Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जाँचै नदिई माथिल्लो कक्षा

काठमाडौं । सरकारले लकडाउन हटाएपछि कोभिड–१९ संक्रमितको संख्या बढेकाले त्रिभुवन विश्वविद्यालयले परीक्षा अनुकूल समयमा लिने गरी माथिल्लो तहका कक्षा सुरु गर्ने तयारी गरेको छ । यसअघि भदौ पहिलो सातादेखि लिने गरी परीक्षाहरू स्थगित भएका थिए । तर, संक्रमण बढ्दै गएकाले स्थिति सहज भएपछि मात्र ती परीक्षा सञ्चालन गर्ने गरी अनलाइनमार्फत माथिल्लो कक्षामा पठनपाठन सुरु गर्न लागिएको हो । अनुकूल समयमा परीक्षा लिने गरी पठनपाठन सुरु गर्ने तयारी गरेको त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले बताएका छन् । त्रिविका केही संकायले लकडाउन खुलेपछि सार्वजनिक गरेका परीक्षा तालिका स्थगित गरेका छन् ।परीक्षा तालिका सार्वजनिक गरेका र गर्ने तयारीमा रहेका कार्यालय र विद्यार्थी अन्योलमा परेका छन् । व्यवस्थापन संकायले संक्रमण बढेका कारण अर्को सूचना नहुँदासम्म परीक्षा स्थगित गरेको छ । धेरै विद्यार्थी संख्या रहेको त्रिभुवन विश्वविद्यालयले यसअघि सेमेस्टरको परीक्षासम्बन्धी निर्णय गर्ने अधिकार डिन कार्यालयलाई दिएको थियो । यस्तै, वार्षिक परीक्षाबारे निर्णय गर्ने अधिकार परीक्षा नियन्त्रण कार्यालयलाई दिइएको छ ।
त्रिविको इन्जिनियरिङ तथा कृषि र पशुविज्ञान अध्ययन संस्थानले ७ भदौदेखि परीक्षा सुरु गर्ने तालिका सार्वजनिक गरेका छन् । इन्जिनियरिङले ७ साउनमै निर्णय गरी स्नातकोत्तर तहको ७ भदौ र स्नातकको १५ भदौदेखि सुरु हुने परीक्षा तालिका सार्वजनिक गरेको छ । अन्य अध्ययन संस्थान पनि परीक्षा नियन्त्रण कार्यालयसँग परीक्षा केन्द्रको तालिका मिलाउन छलफलमा जुटेका थिए । तर, पछिल्लो समय संक्रमित संख्या बढेपछि विद्यार्थी र विश्वविद्यालय नै अन्योलमा छन् ।