Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चैत २९ गते एफएनसीसीआईको निर्वाचन

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले साधारण सभा चैत २८ र २९ गते निर्णय गरेको छ । आइतवार महासङ्घको कार्यालय टेकुमा बसेको कार्यसमिति बैठकले साधारण सभाको मिति घोषणा गरेको हो । कार्यसमितिले महासङ्घको साधारण सभा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने निर्णय गरेको छ । कार्यसमितिले प्रदेशको निर्वाचनका लागि पत्र पठाइसकेको जनाउँदै निर्वाचन नभएमा फेरि पदाधिकारी बसेर कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्ने सहमति गरेको छ । प्रदेशको निर्वाचन नभएकाले केन्द्रको निर्वाचन नगराउन भन्दै महासङ्घमा केही दिनअघि उजुरी परेको थियो । महासङ्घको विधानमा केन्द्रको निर्वाचन गर्नु दुई महिनाअघि प्रदेशको निर्वाचन हुनुपर्ने प्रावधान छ ।
यो निर्णयसँगै महासङ्घकी अध्यक्ष भवानी राणाले सबै कार्यसमिति सदस्यलाई आइतवार आफ्नै घरमा रात्रिभोजमा डाकेकी छिन् । उनले आफ्नो कार्यकालमा सहयोग गरेको भन्दै ‘फेयरवेल डिनर’ राखेकी हुन् । यो साधारण सभाबाट नयाँ नेतृत्व चयन हुने भएकाले चुनाबी चहल–पहल केही महिना अघिदेखि नै सुरु भइसकेको छ । योसँगै औपचारिक रूपमा निर्वाचनको माहोललाई तताएको छ । यो साधारण सभामा वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी, कार्यसमिति सदस्यहरूको निर्वाचन हुनेछ ।
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ, त्यसैले अध्यक्षमा निर्वाचन हुने छैन । वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा चैत मसान्तपछि स्वतः अध्यक्ष हुने छन् । तर वरिष्ठ उपाध्यक्ष, जिल्ला–नगर उपाध्यक्ष, एसोसिएट उपाध्यक्ष र वस्तुगत उपाध्यक्षसहित कार्यसमिति सदस्यमा निर्वाचन हुनेछ । यो पदका लागि एफएनसीसीआईमा दुई खेमा बनिसकेको छ । वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहितको एउटा प्यानल निर्वाचनमा होमिँदैछ भने अर्कोतर्फ किशोर प्रधानसहितको प्यानल नै बनिसकेको छ ।
ढकालले बुधवार आफ्नो उम्मेदवारीको घोषणा गर्ने छन् । अहिलेसम्म ढकाल पक्षबाट जिल्ला–नगर उपाध्यक्षमा गुणनिधि तिवारी र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ उठ्दैछन् भने प्रधान पक्षबाट जिल्ला–नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ उठ्दैछन् । दुवैतर्फ एसोसिएट उपाध्यक्षमा भने नाम तय भएको छैन । प्रधान समूहबाट उठ्ने भनिएका सौरभ ज्योतिसमेत विराटनगरमा भएको घोषणा सभामा गएनन् । ढकाल समूहले पनि एसोसिएट उपाध्यक्षका लागि उपयुक्त पात्रको खोजी गरिरहेको छ । साधारण सभाको मिति घोषणा नहुँदै निर्वाचनले तातेको महासङ्घको राजनीतिलाई अब थप रापिलो बनाउने छ ।दुवै पक्षले जिल्ला–नगर, एसोसिएट र वस्तुगत आफ्नो पक्षमा पार्न दौडादौड गरिरहेका छन् । जिल्ला–नगर आफ्नो पक्षमा पार्न मेला महोत्सवलगायतका कार्यक्रममा समेत दुवै वरिष्ठ उपाध्यक्ष पुग्ने गरेका छन् । एसोसिएट आफ्नो पक्षमा पार्न दुवैतर्फबाट प्रोक्सी सङ्कलन गरिरहेका छन् । दुवैतर्फले प्रोक्सी आफ्नो पक्षमा धेरै भएको भन्दै एसोसिएटको पल्लाभारी भएको दाबी गरिरहेका छन् ।
महासङ्घका तीनखालका सदस्य छन् । एउटा जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घ, दोस्रो वस्तुगत सङ्घ र तेस्रो एसोसिएट सदस्य । महासङ्घको ७७ जिल्लाको १०५ जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घ छन् र यी सदस्यको मतको भार कुलमा ५० प्रतिशत छ । वस्तुगतमा एक सय तीन सदस्य छन्, उनीहरूको मतभार २० प्रतिशत र एसोसिएटमा ९ सय ३२ सदस्य छन्, उनीहरूको मतभार ३० प्रतिशत छ । जिल्ला–नगरमा जसको पल्लाभारी छ, त्यसलाई चुनाव पनि जित्न सजिलो हुन्छ । त्यसै कारण अहिले वरिष्ठका दुवै उम्मेदवारले जिल्ला–नगरमा ध्यान धेरै केन्द्रित गरेका छन् ।


सम्बन्धित समाचार