Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चलचित्र होस्टेल ३ निर्माणको घोषणा

काठमाडौं । ११ वर्ष अघि निर्माण भएको चलचित्र होस्टेलको तेश्रो प्रिक्वेल चलचित्र होस्टेल ३ निर्माणको घोषणा गरिएको छ । यो चलचित्रको यसै साताबाट छायाँकन सुरुगरिने भएको छ । यो चलचित्रलाई निर्देशन सशान कँडेलले गर्दैछन् । बुधबार चलचित्रमा आर्यन सिग्देल र परीक्षा लिम्बुलाई अभिनेता अभिनेत्रीको रुपमा अनुबन्धित गरेपछि निर्माण पक्ष यतिबेला छायाँकनमा जान लागेको हो ।

यो चलचित्रमा आर्यन र परीक्षासँगै पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ लगायतका कलाकारहरूले अभिनय गर्दैछन् । आर्यन सिग्देल यो चलचित्रमा महत्त्वपूर्ण वार्डेनको भूमिकामा देखिने बताएका छन् । यसअघि आर्यन र परीक्षाले चलचित्र पुजार सार्कीमा सँगै काम गरेका थिए।

यो चलचित्रको कार्यकारी निर्माता शङ्कर कोइराला, निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुन् । होस्टेल ३ को स्क्रिप्ट माधव शर्माले लेखेका हुन् । यसको कथा निर्देशक कँडेलकै हो। यसलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्दै छ ।

होस्टेल ३ आगामी १६ फागुनबाट विश्वभर एकसाथ रिलिज हुने तयारीमा छ । बुधवार नै जापान, मध्यपूर्व र मलेसियाका लागि चलचित्रको वितरण अधिकार बिक्री भइसकेको निर्देशक कँडेलले जनाएका छन् । यसलाई जापानका लागि यूएनए इन्टरटेन्मेन्टका उज्ज्वल गुरागाईँले वितरण अधिकार लिएका छन् भने मध्यपूर्व र मलेसियाका लागि आशिष पुरुषले वितरण अधिकार लिएका छन् ।