Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै देशव्यापी ‘पार्टी जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ। अभियानलाई प्रभावकारी बनाउन केन्द्रीय पदाधिकारीबाहेकका सबै केन्द्रीय सदस्यलाई पालिका तहमा केन्द्रित जिम्मेवारी प्रदान गरिएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)–२ मार्फत अभियानको औपचारिक घोषणा गरेका हुन्। उक्त निर्देशनमा जेठ ४ देखि १० गतेसम्म सम्पन्न केन्द्रीय सचिवालय बैठकका निर्णयहरू मातहतका कमिटीसम्म पुर्याउने व्यवस्था गरिएको छ।
एमालेले केन्द्रीय सदस्यहरूलाई जनसंगठन र विभागीय जिम्मेवारीसँगै आ–आफ्ना पालिकामा पार्टी गतिविधि सुदृढ गर्ने जिम्मेवारी पनि दिएको छ। केन्द्रीय सदस्य मात्र पर्याप्त नहुने निष्कर्षसहित केन्द्रीय निकायका सदस्य तथा अग्रणी कार्यकर्तालाई समेत पालिका केन्द्रित अभियानमा परिचालन गरिने भएको छ।
कार्यविभाजनअनुसार अध्यक्ष ओलीले समग्र अभियानको नेतृत्व गर्नेछन् भने महासचिवले संगठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालयको जिम्मेवारी सम्हाल्नेछन्। उपाध्यक्ष तथा उपमहासचिवहरूलाई विभिन्न विभाग र क्षेत्रगत कामको समन्वयको जिम्मेवारी दिइएको छ।
पार्टी सचिव हिक्मत कार्कीलाई विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग, पद्मा अर्याललाई संसदीय मामिला विभाग र भानुभक्त ढकाललाई संगठन विभागको नेतृत्व दिइएको छ। त्यसैगरी छविलाल विश्वकर्मा, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, राजन भट्टराई र महेश बस्नेतलाई विभिन्न प्रदेशको इन्चार्जको जिम्मेवारी तोकिएको छ।
एमालेले विशेषगरी केन्द्रीय सदस्यहरूलाई उनीहरूले प्रतिनिधित्व गर्ने जिल्लाका पालिकामा केन्द्रित गर्दै पार्टी संगठनलाई सक्रिय बनाउने रणनीति अपनाएको जनाएको छ। आवश्यकता अनुसार एक जना केन्द्रीय सदस्यलाई बढीमा दुई वटा पालिकाको जिम्मेवारी दिइने व्यवस्था गरिएको छ।
पार्टीका अनुसार निर्वाचनपछि निष्क्रिय बन्दै गएका संगठनात्मक संरचना र गतिविधिलाई पुनः सक्रिय बनाउन ‘पार्टी जागरण अभियान’ महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। यसैबीच प्रचार तथा प्रकाशन विभाग प्रमुखमा निरज आचार्य र प्रेस चौतारी नेपालको इन्चार्जमा रामकुमारी झाँक्रीलाई जिम्मेवारी दिइएको छ।
२०८३ जेष्ठ १६
ताजा नेपाल
२०८३ जेष्ठ १६
ताजा नेपाल
२०८३ जेष्ठ १६
ताजा नेपाल