Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नागरिकता ऐन संशोधनमा सर्वोच्चले खोज्यो कारण

काठमाडौं । राजनीतिक एजेन्डा बन्ने गरेको नागरिकताका विषयमा सधैं विवाद र बहस जारी रहेकै बेला नागरिकता ऐन संशोधनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । संविधान जारी भएको पाँच वर्ष बितिसक्दा पनि संविधानको भावना र मर्मअनुरुप ऐन संशोधन हुन नसकेको भन्दै महिला, कानून र विकास मञ्चले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो । मञ्चले ऐनमा आवश्यक संशोधन गरी नेपाल नागरिकता ऐन, २०६३ संशोधन विधेयक तुरुन्त पारित गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सो रिटमा अदालतले सोमबार विपक्षीका नाममा अग्राधिकारसहितको कारण देखाउ आदेश जारी गरेको हो । नागरिकता प्रमाणपत्र राष्ट्रले व्यक्तिको अस्तित्वलाई पुष्टि गर्न प्रदान गरिने कानूनी पहिचानको दस्तावेज हो । नागरिकता व्यक्ति र राष्ट्रबीचको कानूनी सम्बन्ध स्थापना गर्ने दस्तावेज मात्र नभई अन्य धेरै मूलभूत मानव अधिकार प्राप्त गर्नका लागि आवश्यक आधारशिला हो । नेपालको संविधानको धारा १ (१) ले कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भन्ने कुराको सुनिश्चितता गरेको छ ।