Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको सपथ लिँदैछन्। राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १ बजे विशेष समारोहका बीच पौडेलले सपथ लिन लागेका हुन्। नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको सपथ लिनुपर्ने व्यवस्था छ। हाल प्रधानन्यायाधीश नरहेकाले पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सपथ गराउने छन्। पौडेल यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए। आठ दलको तर्फबाट साझा उम्मेदवार बनेका उनी आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका सुवास नेम्वाङलाई पराजित गरेर राष्ट्रपतिमा निर्वाचित भएका थिए। पौडेलले नेम्वाङलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरेका थिए।
मतदानमा पौडेलले ३३ हजार ८०२ र नेम्वाङले १५ हजार ५१८ मतभार प्राप्त गरेका थिए। राष्ट्रपतिको सपथग्रहण गर्नु एक दिनअघि उनले नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी सबै जिम्मेबारी त्याग गरेका छन्। पौडेलले बुझाएको राजीनामा पार्टी सभापति शेरबहादुर देउवाले आइतबारदेखि लागु हुने गरी स्वीकृत गरेका छन्। नेपालमा २०६२÷६३ को जनआन्दोलनपछि गणतन्त्र स्थापना भएसँगै राष्ट्रपतीय प्रणालीको अभ्यास सुरू भएको हो।
राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुईपटकसम्म राष्ट्रपति निर्वाचित भइसकेका व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ।
आजै शीतल निवास सर्ने
राष्ट्रपति पौडेल आजै बोहोराटारस्थित निजी निवासबाट शीतल निवास सर्ने भएका छन्। दिउँसो १ बजे सपथग्रहणपछि उनी शीतल निवासमै रहने राष्ट्रपति कार्यालयले जनाएको छ। पौडेलको सपथग्रहण समारोहबाटै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ हुनेछ। शपथग्रहण र बिदाइ समारोहमा एक हजार पाँच सयभन्दा बढी पाहुनलाई निमन्त्रणा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। नयाँ राष्ट्रपति पौडेल शीतल निवासमा प्रवेश गरेलगत्तै नेपाली सेनाको टोलीले उनको स्वागतमा २१ तोपको सलामी दिनेछ। त्यसपछि सपथग्रहण समारोह सुरू हुनेछ। निवर्तमान राष्ट्रपति भण्डारीले पौडेललाई राष्ट्रपति पदको आसन सुम्पिने र बधाइ दिनेछिन्।
त्यसपछि भण्डारीलाई शीतल निवासबाट बिदाइ गरिनेछ। वर्तमान राष्ट्रपतिको स्वागतमा जस्तै निवर्तमान राष्ट्रपतिलाई पनि बिदाइमा २१ तोपकै सलामी दिइने राष्ट्रपति कार्यालयले बताएको छ। निवर्तमान राष्ट्रपति भण्डारी आजै शीतल निवासबाट बालुवाटारस्थित छोरीको निवासमा सर्ने बताइएको छ। उनलाई ससम्मान निवाससम्म लगेर छाडिने राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि उनी बूढानीलकण्ठस्थित निजी निवास सर्ने भनिए पनि घरको मर्मत नसकिएकोले छोरीको घरमा सर्न लागेकी हुन्। भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन्। त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भइन्।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल