Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाली समाजमा संसदीय प्रणाली र राजनैतिक विकृतिहरू

  • ज्ञानबहादुर क्षत्री

मानिस एउटा सामाजिक प्राणी हो । विभिन्न व्यक्ति तथा समुदायहरूको मिश्रणबाट समाजको निर्माण भएको हुन्छ । हरेक समाजको आ–आफ्नै एउटा निश्चित मूल्य, मान्यता र नियम हुने गर्दछ । नेपाली समाज आपसी सहयोग, सद्भाव, सहकार्य र सहअस्तित्वको जगमा अडिएको छ । हाम्रो समाज विभिन्न जात–जाति, भाषा–भाषी, रीति रिवाज, धर्म, संस्कृति र अनेकौं समुदायहरूको सम्मिश्रणबाट बनेको छ । सामन्यतः नेपाली भाषालाईनै विभिन्न समुदायहरूबीच बोलिचाली र विचारको आदान प्रदान गर्ने माध्यमको रूपमा प्रयोग गरिन्छ तापनि मधेशमा बस्ने पहाडÞियाले मधेशीभाषाको प्रयोग र पहाडमा बस्ने मधेशीले नेपाली भाषाको प्रयोग गर्ने गरेको व्यवहारमा पाईन्छ । हिन्दु धर्मालम्बीहरू गुम्बामा गई बुद्धको दर्शन गर्ने र बौद्ध धर्मालम्बीहरू मन्दिरमा गई विभिन्न देवी–देवताहरूको दर्शन गर्ने प्रचलन नौलो होईन । दशैं, तिहार, तीज, बुद्ध पूर्णिमा, रोदी, ईद, रमजान आदि जस्ता चाड–पर्वहरू सबै सम्प्रदायका मानिसहरूले सामूहिक र संयुक्त रूपमा धमधामका साथ मनाउने हाम्रो पुरानो परम्परा हो । अनेकतामा एकता नै हाम्रो समाजको मूल मन्त्र हो ।
समाज राजनीतिबाट अछुतो रहन सक्दैन । राजनीति एउटा यस्तो विषय हो जसले समाजको हरेक क्षेत्रलाई प्रतक्ष वा परोक्ष रूपमा प्रभाव पारीरहेको हुन्छ । राजनैतिक क्षेत्रमा हुने गरेका सकारात्मक क्रियाकलाप र गतिविधिहरूले समाजलाई उन्नति र प्रगति तर्फ डोराई रहेको हुन्छ भने यसको ठिक विपरीत, नकारात्मक राजनीतिकि गतिविधिले समाजलाई अधोगति तर्फ धकेली रहेको हुन्छ । नेपाली समाज सामु विगत सात दशक यता अनेकौं पटक राजनैतिक उथल–पुथल र परिवर्तनहरू हुने गरेका अनुभव छ । वि. सँः २००७ सालको प्रजातन्त्र, २०१७ सालको पंचायती राजतन्त्र, २०४६ सालको बहुदलीय प्रजातन्त्र र २०६२ सालदेखि यताको संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था यसका उदाहरणहरू हुन् । माथि उल्लेखित जुनसुकै राजनैतिक व्यवस्था भए तापनि हामीले अपनाउँदै आएको शासन व्यवस्था भनेको संसदीय शासन प्रणालीनै हो । संसदीय शासन प्रणालीलाई व्यवहारमा सही किसिमबाट सफलता पूर्वक कार्यान्वयन गर्नका लागि राजनीतिज्ञहरू एउटा निश्चित मूल्य, मान्यता, अनुशासन र नियममा रहनु पर्ने हुन्छ । राजनीतिज्ञमा हुनु पर्ने इमानदारिता, पारदर्शिता, जवाफदेहिता, अनुशासन र संयमितता आदि संसदीय लोकतान्त्रिक प्रणालीका मुख्य अंगहरू हुन् ।
नेपालको राजनीतिमा, विशेष गरी हामीले अपनाएको बहुदलीय संसदीय प्रणाली अन्तर्गत विभिन्न राजनैतिक दलका नेता तथा जनप्रतिनिधिहरूबाट बेला मौकामा अनेकौं प्रकारका विकृति र विसंगतिपूर्ण गतिविधिहरू प्रकट हुने गरेको देख्न पाईन्छ । सरकारको नेतृत्वमा पाईने दम्भ, अहंकार, सत्तालिप्सा र स्वेच्छाचारी मनोवृत्ति, प्रतिपक्षी नेतृत्वमा पाईने ईर्षा, कुण्ठा र सत्तामोह, जनप्रतिनिधि सांसदहरूमा पाईने पदलोलुपता, उच्च महत्वाकांक्षा र धनोपार्जनको चाहना आदि जस्ता प्रवृत्तिनै हाम्रो मौजुदा राजनैतिक शासन प्रणालीमा रहेका विकृतिहरू हुन् । यस्ता खाले अनैतिक र अप्रजातान्त्रिक गतिविधिहरूबाट राजनैतिक दल र दलको नेतृत्व तहले मात्र नभएर सिंगो राष्ट्रलाई समेत क्षति बेहोर्नु पर्ने स्थिति सृजना हुन जान्छ । यस्ता गतिविधिहरूले देशमा व्यापक आर्थिक अनियमितता र भ्रष्टाचार, सुशासनको अन्त्य र कानूनी राज्यको खिल्ली उडाउने खालका गतिविधिहरूलाई मलजल गरी रहेको हुन्छ । समाज विकासको क्रममा सदैव वाधक मात्र नभई समाजलाई गलत दिशा तर्फ निर्देशित गरिरहेको हुन्छ । २०५१ सालको संसद बिघटन र मध्यावधि निर्वाचन, नौ महिने एमाले सरकारको अन्त्य र त्यस पछिका घृणित संसदीय अभ्यासहरू, माओवादी सशस्त्र संघर्ष र निरंकुश राजतन्त्रको उत्पत्ति, प्रथम संविधान सभाको असफलता र प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठन, वर्तमान संविधानको निर्माण र घोषणामा अवरोध, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बिचको असमन्वयात्मक सम्बन्ध, शक्ति पृथकीकरण सिद्धान्तको गÞलत प्रयोग, दुई तिहाईको नजिक बहुमतमा रहेको सरकारको पतन तथा राजनैतिक अस्थिरता र अन्यौलता आदि यसका ज्वलन्त प्रमाणको रूपमा लिन सकिन्छ । विगत केहि समय यता हामीले अनुभव गरेका संघीय तथा प्रदेश सांसदहरूको खरिद–बिक्री, अपहरण तथा आर्थिक प्रलोभन, दल परिवर्तन, व्हिप उलंघन, फ्लर क्रसिंग जस्ता क्रियाकलापहरू र नेतृत्व तहबाट हुने गरेका अराजक तथा अनुशासनहीन क्रियाकलाप र अविव्यक्तिहरूबाट राजनीतिले सही बाटो लिएको मान्न सकिंदैन । विभिन्न राजनीतिक दलहरू र दलका नेतृत्वहरू बिचको असमझदारी, आरोप–प्रत्यारोप, प्रतिशोधको भावना र निषेधको राजनीतिले नेपाली समाजलाई अग्रगमन होईन, प्रतिगमनतर्फ धकेलेको आभास दिन्छ । राजनैतिक नेतृत्वले व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितलाई सर्वोपरी मान्दै सूजबुझका साथ हाम्रो समाजलाई उचित तथा सही दिशाबोध गराउनु आजको आवश्यकता हो । एकातिर ऋयखष्म–ज्ञढ को महामारी र अर्को तर्फ हाम्रो समाजमा विद्यमान विभिन्न खाले राजनीतिक विकृति र विसंगतिहरूको अन्त्य गर्ने जस्ता सवालमा सम्पूर्ण राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति कायम गरी राष्ट्रिय एकताको सन्देश प्रवाह गर्न सकेमा मात्र नेपाली समाजले अग्रगति लिन सक्दछ ।
(लेखक पाणिनि बहुमुखी क्याम्पस, अर्घाखाँचीका पूर्व क्याम्पस प्रमुख हुनुहुन्छ)