Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दक्षिण अफ्रिकालाई दिइएको सहयोग रोक्ने ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई दिइरहेको सहयोग रोक्ने बताएका छन्। ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्ट गर्दै दक्षिण अफ्रिकाले जमिन कब्जा गरिरहेको र केही समुदायका मानिसहरूमाथि अन्याय भइरहेको आरोप लगाएका छन्। उनले भनेका छन्, ‘दक्षिण अफ्रिकामा ठूलो मात्रामा मानव अधिकार उल्लङ्घन भइरहेको छ, जसबारे कट्टर वामपन्थी मिडियाले पर्याप्त ध्यान दिएको छैन। यस्तो अवस्थामा अमेरिका चुप बस्न सक्दैन, हामी कडा कदम चाल्नेछौं। अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेबित्तिकै ट्रम्पले धेरै देशहरूसँग व्यापारमा कर लगाएका छन् र केही देशहरूलाई दिइने सहायता पनि रोकेका थिए। ट्रम्पले आफ्नो प्रशासनले अनुसन्धान पूरा नभएसम्म दक्षिण अफ्रिकालाई दिइरहेको सबै सहयोग रोक्ने निर्णय गरेको बताएका छन्। यसअघि, ट्रम्पले क्यानडा, मेक्सिको, र चीनमा २५ प्रतिशत कर लगाएका थिए। अमेरिकी सरकारी तथ्याङ्कअनुसार, अमेरिकाले सन् २०२३ मा दक्षिण अफ्रिकालाई ४४ करोड डलर सहायता दिएको थियो। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले भनेका छन् कि उनी राष्ट्रपति ट्रम्पसँगको सम्बन्धको बारेमा चिन्तित छैनन्। उनले ट्रम्प प्रशासनसँग काम गर्न तयार रहेको बताएका छन्। ट्रम्पले आफ्नो पहिलो कार्यकालमा दक्षिण अफ्रिकामा गोरा किसानको हत्या र जमिन कब्जा सम्बन्धी मुद्दाहरूको अनुसन्धान गर्ने वाचा गरेका थिए।