Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोरलाई चौतारो छ हजुर यहाँ

सरकारले इमान्दारीता दर्शाएकै छैन । प्रधानमन्त्रीले भ्रष्ट मन्त्रीहरूबाट कस्तो समृद्धि र विकास खोजेका छन् कसैले बुझ्दैन । कम्युनिष्ट पार्टीको नाउमा हाकाहाकी राज्यकोष लुट्ने यस्तो अवसर नेपालको इतिहासले कहिल्यै सहेको थिएन । नेपाली काँग्रेस जस्तो भष्मासुर हिजो अरु थिएनन् आज नेकपाका नेताहरू भए । यही बेला राष्ट्रिय गौरवको मेलम्ची खानेपानी परियोजनाको अधुरो काम शुरु गरेको सरकारले छ महिनामा काम सकेर काठमाडौं झारेको खण्डमा १० प्रतिशत बोनस दिने घोषणा गरेको छ । मेलम्चीबाट सूर्य कँडेललाई हटाएर तिरेश खत्री लगियो । खत्री झन् लुटाहा हुन् । उनले पिआइडीमा बसेर गरेको ब्रम्हलुटको अख्तियारमा उजुरी परेको छ ।

उनी आफूलाई मेलम्चीमा जबर्जस्ती पठाइएको बताइरहेका छन् । अख्तियारले मेलम्चीमा खुला भ्रष्टाचार गर्ने घनश्याम भट्टराई, पूर्व खानेपानी सचिव गजेन्द्र ठाकुर जस्ता भष्मासुरहरूलाई छुँदैन । प्रधानमन्त्रीका प्यारा भट्टराईको लुट मेलम्चीमा ठूलो थियो । आफ्नो लुटलाई स्थापित गर्न यिनै भट्टराईले हो इटालियन ठेकेदारलाई खेदेको पनि । त्यहाँ गजेन्द्र ठाकुर (जसको सम्पत्ति नेपालमा छैन, दोहो¥याएर खानेपानी मन्त्रालय आएका थिए) हुन् । आयोजना कार्यान्वयन निर्देनालयका तिरेश खत्री अर्का भष्मासुर थिए । जसले ओभरस्टेबाट धेरैकाम गराएका थिए । मेलम्चीको नाउँमा राजनीति धेरै भयो । अब जनता नठग । यहाँ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल जोडिएका छन् ।

प्रधानमन्त्री केपी ओली बोलिदिन्छन् उनका अनुचरहरूको प्रवृत्तितर्फ सोच्दैनन् । यिनले सोचेका भए नालायक भ्रष्ट मन्त्रीहरूको मनपरी चम्केर पार्टीकै बदनाम हुने थिएन । मेलम्चीको सुरुङ फिनिसिङमा ७५ करोड हेडवक्स ९० करोड ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रोले लिएको हो । जहाँ ८ सय मिटर ढलान बाँकी छ । ४ सय मिटर फिनिसिङ गर्नुछ । मेलम्चीको अवरोध मजदुरको ज्याला र ठेकेदारको भुक्तानी हो । पहिले मात्तेको सरकार नुघेर जनताका अगाडि लत्रियो । अहंकार र घमण्डले गर्ने दिन गए । कथित दुई तिहाईको इज्जत मन्त्रीहरूले ध्वस्त बनाएको कुरामा नेकपा गम्भीर बने हुन्छ । नेताले जनतालाई ढाँटेर राज्य लुट्नेको साथमा अब जनता आउँदैनन् । मेलम्चीको काम शुरु भएको २४ वर्ष भयो । एउटा आयोजना २४ वर्ष लगाउँदा समेत बन्दैन भने समृद्धि र विकास केबल खोक्रो भाषण हुन्छ । अझै पनि त्यो मेलम्चीमा ठग ठेकेदार शैलुङ कन्स्ट्रक्सन प्रवेश गरेकोले समयमा काम नहुने पक्का छ । किनकि शैलुङले ठेक्का लिएको चावहलि सुन्दरीजल सडक ४ वर्षसम्म नबन्दा यो शंका उब्जेको हो । तर खानेपानी मन्त्रालयका सचिवको इमान्दारिता नै अहिले जे जति काम भएका छन् त्यसले निरन्तरता पाउँछ कि पाउँदैन हेर्ने त्यही हो ।

मेलम्चीमा आन्तरिक स्थिति भद्रगोल
दोस्रो खण्डको निर्माण अघि नबढ्दै मेलम्ची आयोजनामा राजनीति घुसेको छ । आयोजनाको प्रवेश मार्गका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएलगत्तै स्थानीय नेताहरूले चलखेल गर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालयले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विभिन्न वडाहरूमा प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने ३७६ कित्ता जग्गा र सो जग्गामा पर्ने बोटबिरुवा, बालीनाली, गोठ–टहराको मुआब्जा वितरण गर्न सूचना निकालेको थियो । तर धेरै स्थानीयहरू मुआब्जा बुझ्न आएका छैनन् । विभिन्न कारणले अहिलेसम्म मुआब्जा वितरण गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन् । ‘स्थानीय नेताहरूले नै मुआब्जा नबुझ्न भन्नुभएको सुनिन्छ’, उनले भनिन्– ‘कतिपय स्थानीयबासी मुआब्जा बुझ्न तयार नै छन् तर स्थानीय सरोकार समितिले रोक लगाएको सुनेका छौँ ।’

मुआब्जालगायतका विषयमा असन्तुष्टि जनाएर प्रभावित बासिन्दाले प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । तर प्रमुख जिल्ला अधिकारी चेम्जोङले आफूले नै जग्गाको मूल्याङ्कन गरेकाले यसमा पुनरावलोकन गर्न नसक्ने बताइन् । ‘चित्त नबुझे मन्त्रालयमा जानुस् भनेका छौँ’, उनले भनिन्– ‘अहिलेसम्म सरकारले जग्गाको मूल्य तोकेपछि पुनरावलोकन भएको रेकर्ड छ जस्तो मलाई लाग्दैन ।’
नेताहरूले अहिले नै मुआब्जा बुझे सामाजिक बहिस्कार खेप्नुपर्ने धम्की दिएको नाम नबताउने सर्तमा एक स्थानीयले बताए । मुआब्जा चित्तबुझ्दो नभए पनि आर्थिक समस्यामा परेकाहरूलाई लिन रोक्न नहुने उनको भनाइ छ । ‘सरकारले जग्गाको मोल त राम्रो दिएको छैन तर म पैसाका कारण समस्यामा छु’, उनले भने– ‘बुझ्न जाउँ भने गाउँमा गाली खाइन्छ भनेर हात बाँधेर बस्नुपरेको छ ।’

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जेठ ३२ सूचना जारी गरेर तोकिएका कित्ताका जग्गाधनीलाई १५ दिनभित्र मुआब्जा बुझ्न भन्दै सूचना जारी गरेको थियो । यो आयोजना निर्माण गर्दा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको वडा नम्बर १ मा सबैभन्दा धेरै १५२ कित्ता जग्गा अधिग्रहण गर्नुपर्ने छ । वडा नम्बर २ मा ५५, ४ मा ४४, ८ मा ३६, ९ मा ६ र वडा नम्बर ६ मा ४ कित्ता जग्गा अधिग्रहण गर्न लागिएको छ । आयोजनाको सुरुङ प्रवेश मार्ग, हेडवक्र्स, क्याम्स पाइसट, माटो थुपार्ने ठाउँलगायतका लागि जग्गा अधिग्रहण गर्न लागिएको हो ।आयोजनाको प्रवेश मार्ग निर्माण गर्न जग्गा अधिग्रहणका लागि यो वर्ष १५ करोड रूपैयाँ छुट्ट्याइएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । करिब ९.५ किलोमिटर सडक निर्माणका लागि जग्गा अधिग्रहण गर्न लागिएको हो । आयोजनाको हेडवक्र्सलगायतका संरचना सरकारी जमिनमै पर्छन् । ‘३८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ, यो जति छिटो टुङ्गिएर बाटो बन्छ, त्यसैअनुरूप निर्माणको काम अघि बढ्छ’– प्रवक्ता पन्त भन्छन् ।

यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । परामर्शदाता कम्पनी इप्टिसाले सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खोलाको पानी मेलम्चीमा मिसाउने गरी बनाएको डीपीआर मेलम्ची खानेपानी विकास समितिलाई दिएको हो । यो योजना पूरा भए मेलम्चीबाट अहिले ल्याउन लागिएको पानी तेब्बर क्षमतामा विस्तार हुनेछ । मेलम्चीको पानीमा अरू दुई खोलाको पानी पनि मिसाउने गरी मेलम्ची– २ को डीपीआर तयार भएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को प्रतिवेदन पनि तयार भएर सार्वजनिक सुनुवाइलगायतका काम भइरहेको छ । अब प्रभावित क्षेत्रमा स्थानीय तहले वातावरणीय प्रभावबारे टिप्पणी दिएपछि ईआईए प्रतिवेदन फाइनल हुनेछ । जग्गा अधिग्रहण, डीपीआर तथा ईआईए प्रतिवेदनको स्वीकृति, वित्तीय स्रोत व्यवस्थापन लगाययतका प्रक्रिया सकेर मेलम्चीको दोस्रो परियोजनामा काम थाल्न टेन्डरमा जाने योजना छ ।

पहिलो चरणमा मेलम्ची आयोजनाले दैनिक १७ करोड लिटर पानी काठमाडौँमा झार्ने छ । मेलम्चीको दोस्रो परियोजना तयार भएपछि भने त्यसलाई ५१ करोड लिटरमा पु¥याउने योजना छ । यो योजनाअनुरूप मेलम्ची आयोजनामा याङ्ग्री र लार्के खोलाको पानी मिसाएर राजधानी ल्याइने छ । पहिलो चरणमा आउने १७ करोड लिटरले काठमाडौँको पूरा माग थेग्न नसक्ने भएपछि सरकारले मेलम्चीका दुई खोलाको पानी पनि थपेर काठमाडौँ ल्याउन लागेको हो । यसका लागि झन्डै तीन सय मिलियन अमेरिकी डलर अर्थात् झन्डै ३० अर्ब रूपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ । एसियाली विकास बैङ्क (एडीबी) पनि मेलम्चीको नयाँ प्रोजेक्टमा लगानी गर्न तयार भइसकेको छ ।

सरकारले पनि मेलम्चीमा थप लगानी गरेर काठमाडौँमा थप पानी ल्याउने घोषणा बजेट र नीति तथा कार्यक्रमबाटै गरिसकेको छ । अब पहिलो चरणमा १७ करोड लिटर पानी आएपछि दोस्रो चरणमा ३४ करोड लिटर पानी थपिने छ । काठमाडौँमा दीर्घकालीनरूपमा पानीको माग व्यवस्थापन गर्न दुई खोलाको पानी मिसाउन लागिएको हो । मेलम्चीसँगै यी दुई खोलाको पानी आएपछि राजधानीमा दैनिक ५१ करोड लिटर पानी भित्रिने छ । यसले काठमाडौँमा दीर्घकालीनरूपमा खानेपानीको अभाव पूरा हुने विश्वास छ ।

मेलम्चीमा याङ्ग्री र लार्केको पानी मिसाउन ११ किलोमिटरको सुरुङ खन्नुपर्ने छ । झन्डै १२ किलोमिटरको दूरीमा रहेका यी खोलाको पानी मिसिएपछि मेलम्ची आयोजना थप समृद्ध हुनेछ । यो आयोजनामा काम सुरु भएपछि चार वर्षभित्र सुरुङको काम सकिने अनुमान गरिएको छ । मेलम्ची आयोजनामार्फत् आएको पानीको वितरण काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गर्ने छ । मेलम्चीको पानी काठमाडौँ आएपछि काठमाडौँमा पानीको माग व्यवस्थापन सहज हुने आयोजनाका अधिकारीहरू बताउँछन् । योजनाअनुरूप थप ३४ करोड लिटर पानी काठमाडौँ आएपछि यहाँ पानीको अभाव हट्ने विश्वास गरिएको छ ।


सम्बन्धित समाचार

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

२०८१ आश्विन ६

ताजा नेपाल