Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तालमेलका लागि शेखरका शर्त

काठमाडौं र नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेससँग बार्गेनिङ गर्न वाम गठबन्धनको चर्चा चलाइएको बताएका छन्। नेपाल प्रेस युनियन पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले यस्तो बताएका हुन्। ‘माओवादी, एकीकृत समाजवादी र जसपाले जसरी तालमेलको कुरा गरिरहेको छ, यो बार्गेनिङ गर्नका लागि हो,’ उनले भने,‘हामी नै सबै हौं उनीहरूलाई लागेको छ। तर, कांग्रेस लार्ज पार्टी हो भन्ने कुरा भुल्नु भएन।’

उनले कांग्रेसका तीन सर्त माने मात्रै अन्य दलसँग आगामी निर्वाचनमा गठबन्धन हुने उल्लेख गरेका छन्। आर्थिक नीति, परराष्ट्र नीति र कांग्रेसको नेतृत्वमा आगामी ५ वर्षसम्म स्थायी सरकारको सर्त मान्न तयार भएमात्र निर्वाचनमा अरू दलसँग तालमेल हुने कोइरालाको भनाइ छ।
‘यी विषयमा गठबन्धन दलहरूबीच छलफल भइरहेको छ। यी तीन सर्त माने मात्र गठबन्धन हुन्छ,’ उनले भने। कोइरालाले प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा कांग्रेसलाई कमभन्दा कम क्षति हुने गरी तालमेल हुने जिकिर गरे।
अहिले माओवादी केन्द्रले भने अनुसार सिट बाँडफाँड गरेर चुनावमा जान नसकिने उनको भनाइ थियो। २०७४ सालाको आधारमा सिट बाँडफाँड नहुने समेत कोइरालाले प्रष्ट पारेका छन्। ‘२०७४ को निर्वाचनलाई आधार बनाएर सिटको बाँडफाँड हुँदैन, स्थानीय निर्वाचनमा प्राप्त जनमतलाई आधारमा गठबन्धन दलबीच भागबन्डा हुनुपर्दछ,’ उनले भने। कांग्रेसभित्र गुटउपगुट हावी रहेको सन्दर्भमा कोइरालाले लोकतान्त्रिक पार्टीमा यसलाई स्वभाविक रूपमा लिनुपर्ने बताए।
‘पार्टीमा गुटिज्म हुन्छ। त्यो स्वभाविक नै हो। गुट भनेको विचार हो, यसलाई अन्यथा लिनु हुँदैन,’ उनले भने,‘तर, जब अन्य दलसँग प्रतिस्पर्धाको सवाल आउँछ त्यतिबेला सबै गुट एक हुनु पर्दछ।’