Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेताहरुको ध्यान प्रधानमन्त्रीको कुर्सीमा

काठमाडौँ । सबैको ध्यान त्यही सिंहदरबारमा छ । आगामी प्रधानमन्त्री बन्ने सपना, एमाले अध्यक्ष केपी शर्मा ओली, माअ‍ोवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवाले मात्रै होइन ताल परे मै पनि भ्याइदिन्छु भन्ने सपना समाजवादीका माधवकुमार नेपालको दिमागमा पनि नघुमेको होइन । त्यही सत्ताकै कारण राजनीति भाँडियो, देश अस्थिरतामा गयो । सत्ता गठबन्धनमा चुनावी तालमेल मिलाउन एक महिनादेखि छलफल चले पनि आइतबारसम्म सहमति भएको छैन । गठबन्धन दलहरूले संघमा अधिकतम सिट दाबी गरेपछि सहमति हुन नसकेको हो । साउन २३ मा सुरु भएको गृहकार्य आइतबारको बालुवाटार बैठकसम्म आइपुग्दा सिट र निर्वाचन क्षेत्र बाँडफाँटको मुद्दामा मात्रै केन्द्रित छैन, कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल दुवैको निर्वाचनलगत्तै प्रधानमन्त्री बन्ने दाबी जोडिएको छ । यसबारे गठबन्धन बैठकमा छलफल भएको छैन तर देउवा र दाहालबीचको ‘वान अन वान’ बसाइमा अन्तरंग छलफल चलिरहेको नेताहरूको भनाइ छ । गठबन्धनको सामूहिक बैठक बस्नुअघि आइतबार बिहान पनि देउवा र दाहालबीच करिब एक घण्टा एक्लाएक्लै छलफल भएको थियो । प्रधानमन्त्रीका लागि कांग्रेसमा देउवाको विकल्प खोज्न नेता रामचन्द्र पौडेल र महामन्त्री गगनकुमार थापासमेत अघि सरेका छन् । माओवादीमा भने दाहालको विकल्पमा अघि सर्ने नेता छैनन् । स्थानीय निर्वाचन परिणामले सरकार निर्माणमा माओवादी निर्णायक हुने संकेत गरिसकेकाले देउवा निर्वाचन र त्यसपछिको पाँच वर्षसम्मै माओवादीसँग सहकार्य गरेर अघि बढ्ने सोचमा देखिन्छन् । प्रतिनिधिसभाको सिट बाँडफाँटमा कांग्रेस र माओवादीबीच अहिले चलिरहेको दाउपेचलाई सरकार निर्माणकै विषयसँग जोड्ने गरिएको छ । सरकार निर्माणलाई गठबन्धनको मुख्य लक्ष्य बनाएका देउवा र दाहाल जतिसक्दो बढी सिट लिने रणनीतिमा लाग्नुको पछाडि उनीहरूबीच सत्ता साझेदारी गर्ने विषयमा कुरा मिल्न बाँकी रहेको भनेर कतिपय नेताहरूले अर्थ्याउने गरेका छन् । यसले गर्दा निर्वाचन क्षेत्र बाँडफाँट र सिट संख्याको निर्धारण गर्न गठबन्धनलाई सकस परिरहेको उनीहरूको दाबी छ । सरकार निर्माणमा माओवादीबाहेक अन्य साना दल निर्णायक नहुन् भन्ने माओवादीको र माओवादीबाहेक सरकार बनाउन सकियोस् भन्ने कांग्रेसको रणनीतिक दाउ छ । कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचनपछि छैटौं पटक प्रधानमन्त्री हुने दाउमा छन् । आफू नहुँदा विकल्पमा पत्नी आरजुलाई अघि बढाउन सक्ने आशंकासमेत छ । माओवादी अध्यक्ष दाहाल निर्वाचनपछि पहिलो चरणमै प्रधानमन्त्री हुने दाउमा छन् । अनौपचारिक संवादमा भने कतिपय नेताहरूले दुई नेताबीच प्रधानमन्त्री मात्रै नभएर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र प्रदेशका मुख्य मन्त्रीसमेतका पदमा समेत प्याकेजमै भागबन्डा मिलाउने प्रयास सुरु भएको छ ।
अहिले सिट संख्यामा भइरहेको रस्साकसीले भित्रभित्र प्रधानमन्त्रीको विषयमा समझदारी बने पनि निर्वाचन परिणामपछिको राजनीतिक परिस्थितिप्रति देउवा र दाहाल ढुक्क हुने स्थिति नरहेको संकेत गर्छ । त्यसैले दुवै नेताले सिट संख्या बढी लिन चाहिरहेका छन् । कांग्रेसले अन्य साना दल लिएर सरकार निर्माण गर्न नसक्दा आफ्नो पार्टी निर्णायक शक्ति हुने दाहालको बुझाइ छ । देउवाले पहिलो चरणमै प्रधानमन्त्री छाड्न नमाने एमालेको समर्थनमा भए पनि सुरुमै आफू प्रधानमन्त्री हुन सकिने दाहालको भित्री मनसाय रहेको कांग्रेस नेताहरूको आशंका छ । देउवा माओवादीबिनै अन्य साना दल मिलाएर सरकार बनाउन सकिन्छ कि भन्ने कसरतमा छन् । त्यसका लागि उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई टाढिन दिएका छैनन् । कांग्रेसले पाएको सिट संख्यामा केही दिएर भए पनि उनले लोसपालाई आफ्नै विश्वासमा लिन खोजेका छन् ।कांग्रेस नेताहरूले गठबन्धन बैठकमा दाहाल लचकजस्तो, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी कडा रूपमा प्रस्तुत हुनुमा पनि दाहालको रणनीतिसँग जोडेर हेर्ने गरेका छन् । माओवादीसँग पार्टी एकीकरण गर्ने गृहकार्य चलिरहेका बेला एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसलाई ७० भन्दा बढी सिट दिन नसकिने अडान बिहीबारको गठबन्धन बैठकमा राखेका थिए । शनिबार एक सार्वजनिक कार्यक्रममा समेत नेपालले त्यही कुरा दोर्‍याएका छन् ।