Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डब्लुएचओको ६ भित्र पनि परेन रुसले बनाएको कोरोना भ्याक्सिन

एजेन्सी । रुसले आफूले निर्माण गरेको कोरोना भ्याक्सिनको विश्वसनियतामा गरिएको अन्तर्राष्ट्रिय शंका र चिन्ता ‘पूर्ण निराधार’ भन्दै खण्डन गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनापछि विश्वमै पहिलो पटक रूसले तयार पारेको कोरोना भाइरसविरूद्धको खोपको माग उच्च भइरहेका बेला त्यसमा गरिएको आशंकाको रूसले खण्डन गरेको हो ।
रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोनाविरुद्ध संसारको पहिलो खोप ‘स्पुतनिक भी’ सफल परीक्षण भएर मान्यता दिइएको उल्लेख गरेलगत्तै विश्वका विभिन्न मुलुकहरुले भ्याक्सिनको मागसमेत गरिसकेका छन् । रूसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त खोप रूसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीमासमेत प्रयोग गरिएको छ ।
पुटिनले खोपको सफल परीक्षण भइसकेको र कोरोनाविरुद्ध लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता पनि विकास गरेको उल्लेख गरेका छन् । उक्त खोप एडिनोभाइरससँग आधार भएर तयार गरिएको र खोपमा कोभिड १९ का मृत तत्व रहेको र यिनीहरु वृद्धि हुन नसक्‍ने गामालिया रिसर्च सेन्टरका प्रमुख एलेक्जेन्टर गिन्चबर्गले बताएका छन् । तर, विज्ञहरुले भने रूसको उक्त दाबीमाथि शंका गर्दै आइरहेका छन् । विशेषगरी जर्मनी, फ्रान्स, स्पेन र अमेरिकाका वैज्ञानिकहरुले रूसको दाबीप्रति शंका गर्दै सतर्क रहन भनेका छन् ।
बुधबार रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले रुसी समाचार एजेन्सी इन्टरफ्याक्ससँग भने, ‘यस्तो लाग्छ कि हाम्रा विदेशी साथीहरुले रुसी चिकित्सा प्रतिस्पर्धामा अगाडी बढ्न खोजेको आरोप लगाएका छन् र त्यसरी बुझेका छन्, जुन कुरा एकदमै निराधार हो ।’ उनका अनुसार अबको २ महिनामा चिकित्सकहरूमा पनि खोप लगाउन शुरू गरिनेछ । रुसी अधिकारीहरुका अनुसार अक्टोबरदेखि ठूलो संख्यामा खोप लगाउन सुरु गरिनेछ । तर, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भने क्लिनिकल टेस्टको तेस्रो चरणमा पुगेका भनेको ६ वटा खोपमा रूसले तयार पारेको भनेर दाबी गरेको खोप नपरेको बीबीसीले जनाएको छ ।