Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तीन मन्त्रीको पछि लाग्यो एमाले

काठमाडौं । प्रमुख विपक्षी एमालेले ललितपुरको बालकुमारीमा भएको घटनामा सरकारका मन्त्री नै दोषी रहेको कुरा छानबिन आयोगले भनिसकेको भन्दै यातायात मन्त्री प्रकाश ज्वालालाई तत्काल बर्खास्तको माग गरेको छ। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सवाल जवाफ कार्यक्रम राखिएको थियो। बैठकमा एमाले सांसदहरूले विरोध गरेपछि सभामुखले एमालेका सचेतक महेश बर्तौलालाई बोल्ने समय दिएका थिए। ​ बर्तौलाले सरकारले गठन गरेको आयोगले नै दोषी भनेका मन्त्रीलाई जोगाएर सिपाहीलाई कारबाही गर्ने कुरा एमालेलाई स्वीकार्य नरहेको भन्दै तत्काल मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गरे। उनले घटनामा गृहमन्त्री पनि दोषी रहेको भन्दै सिपाहीलाई डण्डा र मन्त्रीलाई झण्डा स्वीकार्य नहुने बताए। उनले एमालेले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत अख्तियारको छानबिनमा रहेको भन्दै भ्रष्टाचारमा जोडिएका मन्त्रीलाई छेउमा राखेर प्रधानमन्त्रीको सुशासनको भाषण सुन्न नसकिने बताए। टेरामक्स भ्रष्टाचार प्रकरणमा मन्त्री बस्नेतले अख्तियारमा बयान दिइरहेको र उनी भ्रष्टाचारका आरोपी भएकाले मन्त्री पदमा रहन नमिल्ने भन्दै संसदमा एमालेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो। प्रधानमन्त्रीले बर्खास्त गरेको भन्ने सूचना पाएनौँ। सिपाहीलाई कारबाहीको डन्डा, मन्त्रीलाई उन्मुक्ति हुन सक्दैन, उनले भने। पर्यटनमन्त्री सुदन किराती भ्रष्टाचारमा संलग्न रहेको भनेर अनुसन्धानमा आइसकेको सचेतक बर्तौलाले बताए। किराती अध्यक्ष रहेको लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थल लुम्बिनीको सार्वजनिक जग्गा प्रधानमन्त्रीका घरबेटीका छोरालाई गैरकानुनी रूपमा लिजमा दिने निर्णय गरेको भन्दै बर्तौलाले तत्काल बर्खास्त गर्न माग गरे। राम ग्राम क्षेत्रमा घरबेटीको छोरालाई खुसी बनाउन ९९ रोपनी जग्गा दिने कोषका अध्यक्ष पर्यटनमन्त्रीले पनि जिम्मेवारी लिनुपर्छ र राजीनामा दिनुपर्छ, उनले भने।