Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाललाई दुई खर्ब ४० अर्ब रुपैयाँ विकास सहयोग गर्ने भारतको घोषणा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि दुई खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको विकास सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्।

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री मोदीबीच भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालको समृद्धि र विकासको यात्रामा भारत सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरेका हुन्।

प्रधानमन्त्री शाहलाई भारतमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै मोदीले संयुक्त राष्ट्रसंघमा उनले गरेको सम्बोधनबाटै उनको दृष्टिकोण र नेतृत्वको सोच स्पष्ट भएको उल्लेख गरे।

‘विश्वकै सबैभन्दा कम उमेरका प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा गर्नुभएको सम्बोधनबाट नै उहाँको भिजन स्पष्ट रहेको मैले पाएको थिएँ,’ मोदीले भने।

नेपाल र भारतबीचको सम्बन्ध परम्परागत छिमेकीको सम्बन्धमा मात्र सीमित नरहेको उल्लेख गर्दै मोदीले यसलाई आपसी विश्वास, सहयोग र आत्मीयतामा आधारित सम्बन्धका रूपमा व्याख्या गरे। दुवै देश एकअर्काको विकास र प्रगतिका साझेदार रहेको उनको भनाइ थियो।

‘हामी एकअर्काको प्रगतिमा साथी हौँ। दुःखको अवस्थामा एकअर्काको सहारा पनि हौँ,’ मोदीले भने।

मोदीले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासलाई प्राथमिकतामा राख्दै २४ हजार करोड बराबरको विकास सहयोग घोषणा गरेको जानकारी दिए।

उनले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध पनि विशेष रहेको बताए। सन् २०१८ मा जनकपुर भ्रमणका क्रममा आफूले व्यक्त गरेको भनाइ स्मरण गर्दै उनले नेपाल र भारतबीचको धार्मिक सम्बन्धको महत्त्व औँल्याए।

‘नेपालबिना हाम्रो धाम र हाम्रो राम अधुरो हुन्छ,’ जनकपुर भ्रमणका क्रममा आफूले भनेको अभिव्यक्ति स्मरण गर्दै मोदीले उल्लेख गरे।

यसैगरी, भारतले नेपालसँगको सीमा पूर्वाधार र सडक सञ्जाल विस्तारलाई उच्च प्राथमिकता दिएको मोदीले बताए। उत्तराखण्ड र नेपालबीच धार्चुला तथा बनबासामा पूर्वाधार विकासका काम अघि बढिरहेको उनको भनाइ थियो।

दोधारा–चाँदनी एकीकृत जाँच चौकी (आईसीपी) निर्माणलाई पनि तीव्रता दिइएको उनले जानकारी दिए। साथै, बिहार, उत्तर प्रदेशलगायत भारतका विभिन्न प्रदेशबाट नेपालसम्म सडक सम्पर्क विस्तार गर्ने योजना रहेको मोदीले बताए।

यी परियोजनाले दुई देशबीचको व्यापार, आवागमन र आर्थिक गतिविधि सहज बनाउनुका साथै नेपालको आर्थिक विकासलाई थप गति दिने उनको विश्वास थियो।

भेटवार्ताका क्रममा ऊर्जा तथा पेट्रोलियम पूर्वाधार विस्तारका विषयमा पनि सहकार्य अघि बढाउने सहमति भएको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण विस्तार गरिने भएको छ। त्यसैगरी, झापामा पेट्रोलियम टर्मिनल निर्माण तथा बनबासा–दोधारा चाँदनी एकीकृत जाँच चौकीको शिलान्यास गरिएको छ।

भारतले घोषणा गरेको विकास सहयोग र अघि बढाइएका पूर्वाधार परियोजनाले नेपाल–भारत आर्थिक साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।