Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डमी ट्राफिकले कसको बाटो छेक्यो ?

काठमाडौं । सडकको नियम कानुन ट्राफिकका लागि मान्ने सवारी चालकहरुका लागि अघिल्लो नेतृत्वले सडकमा राखेको ट्राफिक जस्तै लाग्ने डमी ट्राफिक अहिले सडकबाट हटेका छन् । ट्राफिक नियम लागू गराउन सबैठाउँमा ट्राफिक पुग्न नभ्याएपछि व्यस्त चोकहरुमा चालकहरुलाई सतर्क बनाउन खडा गरिएको डमी ट्राफिकले कसको बाटो छेक्यो र अहिले सडकबाट उतारेर गोदाममा थन्क्याइयो ? एउटा सरकारले गरेको निर्णय अर्को सरकार बन्नासाथ उल्ट्याउने कामलाई बहादुरी ठानिन्छ । आवश्यकता र महत्वका कारण हुने निर्णहरु कार्यान्वयनमा जाँदा राज्यको करोडौं खर्च हुन्छ । तर त्यसको ख्याल नगरी राज्य सञ्चालकहरु अगाडि बढ्दा धेरै ठाउँमा स्थिति बिग्रेको पनि छ ।

कोरोना महामारीका बेला ट्राफिक प्रहरी प्रमुख थिए एसएसपी भीम ढकाल । उनकै पालामा यात्रु, गाडी चालक र सहचालकलाई माक्स अनिवार्य गराए, राजधानीका प्रमुख चोकहरुमा हुने सवारी दुर्घटना न्युनिकरण गर्न काठमाडौं महानगरपालिकाको प्रायोजनमा ५१ वटा डमी ट्राफिक उभ्याए । रातिको समयमा मादक पदार्थ सेवन गरी सवारी साधन कुदाउनेहरुलाई डमी ट्राफिकले सचेत गराएको त्यतिखेर चर्चा गरिन्थ्यो । तर अहिले जनक भट्टराई ट्राफिक प्रहरी प्रमुख बनाएर आउनासाथ ती डमीहरु गोदाममा थन्क्याइएका छन् । ट्राफिक प्रहरी प्रमुखको रुपमा हालका अख्तियार आयुक्त जयबहादुर चन्दले गाडी चालक र सहचालकलाई ड्रेस अनिवार्य गराए ।

उनको पालामा शुरु भएको त्यो अभियान अहिले पनि जारी छ । उनीपछि त्यहाँ प्रकाश अर्याल आए, उनको समयको उल्लेख्य काम देखिएन, तर सर्वेन्द्र आउनासाथ गाडी चढ्न भीडभाड गर्नेहरुलाई लाइनमा बस्न सिकाए त्यो अभियान अहिले कताकती बाँकी छ । त्यो अभियानले पाकेटमारा र चोरहरुलाई अप्ठ्यारो बनाएको थियो । सबैलाई थाहा भएको कुरा के हो भने पकेटमाराहरु प्रहरीसँग जोडिएका हुन्छन् । सनकको भरमा ट्राफिक प्रहरी चल्ने हो भने सडक दुर्घटनाको सीमा नाघ्छ । हिजो ट्राफिक प्रहरीले शुरु गरेको माक्स लगाउने अभियान अहिले सरकारको राष्ट्रिय एजेन्डा बन्यो । मापसे चेक गर्ने नाममा एउटै ब्रेथलाइजरले कोरोना कहरको महामारी चल्दा सयौंलाई लाइनै परीक्षण गरेको पनि देखियो । त्यसको सिकायत गरेपछि त्यो निर्णय हट्यो ।

सडकमा खडा भएका ती मस्कटले कसैको रोजीरोटी खोसेको थिएन । केबल सडक नियम पालना नगर्नेहरुलाई झस्काएको मात्रै थियो । राज्यले लागू गर्नुपर्ने सडक सुधार नियम र जनतालाई अनुशासित बनाउने अभियानमा ट्राफिक स्वयं अहिले उपस्थित भएको देखिन्छ । अहिलेको ट्राफिक कता छ भनेर खोज्नु पर्दैन । यो साता राज्यको अभियानमा साथ दिने भनेको प्रहरी संगठन नै हो ।

यहाँ उठाउन खोजिएको विषय सडकको डमी ट्राफिक मात्रै होइन, दुर्घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीको सक्रियता आवश्यक पर्छ तर यसले कसरी घुस खान्छ, अनावश्यक दुःख कसरी दिन्छ त्यसको खोजिनिती गर्ने हो भने नेतृत्व समेत चोखो रहँदैन । लामो दूरीमा चल्ने बसले यात्रुसँग डबल भाडा उठाउनुको मुख्य कारण नै सडकको घुस हो । राजधानी छिर्न नेपालगञ्जबाट आएको गाडीले ९ ठाउँमा घुस खुवाउनु पर्ने बताउँछन् । यस्ता विषयमा सचेत हुनुपर्ने नेतृत्व केबल सडकबाट डमी ट्राफिक हटाएर आफ्नो पौरख प्रदर्शन गरिरहेको त छैन ? शंका यहाँ उब्जिएको छ ।