Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जीबी राईको पत्रबारे सत्तापक्षको बैठकमा चर्चा

काठमाडौं । सत्ता साझेदार दलहरूबीच नेपाल प्रहरीको खोजी सूचीमा रहेका ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु राई ९जीबी० को नामबाट पठाइएको इमेलको चर्चा भएको छ । सरकारका सय दिनका कामहरूको मूल्याङ्कन र आगामी कार्यनीति तय गर्न शुक्रबार बालुवाटारमा बसेको बैठकमा जीबी राईको नामबाट विभिन्न सञ्चार माध्यमहरूमा पठाइएको इमेलबारे चर्चा भएको हो । बालुवाटारमा बसेको बैठकको सुरुमै पछिल्लो समय चर्चामा रहेको उक्त इमेलका बारेमा नेताहरूवीच चर्चा भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार बैठकमा इमेलबारे चर्चा भएपछि गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायलाई फोन गरेर जानकारी लिएका थिए । हामी सरकारका समय दिनको समीक्षा गर्न बालुवाटार बैठकका लागि गएका थियौँ । बैठकको सुरुमै त्यो जीबी राईले पठाएको भनिएको इमेलले चर्चा पायो, ती नेताले भने, अनि गृहमन्त्रीजीले पुलिसलाई फोन गर्नुभयो । उताको जवाफको आधारमा ब्रिफिङ पनि गर्नुभयो । ती नेताका अनुसार गृहमन्त्री लेखकले प्रहरीले दिएको जानकारी अनुसार बैठकमा सहभागी नेताहरूलाई जीबी राईले पठाएको भनिएको इमेलबारे विदेशबाट नै आएको बताएका थिए । प्रहरीले गृहमन्त्री लेखकलाई इमेल त विदेशबाटै आएको भनेको रहेछ । त्यही सुनाउनुभयो, ती नेताले भने, कुन देशबाट आएको हो भन्नेदेखि इमेलको आधिकारिकताबारे प्रहरीले अनुसन्धान गर्दै रहेछ । सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईले पठाएको भनिएको इमेल केही दिनअघि नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष किशोर श्रेष्ठले सार्वजनिक गरेका थिए । उनी अध्यक्ष रहेको ‘जनआस्था डटकम’ले इमलेलाई आधार बनाएर ‘रविसँगको सम्बन्ध र आफ्नो सुरक्षाबारे के भन्छन् जीबी ?’ शीर्षकमा कात्तिक ८ गते समाचार प्रकाशित गरेको थियो । उक्त समाचारको अन्त्यमा ‘इमेलबाट प्राप्त प्रस्तुत पत्रको वास्तविकताबारे प्रहरी र सम्बन्धित पक्षसँग बुझ्ने काम भइरहेको छ’ लेखिएको थियो । समाचार प्रकाशित भएपछि काउन्सिलका पूर्वअध्यक्ष श्रेष्ठको आलोचना चुलिएको छ । सामाजिक सञ्जालमा इमेल र जनआस्था डटकममा प्रकाशित समाचारको विषयमा आलोचना सुरु भएपछि श्रेष्ठले फेसबुकमार्फत जीबी राईका नामबाट प्राप्त इमेल नक्कली नभएको दाबी गरेका थिए । जीबीका नामबाट जनआस्थालाई आएको इमेल फेक, स्पाम नक्कली हैन । विदेशबाटै आएको प्रमाणित भइसक्यो । यसमा कुनै कैफियत छैन, उनले फेसबुकमा शुक्रबार लेखेका थिए, इमेलको आधिकारिकतामा कुनै शङ्का रहेन । त्यसमा उठाइएका कन्टेन्टबारे अब हामी विस्तृत अनुसन्धान गर्दैछौँ, ती कन्टेन्ट बयानका निम्ति नयाँ क्लु हुन् । श्रेष्ठले इमेलबारे विस्तृत विवरण सरकारका दुई निकायबाट बुझ्न सकिने भन्दै नेपाल प्रहरीको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्याल र नेपाल प्रहरीकै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी दीपक थापाको नामसमेत लेखेका थिए ।