Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाँच जना मिलेर गरे महराको हत्या

सिरहामा लागुऔषध सेवनकर्ताको समुहले आफ्नै साथीको हत्या गरेको खुलेको छ।

गोलबजार नगरपालिका–१३ स्थित डंगराहाका २१ वर्षीय कृष्णकुमार महराको हत्या उनकै पाँच जना साथीले मिलेर गरेको प्रहरीले जनाएको छ।

गत असोज २८ गते साँझ सुखीपुर नगरपालिका-१० स्थित गागन खोलाको किनारमा शरीरको कम्मरभन्दा माथिको भाग बालुवाले छोपेको अवस्थामा महाराको शव फेला फेला परेको थियो।

हत्या आरोपमा प्रहरीले गोलबजार नगरपालिका–१३, डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेदलाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए।

उनका अनुसार असोज २७ गते राति कृष्ण र रोहित सुखिपुर नगरपालिका–१०, शिवचौकमा दुर्गा पूजाको मेलामा गएका थिए। त्यहाँ उनीहरूका अन्य साथीहरू पनि भेट भए।

उनीहरु सबैले लागुपदार्थ  सेवन गर्ने योजना बनाउँदै मेला स्थलभन्दा पूर्वतिरको खोलानजिक पुगेर गाँजा र लागुऔषध नाइट्राभेट ट्याबलेट सेवन गरे।

त्यसै क्रममा कृष्णले आफूले चिनेकी एक केटी साथीलाई भेट्न बोलाउने योजना रहेको सुनाए। उनीसँगै रहेका उनका अरू साथीहरूले पनि ती महिलासँग भेट्ने बताएपछि विवाद भयो।

विवाद बढ्दै गएपछि पाँचै जनाले कृष्णलाई चारतैतिरबाट घेरा हालेर धारिलो कैंचीले घाँटी र पेटमा प्रहार गरी निर्ममतापूर्वक हत्या गरेको खुलेको डिएसपी पासवानले जानकारी दिए।

घटना लुकाउन उनीहरूले गागन खोलाको पश्चिमतर्फ खाल्डो खनेर कृष्णको शरीरको माथिल्लो भाग बालुवाले ढाकेर फरार भएका थिए।

गत कात्तिक २ गते राति आरोपीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।


सम्बन्धित समाचार