Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

न्याय खोज्ने निहारिकालाई सर्वोच्च अगाडिबाट प्रहरीको झ्याइँकुटी

काठमाडौं । न्यायाको खोजी गर्दै एक्लो युद्धमा होमिएकी ‘कुमारी आमा’ निहारिका राजपूतलाई प्रहरीले सर्वोच्च अदालत अगाडिबाट नियन्त्रणमा लिएको छ । तीन दिनदेखि आमरण अनशन सुरू गरेकी उनी आज न्याय माग्दै सर्वोच्च आएकी थिइन् । वसन्तपुरमा अनशन बसिरहेकी निहारिका आफ्नो माग सुनवाइ नभएको भन्दै सर्वोच्च परिसर आएकी हुन् । दुई वर्षको छोरा च्यापेर आएकी उनलाई प्रहरीले बल प्रयोग गर्दै नियन्त्रणमा लिएका छन् । आफ्नो ब्यानर प्रदर्शन गर्न खोज्दा उनलाई महिला प्रहरीले झ्यानाकुटी पार्दै गाडीमा हालेका थिए । बच्चालाई पनि उठाइएको थियो । उनीहरूलाई सिंहदरबार वृत्तमा लगिएको छ । निहारिकाले आफू अब न्यायका लागि ज्यान दिन पनि तयार रहेको बताएकी छन् । माग पूरा नभएसम्म आमरण अनशन नतोड्ने उनको प्रतिज्ञा छ । निहारिका दुई महिनाअघि पनि आमरण अनशन बसेकी थिइन् । उनलाई दुई अभियन्ताले त्यसबेला अनशनमा साथ दिएका थिए । यसपालि भने उनी एक्लै अनशन बसेकी हुन् । आफूलाई एक पुरुषले बलात्कार गरेर बच्चा जन्मिएको निहारिकाको दाबी छ । जिल्ला अदालतले आरोपीलाई सफाइ दिएपछि उनले जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी छन् । आरोपीलाई पक्राउ गर्नुपर्ने र बच्चाको डीएनए टेस्ट गर्नुपर्ने लगायतका माग निहारिकाले राखेकी छन् ।