Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुर्गा प्रसाईंसँग २ करोड माग्ने रास्वपाका सांसद निलम्बित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ । सो पार्टीले श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी कारबाही गरेको हो । रास्वापाबाट समानुपातिक सांसद रहेका श्रेष्ठले दुर्गा प्रसाईंसँग आर्थिक लेनदेन गरेको अडियो बाहिर आएको थियो । उनलाई तत्कालका लागि निलम्बन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले बताए । पदाधिकारी बैठकले पार्टीको साधारण सदस्य समेत नरहने गरी श्रेष्ठलाई कारबाही गरेको प्रवक्ता ढकालले जानकारी दिए । सांसद श्रेष्ठको विषयमा छानबिन गर्ने अधिकार अनुशासन समितिलाई पनि दिइएको उनले बताए ।
आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेका हुन् । कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद ढकालले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने भएको र मन्त्री बन्नका लागि नेताहरुले आफूसँग साढे २ करोड मागेको बताएका छन् । प्रचण्ड सरकारमा सहभागी रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दाबी गर्दै आएको थियो । उनले अगाडि भनेका छन्, मन्त्री पनि बन्नुपर्‍यो, धोइपखाली गरेर स्वास्थ्य क्षेत्र पूरा सफा पनि गर्नु छ । मैले धेरै गर्छु भनेर सोचेको छु, त्यसमा हजुरहरुको सहयोग पनि चाहियो । सुरुदेखि नै रविलाई सहयोग गर्दै आएको कोर टिमले रकम मागेको सांसद ढाकाकुमारले बताएका छन् । उनले भनेका छन्, रवि सर देखा पर्नुभएको छैन, बाहिरका २–३ जना साथी हुनुहुन्छ । उहाँहरुलाई दिने हो, पार्टीलाई जान्छ भनेका छन् । उनले मेडिकल व्यवसायी प्रसाईंलाई रकम दिए आफूले मिलेर काम गर्ने समेत बताएका थिए । ह्वाट्सएपमा भएको भनिएको संवादमा व्यवसायी प्रसाईंले पनि २ करोड सहयोग गर्ने, तर त्यसका लागि केही समय लाग्ने बताएका छन् । सम्वादका क्रममा प्रसाईंले तोसिमा कार्कीले लडाईँ गर्दिनन् नि भन्ने प्रश्न गरेका छन्, जसमा रास्वपा सांसद ढाकाकुमारले मन्त्री छान्ने जिम्मा रवि लामिछानेलाई दिइसकेका कारण कुनै समस्या नहुने बताएका थिए । त्यो बेलामा स्वास्थ्यमन्त्रीका लागि रास्वपामा ढाकाकुमारसँगै डा. चन्दा कार्की र डा. तोसिमा कार्की आकांक्षी थिए ।