Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देशको प्रतिष्ठामा खेल जगतले ठूलो भुमिका खेल्न सक्छ

रामदाश गोपाली, प्रशिक्षक सितोरियो कराँते

नेपाली खेलकुद क्षेत्रमा लागेर आफ्नो पृथक पहिचान स्थापित गराउन सफल रामदाश गोपाली सितोरियो कराँते खेलका प्रशिक्षक हुन् । दुई दशक देखि खेलजीवन बिताईरहेका रामदाश गोपाली राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा हुने गेमहरूको प्रशिक्षक हुनुका साथै निर्णायक मण्डलका कुशल सदस्य पनि हुन् । बिबिध कारणले गर्दा खेलकुद क्षेत्रको बिकासमा सोचेजति प्रगति हुन नसकेको र कोभिडका कारण पनि केही समय प्रभावित बनेकोले अब बिस्तारै सुधार हुने उनको विश्वास छ । मकवापुर जिल्लाको चित्लाङका स्थानीय वासिन्दा रामदाश गोपाली मार्सल आर्ट विधाको सितोरियो कराँते तथा किक बक्सिङका राष्ट्रिय स्तरका खेलाडी टुडान हुन । जापानमा २०१८ मा सम्पन्न वोल्र्ड कोसिकाई गेममा नेपाललाई स्वार्ण पदक दिलाउन सफल भएका उनि स्वही गेममा अन्तर्राष्ट्रिय निर्णायकको भुमिका निर्वाह गरेका थिए । प्रतियोगिताहरूमा कुशल निर्णायकको भुमिका निभाएवापत दर्जन पुरस्कार तथा सम्मानबाट सम्मानित गोपाली घण्टाघर डोजो, स्नोएपेक्स स्कुलका प्रशिक्षक हुन । उत्कृष्ट खेलाडीको उपाधि पाएका गोपाली खेलकुदलाई स्कुल स्तरबाट नै अनिवार्य गर्नु पर्नेमा जोड दिन्छन् । राज्यले पनि खेल र खेलाडीको स्तर उन्नतिको लागि विशेष ध्यान दिनुपर्ने बताउने प्रशिक्षक रामदाश गोपालीसँग ताजाखबर साप्ताहिकले गरेकोे कुराकानीः

० नेपालमा खेलको अवस्था कस्तो छ ?
अहिलेको देशको अवस्था र विश्व परिवेशमा एकदमै राम्रो छ । नयाँ खेलहरू भित्रिएका छन् । कोभिडका संक्रमण काल पछि अलि अलि चलायमान भएको छ । बिभिन्न खेलहरू बिस्तारै भैरहेका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षणहरू संचालन हुन थालेका छन् । अहिले अलि आशा लाग्दो भएको छ ।

० खेलकुदले राष्ट्रियमात्र नभई अन्तर्राष्ट्रिय स्तरमा कस्तो प्रभाव पार्छ ?
खेलकुद भनेको देश वा राष्ट्रलाई बिश्व सामु चिनाउने एउटा प्रभावकारी पक्ष हो । खेलकुदले आपसी सद्भाव कायम राख्छ । खेलकुद भनेको अनुशासन, गतिशिलता र बिकासको प्रयावाची पनि हो । कुनै पनि एउटा मुलुकलाई बिश्व सामु चिनाउन खेल जगतको निकै प्रभावकारिता भुमिका राख्दछ । हाम्रो जस्तो मुलुक आज बिश्व सामु परिचित छ त्यो कार्यको लागि खेलकुदको निकै ठुलो योगदान छ जस्तो लाग्छ मलाई । त्यसैले राष्ट्रिय तथा अन्तराष्ट्रि«य स्तरमा खेलकुद निकै नै प्रभावकारी माध्यम हो ।

० प्राचीन कालदेखि आधुनिक समयसम्म खेलकोे प्रयोगलाई व्यवहारिक र उपयोगी मानिन्छ । तपाईलाई के लाग्छ ?
पक्कै पनि सत्य कुरा हो । सबैभन्दा पहिले मानिसको स्वास्थ शरिर नै उसको सबैभन्दा ठुलो र अमुल्य सम्पत्ति हो । खेलकुदले मानिसलाई स्वास्थ बनाई राख्दछ । मानसिक रुपमा बलियो मानिस जस्तो सुकै अप्ठ्योरो, गाह्रोलाई पनि सहज तरिकाबाटै समाधान गर्दछ । तत्कालिन (प्राचिन) कालमा पनि बिभिन्न खालका सरल खेलकुद जस्तै कुस्ति, डण्डीबियो, कबर्डी जस्तो अनेकौं खेलहरू खेलिन्थ्यो भने अहिले समय परिवर्तनसंगै खेल जगत पनि परिवर्तन भयो । प्राचिन कालमा खेलकुद सम्बन्धि त्यति धेरै अध्ययन नभएपनि मानिस मनोरञ्जनको लागि खेले पनि वास्तवमा त्यो स्वास्थ शरिर उपयोगि थियो । समय परिवर्तनसंगै खेल जगत परिवर्तन भयो । कुन खेलको उपयोगिता केमा हुन्छ कस्ता मानिसले कस्तो खेलखेल्न उपयोगि हुन्छ भन्ने अध्यन हुन थाल्यो र आफ्नो र समाज सुहाउँदो खेल सुरु भयो । त्यसैले खेलकुद भनेको न अनन्तकाल, न वर्तमान, न भबिष्य सदासर्वदा उपयोगि नै मानिन्छ भन्ने लाग्छ ।

० खेलकुदले देशको पहिचान, व्यक्तिको प्रतिष्ठालाई उच्च बनाउँदछ भन्ने कुरामा सहमत हुनुन्छ ?
सतप्रतिशत सहमत छु । किन भने माथी पनि भनेको छु कि कुनै पनि देशलाई बिश्व सामु चिनाउन खेल जगतले ठुलो योगदान पुर्याउछ । नेपाल कै सन्दर्भमा भन्नु पर्दा पनि यदि बिश्व सामु हाम्रो देश नेपाल पनि छ भन्नि कुरा सायद केही हदस्म्म खेल जगतले नै चिनाउन सहयोग गरेको छ जस्तो लाग्दछ । कुनै बेला हामी सगरमाथाको देश, गौतमबुध्दको देश, बिर गाखौलीको देश भनेर परिचय दिनु पर्दथ्यो तर आज हाम्रा होनाहार राष्ट्रिय गहना खेलका नायकहरूले बिभिन्न देशमा हाम्रो राष्ट्रिय झण्डा फहराउदै नेपाल देशको पहिचान बनाएका छन् । चाहे ओलम्पिक होस चाहे एसियन गेम होस । अझै भन्नुपर्दा दक्षिण एसियामा त नेपाल एउटा खेलकुद पावर हाउस नै भन्दा पनि फरक नपर्ला । त्यसैले देशको प्रतिष्ठामा खेल जगतले ठुलो भुमिका राख्दछ । सगरमाथाको शिर जस्तै उच्च राख्दछ । खेलकुदमा लागेको खेलाडीहरूलाई देशकै गहनाको रुपमा लिन्छौ, समाजले राष्ट्रिय अन्तराष्ट्रिय स्तरका खेलाडीलाई गर्ने इज्जत मायाँ र सम्मान आफुलाई प्रतिष्ठित भएको महसुस गर्दछ ।

० खेल र खेलाडी राष्ट्रको गहना भनिए तापनि खेल जीवन बिताएकाहरूको आर्थिक पक्ष नाजुक हुनुको कारण ?
यो बिषयमा भन्नुपर्दा एक त देशको आर्थिक अवस्था नै सहज नभएपछि खेलमात्र होइन सबै पक्ष नै नाजुक हुन्छ । हाम्रो जस्तो बिकासन्मुख देशमा त राज्यको आर्थिक अवस्था जटिल भएको अवस्थामा खेल जगत पनि अछुतो रहने कुरै भएन । तर पनि राज्यले उचित ब्यवस्थापन गर्न सक्छभनि त्यति अप्ठेरो चाही नपर्ला । र हाम्रो समाज खेल प्रति त्यति झुकाव नभएकाले पनि राज्यले त्यति महत्वका साथ नलिएर नि हुनसक्छ ।

० खेलकुद फुर्सदको समयमा खेल्ने र कोहिकहि केही गर्न नसक्नेका लागिमात्र खेलकुद हो भन्छन् नि ?
त्यो सरासर गलत कुरा हो । त्यो पराजित मानसिकताको कुरा हो । जसले खेलकुदको महत्व नै बुझेका छैनन् त्यस्ता मानसिकताको कुरा हो । बरु यसो भन्दा ठिक होला कि खेलकुदलाई हलुका रुपमा लिएर अथवा प्राथमिकतामा नराखेर यो महत्वको बिषय हैन भन्दै टाइमपास गर्नको लागिमात्र खेल्ने ब्यावसायिक रुपमा खेल क्षेत्रमा नलाग्ने मानिसको आरोप होला । म त यसलाई गलत आरोप भन्छु ।

० दशैं वा कुनै शुभकार्यमा आफू भन्दा ठुलाले आशीर्वाद दिँदा सधैँ डाक्टर, इन्जिनियर बन्नु वा ठुलो मान्छे बन्नु जस्ता दिइन्छ । तर राम्रो खेलाडी बन्नु भन्दैनन् किन ?
त्यो अलि पहिलाका आसिर्वाद होलान् । तर अहिले समय परिवर्तन भैसक्यो अहिले त देशको नाम उच्च राखेस्, शिर कहिलै नझुकेस अनि निष्ठा र प्रतिष्ठाको लयाक बनेस् भनेर पो दिन्छन् त हैन ।

० विगतको तुलनामा खेल क्षेत्रमा कत्तिको सुधार आएजस्तो लाग्छ ?
पहिला भन्दा अहिले धेरै परिवर्तन आईसक्यो । नेपाली खेलाडीले पनि अन्तर्राष्ट्रिय जगतमा अनुबन्धित भएर खेल्न थालिसक्यो । खेलकुदमा नै लागेर आफ्नो जिविका चलाउन सक्नेसम्म भइसके । बिस्तारै परिवर्तन हुँदैछ एक दिन अवस्य राम्रो हुन्छ भन्नि आशा छ ।

० राज्यको तर्फबाट खेलाडीको मनोबल बढाउने, खेलाडीको ऊर्जा कायम राख्न प्रोत्साहन गर्ने र जीवनस्तर सुधारका निम्ति के गर्नुपर्ला ?
त्यै त हो खेलकुदलाई स्कुल स्तरसम्म अनिवार्य गर्दै लाने । गाउँ टोल र नगरहरूमा प्रशिक्षणको उचित ब्यवस्था गर्ने । उत्कृष्ठ खेलाडीहरूलाई आजीवन खेल क्षेत्रमै बाँच्न सक्ने अवस्था सिर्जना गर्ने । बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताको आयोजना गर्दै उत्कृष्ट खेलाडी उत्पादन गर्न तथा आर्थिक रुपले पनि बाँच्न सक्ने आधारहरू निर्माण गर्ने यस्तै त हुन् नि ।

० जीवनभर राष्ट्रको नाममा खेल्ने खेलाडी बिरामी हुँदा उपचार गर्न सक्ने अवस्था समेत हुँदैन यस्तो अवस्थाको लागि दीर्घकालिन सोच बनाउनु भएको छ ?
जहिलेसम्म स्वाथ्यले साथ दिन्छ खेललाई निरन्तरता दिन्छु । भोलि भवितब्य परिहाल्यो भने पनि इज्जत प्रतिष्ठा कमाएको छु । आशा छ राज्यले पनि केही सहयोग पक्कै गर्ला । खेल क्षेत्रमै लागेर इष्टमित्र, चेलाहरू पनि थुप्रै कमाएको छु । त्यो कमाईले पनि थप उर्जा छ ममा । भोलिको दिन कसले देखेको छ र गणितिय हिसाब त गरेको छैन ।

० खेलाडीको लागि खेलकुद जिविकोपार्जन बन्न नसक्नुको कारण ?
बिशुध्द खेलकुदलाई अंगाल्न नसुक्नु हो । खेल जगतमा आफ्नो योगदान कति छ भन्नि कुरा हो । मेहनत र लगाव खेल जगतमा नहुने अनि आर्थिक क्षेत्रलाईमात्र महत्व दिंदा पनि त सवल हुन सकिन्न । त्यस्तै राज्यले पनि उचित ब्यवस्थापन गर्न नसक्नु हो जस्तो लाग्छ ।

० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक बिजेता खेलाडी किन दीर्घकालीनसम्म खेल क्षेत्रमै टिक्न सक्ने अवस्था हुँदैन ?
आर्थिक महत्वकांक्षाले पनि प्रभाव पार्दछ । कतिसम्म आर्थिक सवलताले जीवन चल्छ भन्नि कुरा र आफु कुन खेल र कस्तो आर्थिक अवस्था भएको देशमा छु त्यो बुझ्नु जरुरी छ । जति छ त्यतिमै आफुलाई सन्तुष्ट बनाउन सक्यो भनि त्यति हम्यहम्य नपर्ला ।

० खेलकुदमा रोजगारीको अवसर सृजना गर्न सकिदैन ?
सकिन्छ किन नसक्नु । राम्रा खेलाडी प्रशिक्षकलाई प्रोत्साहन गर्ने राज्यले उचित ब्यवस्थापन गर्ने । राम्रा प्रशिक्षक तथा खेलाडीलाई अन्तर्राष्ट्रिय करण गर्दै बिभिन्न मुलुकसंग सहकार्य गर्दै आर्थिक रुपमा सवल बन्न र रोजगारिको सिर्जना गर्न सकिन्छ ।

० खेलकुदको क्षेत्रमा आमूल परिवर्तन ल्याउन वर्तमान अवस्थामा के गर्नुपर्ला ?
सर्वप्रथम राज्यले खेलकुद पनि राज्यस्तर उकास्न र राज्यको पहिचानको लागि अत्यआवश्यक क्षेत्र हो भन्ने बुझ्नु पर्छ । त्यस्तो क्षेत्रलाई पनि अन्य क्षेत्र जस्तै महत्वका साथै बजेट ब्यवस्थापन गर्दै उत्कृष्ट खेलाडी प्रशिक्षकलाई प्रोत्साहन गर्ने र बिदेश पलायनका साथै खेल जगतबाटै पलायन हुने अवस्थालाई रोक्नु पर्दछ अनिमात्र परिवर्तन सम्भव छ ।

० हामीले परिकल्पना गरेको समृद्ध नेपालको आधारभूत पक्ष खेलकुद बन्न सक्दछ ?
अवस्य पनि किन नसक्नु । अन्यक्षेत्रबाट भन्दा खेल क्षेत्र बृहत्तर जनचाहनाको क्षेत्र हो । त्यस कारण खेलाडी र प्रशिक्षकको होस्टेमा राज्यले पनि हैंसे गर्न सके पक्कै पनि सकिन्छ ।

० समग्र खेलकुदको सन्दर्भमा सितोरियो कराँतेको पछिल्लो अवस्था कस्तो छ ?
म आफैं पनि सितारियोको विद्यार्थी भएकोले नराम्रो देख्दिन राम्रो छ । जसले गर्दा आज आफुलाई गौरवान्बित महसुस गर्छु । प्राय कराँते बिद्यालाई हाम्रो सितारियोले लिड गरिरहेको छ । बढि जस्तो आकर्षण पनि यसैमा छ त्यसैले राम्रो छ ।