Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पार्टीलाई वामदेव, प्रधानमन्त्रीलाई युवराज

काठमाडौँ । वामदेवको आगमनपछि नेकपामा अर्को भाँडभैलो मच्चिएको छ । राष्ट्रियसभा सदस्य पदमा राष्ट्रपतिबाट मनोनित हुने तीनमध्ये एक रिक्त पदमा कसलाई पठाउने भन्ने विषयमा निर्णय गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई सकस भएको छ । किनकि पार्टीले उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ भने प्रधानमन्त्रीलाई डा. युवराज खतिवडा नभई भएको छैन । ३ बजे बस्ने सचिवालय बैठकले कार्यदल प्रतिवेदनबाहेक रिक्त राष्ट्रियसभाको एक सदस्यमा कसलाई पठाउने भन्नेबारे निर्णय गर्नेछ । बुधबार बेलुकामात्रै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष बामदेव गौतमले छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । कार्यदल प्रतिवेदनसँगै गौतमको राष्ट्रियसभा प्रवेशबारे भेटवार्तामा छलफल भए पनि सहमति भने जुट्न सकेन । सो पदमा उपाध्यक्ष वामदेव गौतम र विगत ६ महिनादेखि संघीय सांसदविनै मन्त्रीको जिम्मेवारी पाइरहेका डा. युवराज खतिवडा आकांक्षी छन् । खतिवडा भदौ २० भित्र राष्ट्रियसभा सदस्य नबने मन्त्रिरिषदबाटै बिदा हुनेछन् । त्यसैले प्रधानमन्त्री ओली खतिवडालाई सदस्य चयन गर्न लागिपरेका छन् । त्यसका लागि बुधबार प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमलाई बालुवाटार बोलाएर खतिवडाको पक्षमा सहयोग गर्न आग्रह गरेका थिए । नेकपा सचिवालय बैठकले फागुनमै रिक्त सो पदमा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरे पनि त्यो निर्णय कार्यान्वयन हुन सकेको थिएन । निर्णय कार्यान्वयन नगरेको भन्दै ओलीसँग नेताहरु असन्तुष्ट रहँदै आएका छन् ।