Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पूर्व पञ्चमा राजावादी बन्ने होड

काठमाडौँ । पूर्व पञ्चहरुको संगठन राप्रपामा नेतृत्व लिने होडबाजी शुरु भएको छ । संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको राजनीतिक एजेन्डा बोकेको राप्रपाको महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा उत्रिएका नेताहरूबीच को बढी राजावादी देखिने भन्ने होड सुरु भएको छ । काठमाडौंमा बुधबार सुरु भएको एकता महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धीहरू कमल थापा र राजेन्द्र लिङ्देनले आफूलाई बढी राजावादी देखाउन कोसिस गरेका छन् । भृकुटीमण्डपमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष थापाले उनका प्रतिस्पर्धी रहेका लिङ्देनभन्दा बढी राजतन्त्रको पक्षमा बोलेका थिए । पूर्वराजा ज्ञानेन्द्रको समर्थन आफूलाई रहेको दाबी गर्दै लिङ्देनले राजतन्त्र पुनःस्थापनाको विषयलाई जोड दिएका छन् । राप्रपाका ३ अध्यक्षमध्येका एक कमल थापाले सदन र सडक दुवैको संयुक्त संघर्षबाट राजसंस्था पुनःस्थापनाको रोडम्याप प्रस्तुत गरेका छन् । उनले सदनमा राप्रपाले सिट जित्न सके र सडकबाट १ लाख मानिस परिचालन गर्न सके नेपाललाई हिन्दु अधिराज्य बनाउन सकिने बताए । अध्यक्षका अर्का आकांक्षी राजेन्द्र लिङ्देनले वर्तमान नेतृत्व र कार्यशैलीबाट हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना हुन नसक्ने बताए । राप्रपा नेता भुवन पाठकले अध्यक्ष थापाले लगातार आफ्ना एजेन्डा उठाउँदै आएको तर लिङ्देन केही असन्तुष्टहरूसँग मिलेर चुनाव जित्न सकिन्छ कि भनेर लागेको बताए । हिन्दु अधिराज्यको स्थापना र संघीयता खारेजी निरन्तरको एजेन्डा रहेको उनले बताए । लिङ्देन र थापाले उठाएका विषयमा कुनै फरक नभएको उनले दाबी गरे ।