Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दानबहादुर कार्कीको रिटमा मंसिर ७ गते फेरि सुनुवाइ हुने

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आगामी सोमबार पुनः सुनुवाइ गर्ने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले मंसिर ७ गते अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश दिएको हो।

सो दिन रिट निवेदक कार्कीका कानुन व्यवसायी, सरकारको निर्णयको प्रतिरक्षा गर्ने सरकारी वकिल तथा नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले आफ्नो पक्ष राख्नेछन्।

यसअघि बुधबार भएको सुनुवाइमा सर्वोच्चले तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो। दुवै पक्षको बहस सुनेपछि मात्रै अन्तरिम आदेशबारे निर्णय गर्ने भन्दै अदालतले थप छलफलका लागि पेसी तोकेको हो।

सरकारले मन्त्रिपरिषद्को निर्णयमार्फत कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरेको थियो।

सरकारको उक्त निर्णय गैरकानुनी भएको र आफूलाई अन्यायपूर्ण रूपमा पदबाट हटाइएको दाबी गर्दै कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

अब मंसिर ७ गते हुने सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्नेछ।