Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनआस्थाबाट अडिओ र बैंक स्टेटमेन्ट लिइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारसँग सम्बन्धित विवादमा छानबिन तीव्र बनाएको छ। यसक्रममा पार्टीको अनुशासन आयोगको टोलीले जनआस्था साप्ताहिकको कार्यालयबाट विवादित अडिओको सक्कल प्रति र बैंक स्टेटमेन्टलगायतका सामग्री प्राप्त गरेको छ।

जनआस्था साप्ताहिकले पहिलोपटक सार्वजनिक गरेको सुनार र एक महिलाबीचको भनिएको फोन संवादको अडिओ छानबिनका लागि आयोगको टोलीले आज कार्यालयमै पुगेर लिएको हो। उक्त अडिओमा महिलालाई अश्लील गालीगलौज गर्नुका साथै ज्यान मार्ने धम्की दिइएको सुनिन्छ। सुनारले भने अडिओ कृत्रिम बुद्धिमत्ता (एआई) वा क्यारिकेचरको प्रयोगबाट तयार पारिएको हुन सक्ने बताएका थिए।

विवादबारे छानबिन गर्न रास्वपाले पार्टीको अनुशासन आयोगलाई जिम्मेवारी दिएको छ। आयोगका प्रमुख लेखनाथ पौडेलसहित तीन सदस्य जनआस्थाको कार्यालय पुगेका थिए। जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठले नेपाल प्रेससँग कुरा गर्दै आफूहरूले आफूसँग रहेका प्रमाण आयोगलाई बुझाएको जानकारी दिएका छन्।

श्रेष्ठका अनुसार आयोगका पदाधिकारीहरूले निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाएका थिए। छलफलका क्रममा रास्वपाका पदाधिकारीहरूले अडिओ सुनारकै भएको विषयमा आफूहरू व्यक्तिगत रूपमा आश्वस्त रहेको बताएका थिए। तर, औपचारिक कारबाही अघि बढाउन आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने भएकाले छानबिन गर्न लागिएको उनीहरूको भनाइ थियो।

जनआस्थाले सुनारको भनिएको ८० पृष्ठको बैंक स्टेटमेन्ट पनि आयोगको टोलीलाई उपलब्ध गराएको छ। प्रधानसम्पादक श्रेष्ठका अनुसार सुनारका आठवटा बैंकमा खाता रहेको र ती खातामा भएका कारोबार शंकास्पद देखिएको दाबी गरिएको छ।

अडिओको वास्तविकता, बैंक खातामा भएका कारोबार तथा अन्य आरोपबारे भने सम्बन्धित निकायको छानबिनबाट पुष्टि हुन बाँकी छ।