Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्व गृहमन्त्री लुरुलुरु प्रहरी कार्यालयमा उपस्थित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा भीआईपी तानिनेक्रम बढ्दो छ । पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनकी पत्नी मात्रै होइन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणातिर पनि निशाना सोझिएको छ । एकपछि अर्को भीआईपी यो काण्डमा जोडिएका छन् । यही काण्डमा मुछिएका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणसँग प्रहरीले बयान लिएको छ । सोमबार साँझ उनलाई प्रारम्भिकरूपमा सोधपुछ गरेर ‘बयान कागज’ गराई छाडिएको छ । काठमाडौं प्रहरी परिसरमा बोलाएर खाणलाई बोलाएर उक्त प्रकरकणबारे सोधपुछ गरी चाहेको बेला उपस्थित हुने खालको कागज गराइएको स्रोतले बतायो । प्रहरी उच्च स्रोतले भन्यो, घटनाको विषयमा आवश्यक सोधपुछ भयो, चाहेको बेला उपस्थिति हुने गरी कागज गराइएको छ । नक्कली शरणार्थी प्रकरणमा एकपछि अर्को हाइ प्रोफाइल व्यक्ति तानिन थालेपछि राजनीतिक दबाबमा परी अनुसन्धान कार्य प्रभावित भएको आलोचना भइरहेको छ । चैत १३ गते सानु भण्डारी भन्ने अभियुक्तले बस्याल थरका अनुसन्धान अधिकृतसँगको बयानमा बालकृष्ण खाण र पत्नी मञ्जु खाणको समेत नाम आएपछि बयान नै ‘होल्ड’ गरिएको थियो । अभियुक्तले बालकृष्ण खाणलाई ४ करोड ७५ लाख रूपैयाँ दिएको बताएका थिए । बयानको अडिओ रेकर्ड गरिएको थियो र सो रेकर्ड प्रहरी महानिरीक्षक र महान्यायाधिक्तासम्म पुगेको थियो । त्यसपछि एक साता बयान होल्ड गरेर पुनः बयान लिइएको हो । शेरबहादुर देउवापत्नि आरजु राणालाईलाई समेत पैसा बुझाएको भनेर गिरोहसँग भएको मोबाइल कुराकानीको अडियो पक्राउ परेकाले प्रहरीलाई दिएका छन् । यो अडिओबारे पनि प्रहरीले अनुसन्धान भइरहेको बताएको छ । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा एमाले अध्यक्ष ओलीले अहिले भइरहेको छानबिन, पक्राउ परेका व्यक्ति र उनीहरुले दिएका बयानसमेत साटफेर भएको भरपर्दो ‘सूचना शेयर’ गरेका थिए । विभिन्न व्यक्तिसँग पैसा उठाएका मुख्य अभियुक्तहरूले बादल गृहमन्त्री भएका बेला काम नहुँदै सरकार ढलेपछि बालकृष्ण खाण गृहमन्त्री भएपछि सचिव टेकनारायण पाण्डेमार्फत काम अघि बढेको बयान दिएका छन् । ओलीले प्रचण्डसँगको भेटमा चैत १३ गते सानु भण्डारी भन्ने अभियुक्तले दिएको बयान के भयो ? भन्दै त्यसको रेकर्ड मागेका थिए ।
नक्कली शरणार्थी बनाउने गिरोहले काम फत्ते नगर्दै केपी ओली सरकार ढल्यो र रामबहादुर थापा ‘बादल’ सर्वोच्चको आदेशबमोजिम मन्त्रीबाट पदमुक्त भए । त्यसपछि बादलका सल्लाहकार इन्द्रजीत राईलगायत काम मिलाउँछौं भन्दै पैसा खाने गिरोह भागाभाग भयो । त्यसपछि पीडितहरुले अब डुबियो भन्दै विभिन्न ठाउँमा उजुरी दिने क्रममा गृह मन्त्रालयमा पनि दिएका थिए । २०७८ असार २८ गते परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री भए भने गृहमन्त्री बालकृष्ण खाण भए । खाण गृहमा आएपछि महेश्वर न्यौपानेको ठाउँमा गृहसचिव भएर टेकनारायण पाण्डे आए । गृहमा उजुरीसमेत परेको र केही व्यक्ति भेट्न गएपछि पाण्डेले यो प्रकरणबारे बुझ्न थालेको र आफूहरुले सबै जानकारी दिएर यो प्रकरणमा सघाउन आग्रह गरेको बयानमा उनीहरुले भनेका छन् । ठगी गिरोहका नाइकेहरु कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव केशव दुलालका साथै सानु भण्डारीले पहिलेका गृहमन्त्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकार तथा नेताहरुले पैसा लिएर पनि काम नगरेको बताए । उनीहरुले आफूहरु फसिसकेको भन्दै यो काम भएमा थप पैसा खर्च गर्ने बताए । खाणनिकट रहेका हाल कांग्रेसका एक सांसदले पनि काम मिलाउने भनेर केही रकम लिएको उल्लेख छ । ती नेतामार्फत मञ्जु खाणसम्म यो कुरा पुगेको थियो भने यो विषय आरजु देउवासम्म मिलाउनुपर्ने भन्दै गिरोहलाई दुहुनो गाई बनाउने खेल त्यस क्रममा चल्यो ।