Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । चीनले नेपाल सरकारसमक्ष चासो र दबाब व्यक्त गरेपछि आगामी भदौमा काठमाडौंमा हुने तिब्बतसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा दलाई लामाको निर्वासित सरकारले औपचारिक रूपमा आफ्ना प्रतिनिधि नपठाउने निर्णय गरेको छ।
भारतको धर्मशालास्थित केन्द्रीय तिब्बती प्रशासन (सीटीए) ले भदौ ७ देखि १३ गते (अगस्ट २३–२९) सम्म काठमाडौंमा आयोजना हुने इन्टरनेसनल एसोसिएसन फर टिबेटन स्टडिज (आईएटीएस) को १७औँ अन्तर्राष्ट्रिय सम्मेलनमा संस्थागत सहभागिता नजनाउने निर्णय गरेको सुरक्षा स्रोतले जनाएको छ।
यसअघि सीटीएले आफ्नो थिङ्क ट्याङ्क तिब्बत नीति संस्थान (टीपीआई) मार्फत निर्देशक दावा छिरिङको नेतृत्वमा पाँच सदस्यीय टोली सम्मेलनमा पठाउने तयारी गरेको थियो। टोलीमा अनुसन्धानकर्ता डा. छेवाङ दोर्जी, डा. छिरिङ डोल्मा, डा. कर्मा तेन्जिङ दलिया र डा. रिगमोन छिरिङ सामदुक सहभागी हुने योजना थियो।
तर, सम्मेलनको प्रारम्भिक सहभागी सूचीमा तीमध्ये केहीको नाम नरहेको र अन्य केही प्रतिनिधिको नाम समावेश भएको आयोजक स्रोतले जनाएको छ। सूचीमा सीटीएसँग सम्बन्धित एक प्रतिनिधिको नाम भने रहेको बताइएको छ।
सुरक्षा स्रोतका अनुसार काठमाडौंस्थित चिनियाँ राजदूत चाङ माओमिङले परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेट गरी सम्मेलनमा निर्वासित तिब्बतीहरूको सहभागिताबाट चीनविरोधी अभिव्यक्ति आउन सक्ने चिन्ता व्यक्त गरेका थिए। त्यसपछि सीटीएले नेपाल सरकारलाई असहज नपर्ने गरी औपचारिक प्रतिनिधिमण्डल नपठाउने निर्णय गरेको हो।
एक सुरक्षा अधिकारीका अनुसार राजदूत चाङले सम्मेलन रोक्न प्रत्यक्ष आग्रह नगरे पनि यसबाट चीनविरोधी गतिविधि हुन सक्ने विषयमा चासो व्यक्त गरेका थिए। त्यसपछि सम्मेलन सफल बनाउन र नेपालमाथि अनावश्यक कूटनीतिक दबाब नपरोस् भन्ने उद्देश्यले सीटीएले आफ्नो निर्णय परिवर्तन गरेको जनाइएको छ।
यद्यपि, सीटीएले औपचारिक सहभागिता नजनाए पनि व्यक्तिगत रूपमा दर्ता गरिसकेका तिब्बती अनुसन्धानकर्ता तथा विज्ञहरूले सम्मेलनमा सहभागी हुन सक्ने जनाएको छ। सुरक्षा स्रोतका अनुसार साउन ६ गते धर्मशालामा बसेको सीटीएको बैठकले नेपालको विदेश नीतिप्रति सम्मान जनाउँदै संस्थागत सहभागिता नगर्ने निर्णय गरेको हो।
नेपालमा पहिलो पटक आयोजना हुन लागेको आईएटीएसको यो १७औँ सम्मेलन तिब्बत अध्ययन क्षेत्रकै प्रतिष्ठित अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रम मानिन्छ। यसअघि एसियामा जापान (१९८९) र मंगोलिया (२०१३) मा सम्मेलन आयोजना भइसकेको थियो।
काठमाडौं विश्वविद्यालयअन्तर्गतको हिमालयन सेन्टर फर एसियन स्टडिज (हि–कास) र सेन्टर फर बुद्धिस्ट स्टडिज–राङजुङ येशे इन्स्टिच्युट स्थानीय सहआयोजक रहेका छन्। सम्मेलनका संयोजक डा. सागर शर्मा र थोमस डक्टरका अनुसार सम्पूर्ण तयारी सरकार तथा सुरक्षा निकायसँगको समन्वयमा भइरहेको छ।
संयोजक शर्माले सम्मेलन पूर्ण रूपमा प्राज्ञिक प्रकृतिको भएकाले कुनै विवाद सिर्जना नहुने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार काठमाडौं विश्वविद्यालयले सरकारी निकायसँग समन्वय गरेर सबै तयारी अघि बढाइरहेको छ।
आयोजकका अनुसार सम्मेलनमा ३९ देशका ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। सबैभन्दा धेरै करिब १५० प्रतिनिधि अमेरिकाबाट आउनेछन् भने चीनबाट पनि करिब १०० जना अनुसन्धानकर्ता तथा विज्ञहरूको सहभागिता रहनेछ।
सम्मेलनमा चीनका ल्हासा, सिचुवान, छिङ्ह्वा र पेकिङ विश्वविद्यालयका साथै अमेरिकाका हार्वर्ड र कोलम्बिया तथा बेलायतका अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताहरू सहभागी हुनेछन्। त्यस्तै, चाइना टिबेटोलोजी रिसर्च सेन्टर तथा भारत, ताइवान र जापानका बौद्ध संस्थाका प्रतिनिधिहरूले पनि सहभागिता जनाउने कार्यक्रम छ।
भदौ ७ गते काठमाडौं विश्वविद्यालयको धुलिखेल परिसरमा उद्घाटन हुने सम्मेलनका करिब ७० वटा विषयगत सत्र सोल्टी होटलमा सञ्चालन हुनेछन्।
तिब्बतसम्बन्धी अध्ययन, अनुसन्धान र अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको आईएटीएस विश्वभरका अनुसन्धानकर्ता, इतिहासकार, भाषाविद्, धर्मविद् र सामाजिक वैज्ञानिकहरूको साझा मञ्च हो। चीनले भने तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा निर्वासित तिब्बती प्रशासन वा दलाई लामासम्बद्ध राजनीतिक गतिविधि जोडिएमा त्यसलाई आफ्नो सार्वभौमिकतासँग जोडिएको संवेदनशील विषयका रूपमा हेर्दै आएको छ।
२०८३ श्रावण ११
ताजा नेपाल
२०८३ श्रावण ११
ताजा नेपाल
२०८३ श्रावण ११
ताजा नेपाल