Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पशुपतिमा सुनको जलहरी लगाए अनसन बस्ने चेनावनी

काठमाडौँ । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गमुनि राख्न लागिएको सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत रहेको बताएका छन् । नेपाल सांस्कृतिक पत्रकार समाजले पशुपति क्षेत्रमा आयोजना गरेको सुनको जलहरी विषयको सांस्कृतिक चिन्तन कार्यक्रममा उनले यसअघि प्राचीन स्मारक संरक्षण ऐन बन्नुअघि नै राजा रणबहादुर शाहका पालामा शिवलिङ्गमुनि चाँदीको जलहरी राखिएको बताए । पशुपतिनाथमा रहेका चाँदीको खराउसमेत सुनको बनाइएको छ । सुनको जलहरी राख्ने हठ कायमै राखे आफू अनशन बस्ने उनले चेतावनी दिएका छन् । सम्पदा संरक्षण अभियानमा लागेका कानून व्यवसायी सञ्जय अधिकारीले प्राचीन स्मारक संरक्षण ऐनको दफा २ मा सम्पदालाई मौलिकरूपमा दुरुस्त राख्नुपर्ने व्यवस्था भएकाले सुनको जलहरी राख्न नसकिने बताए । सुनको जलहरी राख्ने काम नरोके आफू रिट निवेदन लिएर सर्वोच्च अदालत जाने उनको भनाइ छ ।
पशुपतिका पालोवाला भण्डारी केदारमान भण्डारीले गुह्येश्वरीको गर्भगृहमा राखिएको सुन दशरदश वर्षमा खिइएर जाने गरेकाले पशुपतिनाथमा समेत त्यस्तै हुनसक्ने भएकाले भण्डारीले जिम्मा लिन नसक्ने बताए । पशुपतिको प्राङ्गण विस्तार गर्ने नाममा सम्पदालाई नाश गर्ने काम भइरहेको उनले बताए । पशुपतिलाई विभिन्न भक्तजनले चढाएका गरगहनालगायत सुन, चाँदी र तामाका चीजबिजसमेत मर्मत नभई थन्किएकाले सम्पदा संरक्षणका लागि उपयुक्त कदम चाल्ने उनले बताए ।
अर्का पालोवाला भण्डारी ओम भण्डारीले भने हराउँदा, नासिँदा वा मासिँदा, खिइँदा भण्डारीले जिम्मा लिनु नपर्ने हो भने १०४ भण्डारीमध्ये धेरैले सहमति जनाउने बताए । पशुपति मूल मन्दिरभित्र सुनको घण्टा, सुनको नागलगायत सामग्री बनिसकेकाले सुनको जलहरीलाई पनि कसैले रोक्न नसक्ने उनको तर्क थियो ।