Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पक्राउ परे सन्दीप, आजै मेडिकल चेकअप

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । बिहीबार बिहान साढे १० बजे कतार एयरवेजको क्यूआर ६४८ नम्बरको नम्बरको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । प्रहरीले सन्दीपलाई विमानस्थलबाटै पक्राउ गरेको हो । उनी नेपाल आउने जानकारी पाएपछि प्रहरीको भ्यानसहित ​पक्राउ गर्न प्रहरी अधिकारीहरु विमानस्थलमा तैनाथ थिए । उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहानुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । उनले यसअघि सामाजिक सञ्जालमार्फत आज नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने बताएका थिए । आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको उनको दाबी छ ।

प्रहरी वृत्त गौशाला लगियो
बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरी वृत्त, गौशालामा राखिएको छ । बिहीबार कतार एयरवेजको विमानबाट काठमाडौं ओर्लिएका उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो । लगतै उनलाई पीडित किशोरीले जाहेरी दिएको प्रहरी वृत्त, गौशालामा लगिएको छ । आजै उनको मेडिकल चेकजाँच हुनेछ । अदालतमा भने आइतबार मात्र उपस्थित गराइनेछ । भोलिसम्म दशैंको विदा र पर्सि शनिबारका कारण अदालत बन्द हुनेछ । आइतबार अदालत खुलेपछि म्याद थपका लागि उनलाई उपस्थित गराइनेछ ।