Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । उत्तर र दक्षिण इजरायलमा जोखिम थप बढेपछि तेल अभिभमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई बढी सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।
पछिल्लो समय गाजा आसपाससहित इजरायलको दक्षिणी तथा उत्तरी सीमा क्षेत्रमा जोखिम थप बढेको र इजरायल सरकारद्वारा ती क्षेत्रमा रहेकाहरूलाई सुरक्षित क्षेत्रतर्फ जान सुझाइएकोले यदि तपाईं रहेको क्षेत्रमा समेत असुरक्षा बढ्दै गएको स्थिति छ भने आफ्नो रोजगारदातासँग सल्लाह गरी त्यहाँबाट बढी सुरक्षित स्थानतर्फ सर्नुहोला, इजरायलस्थित नेपाली दूतावासले जारी गरेको अत्यन्त जरुरी सूचनामा भनिएको छ ।
दूतावासले इजरायलमा असुरक्षित महसुस गरिरहेका नेपालीलाई स्थिति सामान्य नबन्दासम्म घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन समेत विशेष अनुरोध गरेको छ ।
सुरक्षित आश्रयस्थल नभएकाहरूले दूतावासमा जानकारी गराउनुहोला,दूतावासले भनेको छ ।
इजरायलको दक्षिणतर्फ गाजा र उत्तरतर्फ लेबनान रहेको छ । गाजा सीमामा इजरायली सेना र प्यालेस्टिन चरमपन्थी समूह हमासबीच युद्ध चलिरहेको छ ।
उत्तरतर्फ रहेको लेबनानबाट पनि कट्टपन्थी समूह हज्बुल्लाहले बेलाबखत इजरायलमाथि रकेट आक्रमण गरिरहेको छ ।
इजरायली सेनाले पनि लेबनानको हज्बुल्लाह समूह रहेको स्थानमा हवाई आक्रमण गरेको छ ।
इजरायलको दक्षिण र उत्तरी दुवै सीमामा युद्ध चर्किने सम्भावना बढेको छ । पछिल्ला दिन इजरायलले गाजाको सीमानामा ठूलो संख्यामा आफ्ना सैनिक र ट्यांक तैनाथ गरेको छ ।
उत्तरी गाजामा स्थल, जल र हवाई आक्रमण गर्ने तयारीमा इजरायल छ र यसको घोषणा पनि गरिसकेको छ । इजरायलले उत्तरी गाजामा रहेका ११ लाख प्यालेस्टिनलाई घर छोडेर दक्षिण गाजामा सर्न उर्दी जारी गरिसकेको छ
इजरायलको उक्त उर्दीप्रति संयुक्त राष्ट्रसंघले आपत्ति जनाइसकेको छ । धेरैले इजरायलको उक्त उर्दीलाई ‘युद्ध अपराध’को संज्ञा दिएका छन् ।
अक्टोबर ८ मा हमासले अचानक इजरायलमाथि आक्रमण गरेपछि इजरायलको दक्षिण र उत्तरी सीमा क्षेत्रमा युद्ध चर्केको हो । हमासको आक्राणमा परी १० नेपाली विद्यार्थी मारिएका थिए ।
पछिल्ला दिन उत्तर र दक्षिण सीमामा युद्ध चर्किदै गएपछि नेपालले इजरायलमा रहेका २५३ विद्यार्थीलाई उद्धार गरी फर्काएको थियो । इजरायलमा उद्धारको पर्खाइमा अझै २०० भन्दा बढी नेपाली रहेका छन् ।
युद्ध झन् चर्किने संकतेहरू आएपछि इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई बढी सुरक्षित ठाउँमा सर्न भनेको छ ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल