Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चेम्बरले दियो यस्तो सुझाव

काठमाडौं । मुलुक लकडाउन र कोरोना कहरका कारण ठप्प रहेको र अर्थतन्त्र धरासायी बन्न लागेको बेला नेपाल चेम्बर अफ कमर्शले आगामी आर्थिक वर्षको बजेटमार्फत नेपाललाई आत्मनिर्भर बनाउन योजनाबद्ध कार्यक्रम ल्याउनुपर्ने र कोरोनाका कारण अर्थतन्त्रमा परेको असरलाई कम गर्दै पुनरुत्थानमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएको छ । चेम्बरका उपाध्यक्ष कमलेशकुमार अग्रवालले आज राजश्व सचिव रामशरण पुडासैनीलाई एक सुझावपत्र बुझाउँदै कोरोना असर कम गरी मुलुकको समग्र अर्थतन्त्रलाई पुरानै गतिमा लैजान आग्रह गरेका हुन् । कोरोनाका कारण वैदेशिक रोजगारीमा गएकामध्ये कति घर फर्किएलान् र फर्किए तथा तीनलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय आफैँमा चुनौतीपूर्ण रहेको भन्दै चेम्बरले आर्थिक क्षेत्रमा यसको सिधा असर बैंकमा तरलता अभाव र विदेशी विनियम सञ्चितिमा पर्ने देखिएको जनाएको छ ।
चेम्बरको सुझावमा निर्यात व्यापारलाई मूल्य अभिवृद्धिका आधारमा निर्यात अनुदान दिने नीति अपनाउनुपर्ने, ३० प्रतिशतसम्मको भ्याल्यू अडिसनमा पाँच प्रतिशतका नगद अनुदान दिनुपर्ने उल्लेख गरिएको छ । राष्ट्र बैंकको पुनःकर्जालाई अधिकतम वृद्धि गरी प्रभावित क्षेत्रको अवस्थाका आधारमा सबै प्रकारका साना घरेलु, मझौला तथा ठूला उद्योगलगायत निर्यात तथा अन्य व्यावसायिक क्षेत्रलाई समेत दीर्घकालीन कर्जा उपलब्ध गराउनुपर्ने र प्याकेजको आकार कूल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशतभन्दा कम हुन नहुने जनाएको छ ।
रुग्ण भएका ऊर्जाका आयोजनालाई पुनरुत्थान गर्न पाँच प्रतिशत ब्याजदरमा ऋण सुविधा उपलब्ध गर्नुपर्ने, आन्तरिक पर्यटनतर्फ कोरोनाको प्रभाव कम हुनेबित्तिकै अघि बढाउनु आवश्यक रहेकाले सरकारले अनिवार्यरुपमा वर्षको एकपटक निजामती तथा सङ्गठित संस्थाका कर्मचारी र आमनागरिकलाई प्रोत्साहन प्याकेजसहित आन्तरिक भ्रमणका लागि प्रेरित गर्न सुझाव दिइएको छ ।