Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनकपुर–अयोध्या रेलको टिकट बुकिङ खुल्यो, चार श्रेणीमा भाडा निर्धारण

काठमाडौं । जनकपुरधाम र भारतको अयोध्यालाई जोड्ने सरयू–कमला एक्सप्रेस रेल सेवाको टिकट बुकिङ खुला भएको छ। भारतीय रेल्वेले आगामी शनिबारदेखि व्यावसायिक सञ्चालन गर्ने तयारीसहित टिकट बिक्री सुरु गरेको हो।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत सोमबार भर्चुअल माध्यमबाट हरियो झण्डा देखाएर रेल सेवाको शुभारम्भ गरेका थिए। सातामा एक दिन सञ्चालन हुने रेल प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गर्नेछ भने सोमबार अयोध्याबाट जनकपुरधाम फर्किनेछ।

करिब ६०४ किलोमिटर दूरी तय गर्ने यस रेल सेवाले नेपालको जनकपुरधामसँगै भारतको उत्तर प्रदेश र बिहारका विभिन्न सहरलाई रेलमार्गबाट जोड्नेछ। भारतीय रेल्वेका अनुसार रेलले उत्तर प्रदेशका मनकापुर, बस्ती र गोरखपुर तथा बिहारका नरकटियागञ्ज, रक्सौल, सीतामढी, शीशो, मधुबनी र जयनगर स्टेसनमा समेत रोक्नेछ।

भारतीय रेल्वेले सरयू–कमला एक्सप्रेसलाई पूर्णतः आरक्षित रेल सेवाका रूपमा सञ्चालन गर्ने जनाएको छ। कन्फर्म टिकट भएका यात्रुले मात्र यात्रा गर्न पाउनेछन्। यसमा आरएसी सुविधा नहुने भएकाले प्रतीक्षा सूचीमा रहेका यात्रुले यात्रा गर्न पाउने छैनन्।

रेलमा सामान्य कोटाअन्तर्गत मात्र टिकट बुकिङ गर्न सकिनेछ। तत्काल, प्रिमियम तत्काल, ज्येष्ठ नागरिक, महिला तथा आकस्मिक कोटाको सुविधा उपलब्ध हुने छैन। कुल आरक्षित सिटमध्ये ७० प्रतिशत एन्ड टु एन्ड र ३० प्रतिशत रोडसाइड कोटाका लागि छुट्याइएको छ।

यात्रुहरूले अधिकतम ६० दिनअघिसम्म अग्रिम टिकट बुकिङ गर्न सक्नेछन्। टिकट काट्दा नाम, उमेर, लिङ्ग, राष्ट्रियता र परिचयपत्रसम्बन्धी विवरण अनिवार्य उपलब्ध गराउनुपर्नेछ। यस रेलमा नेपाली र भारतीय नागरिकले मात्र यात्रा गर्न पाउने व्यवस्था गरिएको छ। यात्राका क्रममा दुवै देशका नागरिकले वैध परिचयपत्र साथमा राख्नुपर्नेछ।

चार श्रेणीमा भाडादर

भारतीय रेल्वेले रेलका चार श्रेणीका लागि भाडादर निर्धारण गरेको छ। जसअनुसार शयनयान (स्लिपर) श्रेणीको टिकट ३६५ भारतीय रुपैयाँ, वातानुकूलित तृतीय इकोनोमी श्रेणीको ८८५ रुपैयाँ, वातानुकूलित तृतीय श्रेणीको ९६५ रुपैयाँ र वातानुकूलित द्वितीय श्रेणीको १ हजार ३६० भारतीय रुपैयाँ तोकिएको छ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार नेपाली यात्रुले भने नेपाली रुपैयाँमा टिकटको भाडा तिर्नुपर्नेछ। भारतीय रुपैयाँमा तोकिएको भाडालाई नेपाली रुपैयाँमा रूपान्तरण गरी भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ। उदाहरणका लागि, ३६५ भारतीय रुपैयाँ भाडा पर्ने स्लिपर श्रेणीका लागि नेपाली यात्रुले ५८४ रुपैयाँ तिर्नुपर्नेछ।

पराजुलीले नेपाली यात्रुबाट नेपाल रेल्वेले थप शुल्क नलिने स्पष्ट पारेका छन्। उनका अनुसार नेपाल रेल्वेले आफ्नो रेलमार्ग प्रयोग गरेबापत भारतीय रेल्वेबाट मासिक पाँच लाख रुपैयाँभन्दा बढी रकम प्राप्त गर्ने व्यवस्था रहेको छ।

यात्रुहरूले भारतीय रेल्वेको आईआरसीटीसी वेबसाइट तथा मोबाइल एप, आधिकारिक अनलाइन टिकटिङ एजेन्ट र नेपालमा उपलब्ध अधिकृत सेवा एजेन्टमार्फत टिकट बुकिङ गर्न सक्नेछन्। भारततर्फका यात्रुले देशभरका रेल्वे आरक्षण काउन्टर (पीआरएस) बाट समेत टिकट काट्न पाउनेछन्।

सामान र बालबालिकाको टिकटसम्बन्धी व्यवस्था

भारतीय रेल्वेले यात्रुले साथमा लैजान पाउने सामानको सीमा पनि निर्धारण गरेको छ। प्रत्येक यात्रुले अधिकतम दुईवटा सामान लैजान पाउनेछन्। निःशुल्क सामान बोक्न पाउने सीमा प्रथम वातानुकूलित श्रेणीमा ७० किलो, द्वितीय वातानुकूलित श्रेणीमा ५० किलो तथा तृतीय वातानुकूलित र शयनयान श्रेणीमा ४०–४० किलो तोकिएको छ।

तोकिएको सीमाभन्दा बढी सामान भएमा अतिरिक्त शुल्क लाग्नेछ। यस रेलमा पार्सल तथा मालसामान बुकिङ गर्न भने पाइने छैन।

बालबालिकाको टिकट र भाडा भारतीय रेल्वेका अन्य एक्सप्रेस रेलमा लागू नियमअनुसार हुनेछ। बालबालिकाका लागि छुट्टै बर्थ लिएमा वयस्कसरह भाडा लाग्नेछ भने बर्थ नलिएको अवस्थामा निर्धारित बाल भाडा लागू हुनेछ।

१७ डिब्बासहित सञ्चालन हुँदै

सरयू–कमला एक्सप्रेसमा कुल १७ वटा डिब्बा रहनेछन्। जसमध्ये शयनयान श्रेणीका सात, वातानुकूलित तृतीय इकोनोमी श्रेणीका तीन, वातानुकूलित तृतीय श्रेणीका तीन र वातानुकूलित द्वितीय श्रेणीका दुईवटा डिब्बा हुनेछन्। यसबाहेक दुईवटा एसएलआर डिब्बा पनि जडान गरिएका छन्।

भारतीय रेल्वेका अनुसार जनकपुरधाम रेल्वे स्टेसनबाट प्रसिद्ध जानकी मन्दिर करिब १.२५ किलोमिटर दूरीमा रहेको छ। स्टेसनबाट मन्दिरसम्म पुग्न ई–रिक्सा, साइकल रिक्सा, अटो, ट्याक्सी तथा निजी सवारीसाधन उपलब्ध हुनेछन्। यात्रुले पैदलै पनि मन्दिरसम्म पुग्न सक्नेछन्।

रेल सेवा सञ्चालनले जनकपुरधाम र अयोध्याबीच धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै रामायण सर्किटलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ। यसबाट तीर्थयात्री तथा पर्यटकको आवागमन सहज हुनुका साथै होटल, पर्यटन व्यवसाय, स्थानीय व्यापार र परम्परागत हस्तकलामा समेत सकारात्मक प्रभाव पर्ने भारतीय रेल्वेको विश्वास छ।

भारत र नेपालबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले सुरु गरिएको यस रेल सेवाले सीमावर्ती क्षेत्रका नागरिकलाई आवागमनको थप विकल्प उपलब्ध गराउनेछ। साथै, दुई देशबीचको पर्यटन, आर्थिक तथा सामाजिक सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।