Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । लामो समयदेखि अन्योलमा रहेको नेपाल–भारतको बहुप्रतीक्षित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अघि बढाउन भारत सकारात्मक देखिएको छ। नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँगको भेटमा आयोजना अगाडि बढाउने विषयमा भारतको सकारात्मक धारणा व्यक्त गरेका हुन्।
बुधबार भएको भेटमा पञ्चेश्वर आयोजनासँगै अरुण तेस्रो, तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत् आयोजनाको प्रगतिबारे छलफल भएको थियो।
ऊर्जा मन्त्रालयका एक उच्च अधिकारीका अनुसार भारतीय विदेश सचिव मिस्रीले लामो समयदेखि रोकिएको पञ्चेश्वर आयोजना अघि बढाउन भारत इच्छुक रहेको सन्देश दिएका छन्।
‘पञ्चेश्वर लामो समयदेखि अघि बढ्न सकेको छैन। यो परियोजनालाई अघि बढाउन विदेश सचिवज्यूले भारत तयार रहेको सन्देश दिनुभयो,’ ती अधिकारीले नेपालखबरसँग भने।
नेपाल र भारतबीच महाकाली सन्धिअन्तर्गत अघि बढाउनुपर्ने पञ्चेश्वर आयोजना दुई देशबीचको ऊर्जा सहकार्यको महत्त्वपूर्ण परियोजना हो। तर, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगायतका विषयमा सहमति जुट्न नसक्दा निर्माण प्रक्रिया लामो समयदेखि अघि बढ्न सकेको छैन।
भेटमा भारतीय पक्षले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारणलाइन निर्माणमा देखिएको राइट अफ वे (आरओडब्लू) सम्बन्धी समस्या समाधानका लागि नेपालको सहयोग मागेको छ।
त्यस्तै, तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणको विषय पनि भारतीय पक्षले उठाएको थियो। विशेषगरी निजी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाउन नेपाल सरकारको सहयोग र सहजीकरण आवश्यक रहेको भारतको भनाइ छ।
भारतीय लगानीमा निर्माण भइरहेका जलविद्युत् आयोजनामा प्रसारणलाइन निर्माण र आयोजना स्थलका लागि जग्गा प्राप्ति प्रमुख चुनौतीका रूपमा देखिँदै आएका छन्।
नेपालका विभिन्न जलविद्युत् आयोजनामध्ये फुकोट कर्णाली आयोजना अघि बढाउने विषयमा भारतीय पक्षले विशेष चासो देखाएको छ। आयोजना निर्माण प्रक्रियालाई अगाडि बढाउन भारतले बढी इच्छा व्यक्त गरेको मन्त्रालयका अधिकारीहरूको भनाइ छ।
यसैबीच, ऊर्जा मन्त्रालयका अधिकारीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आसन्न भारत भ्रमणका लागि ऊर्जा क्षेत्रसम्बन्धी एजेन्डा तयार पारिरहेका छन्।
भेटका क्रममा ऊर्जामन्त्री श्रेष्ठले हालै नेपालमा आएको बाढीबाट प्रभावित क्षेत्रको राहत तथा पुनर्स्थापनाका लागि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए।
उनले नेपालबाट भारततर्फ हुँदै आएको विद्युत् निर्यातको सीमा थप विस्तार गर्न पनि भारतीय पक्षसँग आग्रह गरेका थिए।
त्यस्तै, बाढी तथा विपद् व्यवस्थापन, जलवायु परिवर्तनका असर, जलस्रोत व्यवस्थापन र जलवायु उत्थानशीलताका विषयमा पनि छलफल भएको ऊर्जा मन्त्रालयले जनाएको छ।
मौसमसम्बन्धी सूचना तथा तथ्यांक आदानप्रदानमा दुई देशबीच सहकार्य विस्तार गर्नुपर्ने विषयसमेत मन्त्री श्रेष्ठले उठाएका थिए।
नेपालको जलविद्युत् उत्पादन क्षमता र सम्भावनालाई क्षेत्रीय ऊर्जा व्यापार तथा आर्थिक समृद्धिसँग जोड्न द्विपक्षीय सहकार्यलाई परिणाममुखी बनाउनुपर्नेमा दुवै पक्षले जोड दिएका थिए।
ऊर्जा पूर्वाधार विकास र साझा प्राथमिकतामा रहेका आयोजनाको प्रभावकारी कार्यान्वयनका विषयमा पनि विचार आदानप्रदान भएको मन्त्रालयको भनाइ छ।
भेटमा नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र भारतीय अतिरिक्त विदेश सचिव मुनु महावरलगायतको उपस्थिति थियो।
२०८३ कार्तिक २५
ताजा नेपाल
२०८३ कार्तिक २५
ताजा नेपाल
२०८३ कार्तिक २५
ताजा नेपाल