हवाई टिकटसम्बन्धी पहिलो पटक काम गर्ने मौका पाएका थिए ।
विनाटेन्डर नेपाल एयरलाइन्सलाई करोडौँ रुपैयाँ घाटा हुनेगरी जीएसएको रूपमा दिनेश धमिजालाई नियुक्त गरिएको विषयमा तत्कालीन प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद्मा समेत विरोध जनायो । तर, पछि मिलेमतो भयो । पहिले जीएसएको काम गरिरहेको यूएपीले नेपाल एयरलाइन्सलाई तिर्नुपर्ने दुई करोड ७९ लाख ११ हजार छ सय ४१ रुपैयाँ समेत तिरेन । सोसहित उक्त काण्डमा ४२ करोड ३४ लाख ११ हजार छ सय ४१ रुपैयाँ डुब्न पुग्यो । यसै काण्डलाई बहुदल स्थापनापछिको सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड मानिन्छ ।
२०१३ सालमा स्थापना भएको नेपाल एयरलाइन्स ४० को दशकमा सबैभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने नेपालको एउटा अन्तर्राष्ट्रिय व्यापार समेत थियो । आव २०४४।०४५ को लेखा परीक्षण प्रतिवेदनमा कुल पाँच करोड ४३ लाख आम्दानी गरी एक करोड ७० लाख अमेरिकी डलर नाफा कमाएको थियो भने निगमले दुई हजार दुई सय जना कर्मचारीहरूलाई रोजगारी समेत दिएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले घटाएको धमिजा काण्डपछि नेपाल वायु सेवा निगमले चेज एयर कान्ड, लाउडा कान्डलगायतका थुप्रै कान्ड घटाएर अहिले ४६ खर्ब रुपैयाँ ऋणमा डुब्न पुगेको छ ।
वर्तमान प्रधानमन्त्री प्रचण्ड शान्ति प्रक्रियाका अर्का हस्ताक्षरकर्ता तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम बारम्बार लिइरहन्छन् । नाममात्रै होइन अब प्रधानमन्त्री प्रचण्ड घुस सेटिङ र भ्रष्टाचारमा समेत तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई माथ गर्नेगरी ४२ करोड ३४ लाख रुपैयाँको धमिजा काण्डभन्दा चार सय ८० गुणा ठूलो एनसेल काण्ड घटाएका छन् ।
नेपालमा सञ्चालित निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलमा २० प्रतिशत सतिशलाल आचार्य र उनकी श्रीमती भावना सिंह श्रेष्ठको सुनिभेराको नाममा छ भने बाँकी रहेको ८० प्रतिशत सेयर रेनोल्डस होल्डिङको नाममा छ । रेनोल्डस होल्डिङ सन् २००८ जुलाई ८ मा बेलायतमा स्थापना भएको कम्पनी हो । सो कम्पनीको शतप्रतिशत सेयर स्वीडेनको कम्पनी टेलियासोनेराले सन् २०१६ मा एक अर्ब ३६ करोड ५० अमेरिकी डलर अर्थात् एक खर्ब ४३ अर्बमा मलेसियाको एक्जियटा नामक कम्पनीले किनेको थियो । उक्त कारोबार नेपालमा लामो समयसम्म लुकाइएको कारण पुँजीगत लाभकरबापत ६२ अर्ब रुपैयाँ कर छली गरिएको थियो । सो काण्ड सात वर्षसम्म राजनीतिक नेताहरूलाई पालेर सेटिङ गरेको एनसेलले अहिले रेनोल्डस होल्डिङको शतप्रतिशत सेयर पाँच करोड डलरमा बिक्री गर्ने सम्झौता भएको तथ्य बाहिर आएको छ ।
एक खर्ब ४३ अर्ब रुपैयाँ सेयर भ्यालू भएको रेनोल्डस होल्डिङको सेयर एक्जियटाले कौडीको भाउमा बिक्री गर्ने सम्झौता गरेको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले घटाएको धमिजा काण्ड र हाल प्रधानमन्त्री प्रचण्डले घटाएको एनसेल काण्डका केही कुरा समान छन् । पहिलो बेलायतीमा कृत्रिम कम्पनी खडा गरिनु । दोस्रो, दिनेश धमिजाले तत्कालीन शाही नेपाल वायु सेवा निगमको जीएसए लिनको लागि एक पाउण्डको कम्पनी खोलेको थिए भने अहिले एनसेल काण्डमा पनि सतिशलाल आचार्यले एक पाउण्डकै स्पेक्ट्रलाइट युके नामक कम्पनी खोलेर सात वर्षअघि एक खर्ब ४३ अर्ब मूल्य भएको कम्पनी जम्मा छ अर्बमा खरिद गर्ने सम्झौता गरिएको छ । तत्कालीन गिरिजाप्रसाद कोइरालाको पालामा दिनेश धमिजालाई जीएसए दिएबापत ४० करोड ५५ लाख रुपैयाँ घाटा भएको थियो भने यस पटक सो रकमको चार सय ८० गुणा ठूलो घोटाला गरिएको छ ।
हाल एनसेल काण्डमा यसअघिको लाभकर छलीमा ६२ अर्ब यस पटकको कारोबारमा १४३ अर्बको सम्पत्तिलाई छ अर्ब मूल्याङ्कन गरेर एक सय ३७ अर्ब रुपैयाँको कर घोटाला गरिएको छ । त्यस्तै सतिशलाल तिनै व्यक्ति हुन् जसले यसअघि स्मार्ट सेल नामक कम्पनीको ३० अर्ब बक्यौता र कर भुक्तानी नगरी भागेका थिए । राज्यकोषको कर नतिरी फरार भएका अभियुक्तले सो समेत जोड्दा प्रधानमन्त्री प्रचण्डको पालामा सतिशलाल र एनसेल गरी कुल दुई खर्ब २९ रुपैयाँ घोटालामा समावेश छ । सबै हिसाब गणना गर्दा स्व। गिरिजाप्रसाद कोइरालाले घटाएको धमिजा काण्डको तुलनामा वर्तमान प्रधानमन्त्री प्रचण्डले घटाएको एनसेल काण्ड चार सय ८० गुणा ठूलो भ्रष्टाचार हुनआएको छ ।
विश्लेषकहरूले यो घोटाला प्रधानमन्त्री प्रचण्ड एक्लै गरेको नभई सिंगो संसद्मा रहेका सबै दलको सहमतिमा घोटाला गरेको विश्लेषण गरेका छन् । एनसेलको मुख्य व्यक्ति सतिशलाल आचार्य र उनकी नेपाली पार्टनर भावनासिंह श्रेष्ठ, श्रीमान्–श्रीमती हुन् । उनीहरू पैसा भएका मान्छे होइनन् । कुनै समय सतिशलाल आचार्य सिंगारको रेमन्ड सोरूपमा साताको पाँच सय सिंगापुर डलर तलब पाउने गरी काम गर्दथे । उनका भाइ हाल काठमाडौंमा बसेर नेताहरूलाई पैसा सेटिङ मिलाउने काम गर्दछन् । आचार्यका भाइको काठमाडौं नर्सिङ होम भनेर खोलेका छन् । आचार्यका सहोदर भाइले ललितपुरको कर्मनासा खोला किनाराको सार्वजनिक जग्गा दर्ता गरेर अरुलाई बिक्री गरेको भनेर अख्तियारमा परेको मुद्दा उजुरी थियो ।
त्यसो त नेपालमा सञ्चालित सबैभन्दा महंगो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल स्थापना नै विवादै विवादका बीचमा भएको थियो । मेरो मोबाइलको नाममा स्पाइस नेपाल प्रालिले सेप्टेम्बर १७, २००५ बाट नेपालमा व्यावसायिक कारोबार सुरु गरेको थियो । तत्कालीन राजाका ज्वाइँ राजबहादुर सिंह र हेटौंडाका व्यापारी अजेयराज सुमार्गीले करोडौँ रुपैयाँको गोल्डेन सेयर लिएर स्पाइस नेपाललाई मोबाइल सेवा सञ्चालनको अनुमति पाएका थिए । त्यसका अर्का व्यक्ति निरज गोविन्द श्रेष्ठको साझेदारी थियो । राजबहादुर सिं र सुमार्गीले अर्बौँ रुपैयाँ लिएर २०१२ मा एनसेलबाट बाहिरिएका थिए । उतिबेला दरबारलाई मिलाउने काम सिंहले गरेका थिए भने माओवादीलाई मिलाउने काम सुमार्गीले गराएका थिए । भनिन्छ, वर्तमान प्रधानमन्त्री सुमार्गीको नयाँ बानेश्वरस्थित हेलो टावरमा साउनका बाथका लागि पुग्ने गर्दथे ।
सुरुवातदेखि नै विवादै विवाद, भ्रष्टाचार सेटिङमा चल्दै आएको एनसेलले हाल नेपाली जनतासँग सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमभन्दा ३० प्रतिशत महंगो शुल्क असुल्दै आइरहेको छ । वर्तमान प्रधानमन्त्री प्रचण्ड दुबई भ्रमणको मौका पारेर भएको एक्जिटा र सतिशलाल आचार्यबीचको डिललाई संयोगको रूपमा मात्रै लिन नसकिने चर्चा राजनीतिक र प्रशासनिक वृत्तमा चलिरहेको छ । आर्थीक दैनिकबाट
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल