Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि प्रश्न उठाउँदै केही पदाधिकारीले राजीनामा माग गरेका छन्। पार्टी सञ्चालनको वर्तमान शैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले नेतृत्व हस्तान्तरण गरेर अघि बढ्नुपर्ने धारणा राखेका हुन्।
बैठकमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले अध्यक्ष ओलीको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै पार्टीलाई कुनै व्यक्तिको निजी संस्थाजस्तो बनाएर सञ्चालन गर्न नहुने बताएका थिए। उनले पार्टी सञ्चालनको वर्तमान शैली परिवर्तन गर्नुपर्ने भन्दै अध्यक्ष ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने धारणा राखे।
‘एमाले कसैको निजी कम्पनी होइन, यसरी पार्टी चल्दैन पनि, त्यसकारण अध्यक्षले मार्गप्रशस्त गर्नुपर्छ,’ बैठकमा गुरुङले भनेका थिए।
बैठकमा उपाध्यक्ष गोकर्ण विष्ट र रघुजी पन्तले पनि पार्टी सञ्चालनको वर्तमान शैलीप्रति आपत्ति जनाएका थिए। उनीहरूले पनि नेतृत्व हस्तान्तरणको आवश्यकता औँल्याउँदै अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेको बैठकमा सहभागी नेताहरूले बताएका छन्।
उपमहासचिव योगेश भट्टराईले पनि अध्यक्ष ओलीको राजीनामाको माग गरेका छन्। उनले नेतृत्व हस्तान्तरणका लागि लिखित र मौखिक रूपमा धारणा राखेको एक केन्द्रीय सदस्यले जनाएको छ।
बैठकमा पार्टी सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पनि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए। प्रदेश तथा स्थानीय तहका निर्वाचन नजिकिँदै गएको अवस्थामा पार्टीको वर्तमान अवस्थाबाट निर्वाचनमा प्रभावकारी रूपमा अघि बढ्न कठिन हुने उनको धारणा थियो।
कार्कीले वर्तमान कार्यशैली कायम रहे पार्टी थप कमजोर बन्न सक्ने भन्दै अध्यक्ष ओलीले नेतृत्वबाट मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए।
त्यस्तै सचिव यामलाल कँडेलले पनि अध्यक्ष ओलीको नेतृत्वमा पार्टी अघि बढ्न नसक्ने धारणा राखेका थिए। उनले बैठक सञ्चालन तथा निर्णय प्रक्रियाको शैलीप्रति समेत असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष ओलीले पदमा रहिरहनुको औचित्यमाथि प्रश्न उठाएका थिए।
सचिव राजन भट्टराईले पनि पार्टी सञ्चालनको वर्तमान शैलीप्रति असहमति जनाउँदै नेतृत्व परिवर्तन आवश्यक रहेको धारणा राखेका थिए। उनले अहिलेकै तरिका र शैलीबाट पार्टी अघि बढ्न नसक्ने भन्दै अध्यक्षले मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए।
केन्द्रीय कमिटी बैठकमा एकपछि अर्को पदाधिकारी तथा नेताले अध्यक्ष ओलीको नेतृत्वमाथि प्रश्न उठाएपछि एमालेभित्र नेतृत्व हस्तान्तरणको बहस थप सतहमा आएको छ। यद्यपि अध्यक्ष ओली पक्षले बैठकमा उठेका असन्तुष्टि र नेतृत्व परिवर्तनको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा औपचारिक निर्णय गरिसकेको छैन।
बैठकमा उठेका धारणाले एमालेभित्र नेतृत्वको कार्यशैली, निर्णय प्रक्रियामा सहभागिता र आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी पुनर्गठनको विषयमा आन्तरिक बहस तीव्र बनेको संकेत गरेको छ।
२०८३ आश्विन ८
ताजा नेपाल
२०८३ आश्विन ८
ताजा नेपाल
२०८३ आश्विन ७
ताजा नेपाल