Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ट्राफिकमा ठूलो संकट, सुरक्षाअंगमाथि सरकारको बेवास्ता

काठमाडौं । कोरोना कहरका बेला सडकमा अग्र मोर्चामा खटिने सुरक्षाकर्मीहरु धमाधम कोरोना संक्रमित हुन थालेका छन् । यतिखेर नेपाल प्रहरीको ट्राफिक महाशाखा सबैभन्दा बढी संक्रमित बनेको छ । सडकमा ट्राफिक बिना यातायातका सानहरुको नियन्त्रण सम्भव छैन । त्यही संस्था यतिबेला संक्रमणको चपेटामा परेको हो । हिजो आफ्नै चालक र सुरक्षा गार्डलाई कोरोना पोजेटिभ देखिएपछि एसएसपी भीम ढकाल कार्यालयमै क्वारेन्टाइनमा थन्किएका थिए । आज त्यही ठाउँमा अधिकांश ट्राफिक प्रहरी कोरोना संक्रमित हुँदा कार्यालय प्रमुख भीम ढकालले आगामी योजनाबारे के सोच्दै होलान् ?

किनकि यतिखेर थापाथलीमा, सोह्रखुट्टे, महारजगञ्ज, ठमेल, चक्रपथ, कालिमाटी, स्वयम्भु, गौशाला जस्ता जनघनत्व बढी भएका स्थानमा खटिएका ट्राफिक प्रहरीलाई धमाधम कोरोना देखिन थालेपछि भोलिका दिनमा सडक यातायात नियन्त्रण गर्न समेत ट्राफिक प्रहरी अपुग हुने स्थिति पैदा भएको छ । यो कुरा ट्राफिक महाशाखा प्रमुख भीम ढकाललाई दर्शाउँदा उनी स्वीकार गर्दैनन् किनकि उनीहरुको फौजी प्रवृत्तिअनुसार केन्द्रीय संगठनले दिएको आदेश स्वीकार्नु पर्छ । आफ्नो ठाउँमा आफ्नै संगठन परिचालन गर्ने हो । सुरक्षाअंगलाई सरकारले समेत हेपेको छ किनकि सडकमा रातदिन खटिने सुरक्षाकर्मीलाई आवश्यक सुरक्षा सामग्री मात्रै पाएका छैनन् सरकारले घोषणा गरेको भत्ता समेत पाउने स्थिति छैन । यसैगरी कोरोनासँगको भिडन्तमा खटिएका डाक्टर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवकका निम्ति असार १८ गते सरकारको मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार काम हुने हो भने सुरक्षा अंग र स्वास्थ्यकर्मीको निराशा घट्थ्यो । सरकार यतातिर ध्यान दिँदैन ।