Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गुमाउनु भन्दा पनि धेरै नयाँ कुरा सिक्ने मौका पाएको छु

रंगिन दुनियाँ अर्थात मोडलिङ क्षेत्रमा उदाउँदै गरेको नाम हो अनिशा न्यौपाने । ताप्लेजुङ, देउलिङ्गेकी स्थानीय वासिन्दा न्यौपाने यतिबेला झापा, बिर्तामोडमा बसेर आफ्नो उज्ज्वल भविष्य निर्माणका लागि अध्यायन र कलाकारिताको क्षेत्रमा संघर्ष गरिरहेकी छन् । सानै उमेरदेखि मोडल बन्ने सपना बोकेकी उनले यो क्षेत्रमा बिस्तारै आफ्नो परिचय बनाउदै छन् । एक वर्षअघिदेखि निरन्तर यस क्षेत्रमा लागिपरेकी मोडल अनिशा न्यौपाने अभिनित पछिल्लो भिडियो ‘गारो छ हौ मलाई’ले यतिबेला चर्चा बटुलिरहेको छ । मोडलिङलाई माध्यम बनाएर विस्तारै भविष्यमा फिचर्स फिल्मसम्मको गोरेटो कोर्दै गरेकी कुशल मोडल, कलाकार अनिशा न्यौपानेसँग गरेको कुराकानीः

० तपाई अभिनित पछिल्लो भिडियो ‘गाह्रो छ हो मलाई’ले राम्रैले भ्युज पायो यसमा के भन्नु हुन्छ ?
सर्वप्रथम मलाई ‘गाह्रो छ हो मलाई’ भिडियोमा अभिनय गर्न बोलाउनुहुने आदरणीय श्रीकृष्ण लुइटेलदाई ‘बोकदाह्री’, मिलन सुवेदी सर लगायत सम्पूर्ण युनिट प्रति एकदम आभारी छु । साथै सम्पूर्ण दर्शकको मायाप्रति कृतज्ञ छु ।

० यो भन्दा पहिले गर्नु भएको काम खासै चर्चा सुनिएन नि ?
सायद यो क्षेत्रमा नयाँ भएकाले काममा धेरै त्रुटी देखिए होलान् । दर्शकले आशा राखे अनुसारको काम नहुनाले खासै चर्चामा आएन ।

० यतिबेला मोडलिङ क्षेत्र कस्तो लागिरहेको छ ?
सानै देखिको आफ्नो रुचि भएकाले पनि होला रमाइलै लागिरहेको छ ।

० मोडलिङ क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
केही वर्षअघि ‘कला, संस्कृति तथा पर्यटन प्रतिष्ठान नेपाल’द्वारा आयोजित प्रथम विराट चलचित्र कार्यशाला विराटनगरमा तालिम लिन गएकी थिएँ । त्यहीँबाट मेरो मोडलिङ क्षेत्रमा प्रवेश भयो ।

० तपाईँलाई कस्तो गीतमा काम गर्न मनपर्छ ?
मलाई सबै गीतमा काम गर्न मनपर्छ । तर नृत्य अलि बढी मनपर्ने भएकाले नृत्य गर्न उपयुक्त गीतहरूमा काम गर्न रुचाउँछु ।

० यतिबेला चर्चामा हुनुहुन्छ के मोडलिङमा करिअर देख्नु हुन्छ ?
हजुर, इच्छा भने सानै देखिको हो । अब हेरौँ दर्शकहरूले कत्तिको रुचाउनुहुन्छ ।

० फिचर्स फिल्ममा अफर आए काम गर्नु हुन्छ ?
सुहाउदो बिषयवस्तु र राम्रो व्यानर भएमा अवश्य पनि गर्नेछु ।

० कला क्षेत्रको राम्रो र नराम्रो पक्ष के हो ?
यस क्षेत्रबाट हामीले हाम्रो कला प्रतिभाहरूलाई देखाएर एउटा राम्रो भविष्य बनाउन सक्छौं । तर अहिले यस क्षेत्रमा धेरै प्रतिस्पर्धा हुनाले मान्छेले नाम पाउन धेरै विकृति पनि फैलाइरहेका छन् ।

० मोफलमा बसेर कलाकारिता गर्न कत्तिको सहज छ ?
सहज छ भन्दा पनि आफूले सहज बनाउन सक्नुपर्छ । केही अप्ठ्यारा कुराहरू झेल्दै अघि बढेर काम र कलालाई निखार्दै जानुपर्छ । अलिअलि समस्या त आइहाल्छ नि ।

० मोडलिङमा लागेर के गुमाउनुभयो ?
मैले चाहिँ गुमाउनु भन्दा पनि धेरै नयाँ कुरा सिक्ने मौका पाएको छु ।

० राम्री हुनुहुन्छ, प्रेम प्रस्ताव कतिको आउँछ ?
अलिअलि आउँछ नै भनुम । त्यता भन्दा पनि आफ्नो पढाई र कामलाई महत्व दिने गरकी छु ।

० अन्तमा के भन्न चाहानु हुन्छ ?
अन्त्यमा के भन्न चाहन्छु भने हाम्रो गीत ‘गाह्रो छ हो मलाई’ सबैजनाले मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद । साथै मलाई यति धेरै हौसला दिने दाई, सरहरू प्रति पनि आभारी छु । मलाई मेरा कुरा, इच्छाहरू व्यक्त गर्ने मौका दिनुभएकोमा यहाँहरू सबैलाई मनैदेखि धन्यवाद दिन चाहन्छु । दर्शकहरूले पनि आगामी दिनहरूमा यसरी नै साथ, सहयोग, माया गरिदिनुहुन्छ भन्ने अपेक्षा राखेकी छु ।